सुदूरपश्चिमका सात पहाडी जिल्लामा सञ्चार र विद्युत सेवा तीन दिनदेखि अवरुद्ध, यातायात पनि ठप्प

Photo-NK
Photo-NK

लगातारको बर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाहरु  तीन दिनदेखि विद्युत, यातायात र सञ्चासेवा ठप्प बनेको छ। सञ्चार सम्बन्ध समेत विच्छेद भएपछि त्यस क्षेत्रको क्षतिबारे पनि जानकारी हुन नसकेकाे हाे ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अबिरल बर्षाका कारण डोटीको जोरायल गाउँपालिकास्थित बुडर नजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा ७ वटै जिल्ला जोड्ने सडक अवरुद्ध बनेको हो।

भीमदत्त राजमार्ग अन्तरगत नै कैलालीको चुरे गाउँपालिकास्थित भासु भिर नजिक पनि पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकी प्रहरी जवान राधा भट्टले बताइन्।

उनका अनुसार लगातारको बर्षापछि पहिरो जाँदा डोटीस्थित कालागार, बैतडीको खोड्पे अन्तर्गतको जयपृथ्बी राजमार्ग सडक खण्ड अवरुद्ध छ।

यसैगरी, बैतडीको सतबाझ सडकखण्ड, दार्चुलाको महाकाली नगरपालिकास्थित खिम्त सडक खण्ड, अछामको कैलासखोला, ठुलासैनी सडक खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित बनेको भट्टले बताइन्।

सडक सञ्चालन गर्न अहिले सबै क्षत्रमा डोजर परिचाल गरिएको छ। केही क्षेत्रमा सडक भासिएका कारण पूर्णरुपमा सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने उनले बताइन्।

सुदूरपश्चिमका ७ पहाडी क्षत्रेमा विगत ३ दिनदेखि विद्युत र सञ्चार सेवा समेत अवरुद्ध बनेको छ।

प्रकाशित मिति: : 2021-10-20 12:00:00

प्रतिकृया दिनुहोस्