चुनावी प्रतिबद्धताबमोजिम भक्तपुरका २३ स्थानमा खुला व्यायाम सेन्टर

५० वर्षीय नरेन्द्र मानन्धर दैनिक भक्तपुरको सिद्धपोखरी परिसरमा मर्निङ वाकसँगै व्यायाम गर्छन्। सिद्धपोखरी छिर्ने गेटनजिकै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खुला व्यायाम सेन्टर छ। आइतबार बिहान करिब ८ बजेतिर उनी स्टेसनरी बाइक (व्यायाम उपकरण) मा व्यायाम गर्दै थिए।

‘म कमलपोखरीमा बस्छु। त्यहाँ पनि यस्तै जिम खाना छ। सधैँ सिद्धपोखरीसम्म मर्निङवाकका लागि आउने भएकाले यहाँ केहीबेर व्यायाम गरेर जाने गरेको छु,’ उनले भने, ‘नगरपालिकाले खुला जिमखाना राख्नु धेरै राम्रो हो। शरीर स्वस्थ राख्न निःशुल्क व्यायाम गर्न पाएका छौँ।’ 

२८ वर्षीय उद्धव माकजु दिनहुँजसो समय मिलाएर सल्लाघारीस्थित व्यायाम सेन्टर पुग्छन्। यो व्यायाम सेन्टर पनि नगरपालिकाले नै बनाएको हो। आइतबार दिउँसो उनी यहाँ व्यायाम गर्दै थिए। ‘मेरो घर यहाँदेखि नजिकै छ। यो व्यायाम सेन्टर सधैँ खुला रहने भएकाले फुर्सदका बेला, विशेषतः मानिसको भीड नभएका बेला यहाँ आएर व्यायाम गर्छु,’ उनी भन्छन् ‘बिहानको समयमा धेरै मानिस यहाँ व्यायाम गर्छन्। कहिलेकाहीँ त पालो कुर्नुपर्छ।’

२०७५ सालमा नगरपालिकाले यहाँका १० स्थानमा व्यायाम सेन्टर सञ्चालनमा ल्याएको थियो। स्थानीयको माग अनुसार त्यसलाई बढाएर अहिले कुल २३ स्थानमा यस्ता व्यायाम सेन्टर सञ्चालित छन्।

प्रकाशित मिति: : 2021-12-23 19:01:00

प्रतिकृया दिनुहोस्