कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु, ४० बिरामी अस्पताल भर्ना 

Photo-NK
Photo-NK

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोपबाट दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कृष्णनगर-९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका स्थानीय मनिष गुप्ताले बताए।

नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन्।

वडामा प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको छ। शिवराज अस्पतालमा ४० जना बिरामी भर्ना भएका अस्पतालका चिकित्सक डा. मुकेश चौधरीले बताए।

समुदायमा कति बिरामी छन् भन्ने तथ्याङ्क हालसम्म आउन सकेको छैन। समुदायमा रहेका निजी क्लिनिक र स्वास्थ्य चौकीमा समेत बिरामीकाे चाप छ।

नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए।

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए। 

प्रकाशित मिति: : 2021-10-05 14:03:00

प्रतिकृया दिनुहोस्