अमेरिका बस्ने नेपाली कलाकार भन्छन्: नेपालमा बसेर काम गर्न नपाउँदा छट्पटी हुन्छ [भिडियाे]

कमल प्रभात

काठमाडौं

नेपालमा कलाकारिता छाडेर डेढ दशकअघि अमेरिका गएका थिए– कलाकार कृष्णमुरारी ढुङ्गेल। अमेरिका बसाइँका क्रममा युरोप भ्रमणमा समेत निस्किए, उनी।

बेलायतको लण्डनबाट सुरु गरेका उनले यात्राका क्रममा फ्रान्सको पेरिस, स्वीट्जरल्याण्ड, इटालीको मिलान, भेसन हुँदै इशाई धर्मका सर्वोच्च गुरु पोपको शहर भनेर चिनिने भ्याटिकन सिटीसम्मको फेरो मारे। अनि विश्वकै सानो देश मोना लगायतका ऐतिहासिक तथा पुरातात्वित्क शहर हुँदै पुनः पेरिससम्म आएर उनकाे भ्रमण टुङ्गियो।

नेपालमा कलाकारितामा रमाइरहँदादेखि नै विभिन्न लेखकका यात्रा–साहित्य पढ्थे। अनेकौँ देशका कुरा जान्न र  बुझ्न खोज्ने जिज्ञासु थिए– उनी।

साहित्यनुरागी उनी यात्राको निकै सौखिन कलाकार हुन्। नेपालमा हुँदा तारानाथ शर्माका यात्रा साहित्यमा रम्ने उनी आफैँ युरोपको भ्रमणमा निस्किएका थिए।

भ्रमणमा उनले ती देशमा विभिन्न कला, संस्कृति, रहनसहन, प्रचलन, विकासको अवस्थाबारे बुझ्न पाए। यात्रामा फरक–फरक ठाउँमा फरक अनुभूति मात्रै गरेनन्। धेरै नौला र अनौठा कुराहरुको पनि ज्ञान लिए। र, ती देशका सम्पदा, सम्प्रदाय र विकासको अवस्थासँग नेपाललाई तुलना गर्न समेत भ्याए।

इटाली पुगेपछि बल्ल उनले नेपालको महत्व बुझे। हाम्रो देश इटालीजस्तै सुन्दर रहेछ। प्रकृतिक सम्पदामा हामी पनि इटाली भन्दा कम रहेनछाैँ भन्ने उनलाई लाग्यो।

त्यसबेलाको अनुभूति उनले सुनाए, ‘इटालीको मिलान, भेनसमा जाँदा १५ डलर तिर्न पर्छ भने नेपालको बसन्तपुर, पाटन, बौद्ध जाँदा किन नतिर्ने ?’ उनलाई लाग्यो– युरोपका ऐतिहासिक पुरातात्विक महत्वका यस्ता कुराहरू नेपालीले थाहा पाउनुपर्छ।

त्यसैका लागि पुस्तक लेख्ने विचार आएको उनले बताए। ‘मुखले बोलेर सबै नेपालीले सुन्ने र बुझ्ने कुरै भएन। त्यसो भए के गर्ने नियात्रा लेख्ने’, उनले भने।

आफूसँगै भ्रमणमा निस्किएका सहयात्री मोहनराज मिश्रले सुझाएपछि उनले सबै भोगाइ र अनुभूति टिपोट गर्न थाले। त्यही टिपोटबाट कृष्णमुरारी ढुङ्गेलको साहित्यमा पहिलो कृतिका रुपमा नियात्रा निस्कियो– ‘होहाहोला’।

विभिन्न आरोह अवरोह पूरा गर्दै ‘फिनिस बुक्स’बाट प्रकाशन भएको नियात्रा ‘होहाहोला’को लोकार्पण गत साता गरिएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त कृतिको लोकार्पण गरे। पाटनस्थित जोशी निवासमा आयोजित लोकार्पण कार्यक्रम मार्फत लेखक ढुङ्गेलले आफ्नो पहिलो कृति बजारमा ल्याउँदाका खुशी साटे।

५५ वर्षीय ढुङ्गेलले लामो समय नेपाली कला तथा नाटक क्षेत्रमा रहेर काम गरे। ०४२ सालमा खुलेको नेपाल टेलिभिजनमा प्रसारण भएका सुरुआती नाटक तथा सिरियलबाट उनले अभिनय  यात्रा सुरु गरेका हुन्।

लाटोबुङ्गो, एक शहरमा एक कोठा, शहर र संवेदना, चेष्ट, मालती मङ्गले, अनुराधा उनले अभिनय गरेका त्यति बेलाका चर्चित टेलिसिरियल हुन्। त्यस्तै, प्रेमको मूल्य, काली गण्डकीको सेरोफेरो टेलिफिल्म र फिल्म ‘नौ डाँडा पारि’मा उनले निर्देशन गरेको फिल्म हुन्।

