आइतबार दिउँसोदेखि परेको अविरल वर्षाले मंगलबारसम्म ठूलो क्षति भएको छ। तिला नदीको बहाव तेब्बर बढेको छ। नदी आसपासका खेत, गह्रा, घर र काठेपुलहरु बगाएपछि आवतजावतमा समेत समस्या भएको छ।
त्यसैगरी समाचार तयार गरुञ्जेलसम्मको प्राप्त सुचना अनुसार नुवाकोटमा ९ घर बगेका छन्। क्षतिको एकिन हुन बाँकी छ। तातोपानी गाउँपालिका वडा नं. ३ मा रहेको लाछुजीउलोमा बुदबुदी खोलाको बहावले कटान गरी सयौं मुरी जग्गा नदीमा परिणत गरेको छ।
त्यसै गरी चन्दननाथ नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र १० नं. वडामा रहेको मार्सी धानको देत र धान पूर्णरुपमा नष्ट गरेको छ।
तिला गाउँपालिका वडा नं. ३ मा रहेको नुवाकोट र सापुल्लीमा पनि क्षति गरेको छ। सापुल्लीमा र रावत वाडामा लागेको काठेपुल बगाएको छ।
सापुल्लीमा रहेको तलिचौर ज्यूला, सिमी ज्यूला, घरतली ज्यूला (त्रिवेणी) बगाएर नष्ट गरेको छ भने लगाएको धानबाली नष्ट भएको छ। सोही वडाको नुवाकोटमा ९ घर र गाई तथा भैंसीहरु बेपत्ता बनाएको जानकारी प्राप्त भएको छ।
तिला गाउँपालिका वडा नं. १ रारा र कठीना जोड्ने काठेपुल बगाएको छ। राराका ९ वटा घट्ट पनि डुबानमा परेका छन्। त्यसैगरी तिला २ डुण्डेलीमा रहेका ९ वटा घरहरु तिलाको बहावले जोखिमा रहेकाले सामानहरु सुरक्षित स्थानमा सारेका छन्।
तिला ९ मा रहेको मानेचौरमा पनि घर र जग्गामा क्षति गरेको जानकारी प्राप्त भएको छ। बिहान ३ बजेबाट आएको तिला नदिको बहावले गर्दा जंगलमा काटिएका रुख, काठ र दाउराहरु लगातार बगाएको छ।
नदीमा दाउरा उतार्नेहरुको पनि ठूलै जमात देखिन्छ। रारालिहीको प्रहरी चौकीले खबरदारी गरे पनि छाडेका छैनन्।