महिलामा स्तन क्यान्सर : गत वर्ष भक्तपुर क्यान्सर अस्पतालमा मात्रै २५९ ले उपचार गरे

५६ वर्षीया सीताकुमारी बिसुन्केले भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी छन्। काभ्रे माइती भएकी उनको १८ वर्षको उमेरमा सिन्धुलीका श्याम बिसुन्केसँग विवाह भएको थियो। विडम्बना, उनी ३० वर्षकी हुँदा उनका श्रीमान्को मृत्यु भयो, जतिबेला उनीहरुका दुई छोरी जन्मिसकेका थिए। अहिले आएर सीताको स्तनमा गाँठो देखियो।

‘पहिलेदेखि नै स्तनमा गाँठो देखिएको थियो, वास्ता गरिनँ। अहिले यसैले गर्दा बिरामी पनि हुन थालेपछि सबैले एकपटक क्यान्सरको परीक्षण गराउ भने,’ सीताकुमारी भन्छिन्, ‘यहाँ आएर जाँच गर्दा क्यान्सर देखियो।’ परीक्षणका लागि मात्र १० हजार रुपैयाँ खर्च भएको उनी बताउँछिन्। अहिले उनी भक्तपुरमै आफन्तकहाँ बसेर उपचार गरिरहेकी छन्।

भक्तपुरकी ४२ वर्षीया माया कपाली (नाम परिवर्तन, उनले आफ्नो नाम बताउन चाहिनन्) स्तन क्यान्सरबाट पीडित छन्। केही समयदेखि स्तनमा गाँठा देखिन थालेपछि उनी भक्तपुर क्यान्सर अस्पतालमा जँचाउन पुगिन्, क्यान्सर भएको पुष्टि भयो।

३५ वर्षको उमेरमा विवाह गरेकी उनले विवाहको तीन वर्षमा छोरालाई जन्म दिइन्। बच्चालाई सधैँ एउटा मात्र स्तनपान गराएका कारण उनको अर्को स्तनमा क्यान्सर देखिएको अस्पतालका चिकित्सक बताउँछन्। बच्चाले नमानेकाले उनले सधैँ एउटा मात्र स्तन चुसाउने गर्थिन्।

प्रकाशित मिति: : 2021-12-21 13:01:00

प्रतिकृया दिनुहोस्