नेपाली नाटक तथा फिल्म क्षेत्रमा सक्रिय उनी ०६३ सालमा ‘मालती मङ्गले’ नाटकबाट अमेरिका गएका थिए। त्यस बेलादेखि उनी अमेरिकाको कोलोराडोमा बस्दै आएका छन्।

अमेरिका रहँदा पनि केही सिरियलमा काम गर्नुका साथै विभिन्न नेपाली कला, सहित्यका गतिविधिमा सहभागी हुुँदैआएको उनले बताएका छन्।

अमेरिकामा रहेका नेपाली युवापुस्तामा साहित्यको महत्व बुझाउन विभिन्न गोष्ठी तथा सेमिनार गर्दैआएका उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्लोराडा च्याप्टरको अध्यक्षसमेत रहेर काम गरे। कर्मले मान्छेलाई संसारको जुनसुकै कुनामा पुर्‍याए पनि आफ्नो देशको भाषा, साहित्य जान्नै पर्ने उनी बताउँछन्।

‘जहाँ आफ्नो देशको भाषा र साहित्य छैन त्यहाँ केही पनि छैन। त्यसैले नेपाली साहित्यबाट हामी टाढा हुने कुरै भएन’, बिएल नेपाली सेवासँगको कुराकानीमा उनले भने,‘त्यसको माया र चिन्ताले नै होहाहोला लेख्नमा प्रेरित भएँ।’

विभिन्न देशको कला, सभ्यता र दर्शनबारे बुझ्नको लागि युरोप भ्रमणमा निस्किएका ढुङ्गेलले आफूले जानेका बुुझेको कुरा सबैले जान्नुपर्ने भएकाले नियात्रा कृति प्रकाशन गरेको बताएका छन्। इटालीका विभिन्न शहरमा भएको विकासको मोडेललाई नेपालमा पनि प्रयोग गर्न सकेमा देशमा विकास हुने कुराहरु यस नियात्रामा समेटिएको उनले बताए।

‘पेरिसमा एउटा खोला छ त्यसलाई धेरै घुमाएर त्यहाँ डुङ्गा चलाउने बनाइएको छ। हामीले पनि बागमती नदी गोकर्णदेखि थापाथलीसम्म डुङ्गा चलाउन सकिन्छ,’ उनले पेरिससँग काठमाडौंको तुलना गरे।

‘हामीले यहाँका सबै कुरालाई सही तरिकाले प्रयोग गर्ने हो भने उनीहरुभन्दा माथि हुन्छौँ भन्ने कुरा तुलनात्मक रुपमा हामीले यहाँ प्रस्तुत गरिएको छ,’ उनले भने, ‘यसमा केही पनि काल्पनिक कुरा छैन। सबै त्यहाँ घटित घटनामा आधारित छ। यसबाट हामीले राम्रो शिक्षा लिन सकिन्छ।’

कलाकारितामा लामो अनुभव भएका ढुङ्गेललेको यो पहिलो साहित्य कृति हो। योभन्दा अगाडि कविता संग्रह ‘भीमसेन स्तम्भको आँशु’ र उपन्यास ‘भेटन्यास’ प्रकाशति गर्ने तयारीमा रहे पनि समयको आवश्यकतालाई बुझेर पहिला नियात्रा सार्वजनिक गरेको उनले बताएका छन्।

अरुको देशमा भएको विकास र परिकल्पनाभन्दा हाम्रो देशमा के कमी रहिछ त ? यही  देशको र राष्ट्रको मायाको उत्प्रेरणाले गर्दा  विभिन्न कठिनाईका बीच ‘होहाहोला’ लेख्न बाध्य भएको उनले बताएका छन्।

‘विदेशमा बसेर साहित्य लेख्न कठिन छ। पहिला त हात मुख जोड्ने कुरालाई पहिला प्राथमिकता दिनुपर्‍यो। कम सुतेर कम दौडिएर बाँकी समय मैले यसमा लगाएको हुँ’ उनले भने।

यो कृति प्रकाशन गरेपछि आफूमा थप नयाँ ऊर्जा थपिएको उलने  बताए। ‘यो कृतिले यति ऊर्जा थपिएको छ कि अब म छिट्टै अत्य कृतिहरु निकाले तयारीमा छु’, उनले भने,‘अमेरिका बसाइँले योजनाअनुसार काम गर्न नसक्दा छट्पट्टिनु पर्‍यो, छिट्टै नेपाल फर्किएर विशिष्ट तरिकाले सिरियल बनाउने तयारीमा छु।’

प्रकाशित मिति: : 2021-10-30 21:50:00

प्रतिकृया दिनुहोस्