बागलुङको विकट गाउँमा उच्चगतिको फोरजी इन्टरनेट

बागलुङ बडिगाड गाउँपालिका–४ जलजला र वडा–८ रणसिंहकिटेनीका बासिन्दा १० वर्षदेखि मोबाइल सेवा उपभोग गर्दै आइरहेका छन्। 

मोबाइल फोन चलाउन थालेको एक दशकपछि उनीहरूले बल्ल उच्चगतिको इन्टरनेट सेवा (फोर जी) चलाउने अवसर पाएका छन्।

नेपाल टेलिकमले दुई वडाको संगमस्थल बेतथलाको धुरीमा २५ मिटर अग्लो टावर निर्माण गरेपछि फोर जी सेवा सुरू भएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए। रणसिंहकिटेनी जिल्ला सदरमुकामदेखि २८ कोष टाढा पर्छ। 

टेलिकमले सो स्थानमा जेठ २०६७ देखि पहिलो पटक २जी र २०८७ सालमा ३जी सेवा विस्तार गरेको थियो। नेपाल टेलिकमका सेवाग्राहीलाई उच्चगतिको इन्टरनेट डाटा सर्भिस र गुणस्तरीय भ्वाइस सेवा प्रदान गर्न चौथो पुस्ताको ४जी सेवा सुरू भएको कार्यालय प्रमुख शर्माले बताए। 

यसअघि सो स्थानमा १८ मिटरको पोल टावरबाट २जी र ३जी सेवा सञ्चालन गरिएको थियो। उक्त धुरी समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा छ। उक्त टावरबाट बडिगाड–४ जलजला, वडा–७ भिमगिठे, वडा–८ रणसिंह किटेनीसँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाको अधिकांश भु–भागमा उच्च गतिको इन्टरनेट चल्नेछ। 

उच्च गतिको इन्टरनेट सेवा विस्तार भएपछि अनलाइन काम गर्न सजिलो भएको वडा–८ का  वडाअध्यक्ष यमबहादुर श्रीष थापाले बताए। 

स्वास्थ्य चौकी, किटेनी माध्यमिक विद्यालय र वडा कार्यालयमा प्राइभेट इन्टरनेट सेवा त छ तर आउने जाने गर्दा समस्या थियो,’ उनले भने ‘अब समस्या हुँदैन भन्ने लाग्छ।’

प्रकाशित मिति: : 2021-12-21 13:48:00

प्रतिकृया दिनुहोस्