पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका प्रस्थान गर्ने भएको छ।
यही कात्तिक ९ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रममबीच बिदाइ गरेका हुन्। नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने छ।
प्रतियोगिताको सिनियरतर्फ समान चार/चार पुरुष/महिला तथा जुनियर पुरुषमा चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले जानकारी दिए।
सिनियर पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिङ्की झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन्। जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन्। प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान बज्राचार्य छन्। अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन्।