‘बेबी किङ’ लाई लिएर हिमानी अमेरिकामा, पूर्वराजा ज्ञानेन्द्र रूष्ट

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

नेपालमा कुनैबेला 'बेबी किङ' भनेर चर्चामा ल्याइएका हृदयेन्द्र शाह यतिबेला अमेरिकाको बोस्टनमा रहेको थाहा भएको छ । उच्च शिक्षाका लागि विश्वविद्यालयमा भर्ना गराउन उनलाई अमेरिका ल्याइएको बताइएको छ। उनलाई लिएर आमा पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका आएकी हुन् ।  

'बेबी किङ'लाई अमेरिकामा पढाउने कि नेपालमै अनलाइनमार्फत् शिक्षा दिलाउने भन्ने बारेमा पूर्वराजा ज्ञानेन्द्र र  पूर्वयुवराज्ञी हिमानीबीच विवाद भएको निर्मल निबास निकट एक समाचार सूत्रले बताएको छ । ज्ञानेन्द्र नातिलाई विदेश पठाउन तयार थिएनन्, उनी घरमै नेपालकै विविध पक्षका बारेमा पढाउने र विदेशको कुनै युनिभर्सिटीबाट अनलाइन कक्षामार्फत् पढाइ अगाडि बढाउन चाहन्थे । तर, हिमानी छोरालाई त्यस किसिमको शिक्षा दिने पक्षमा थिइनन् । यसबारेमा एकमत नभएपछि अन्तत: हिमानी छोरालाई लिएर अमेरिकातिर उडेकी थिइन् ।

अमेरिकामा उनको भ्रमणको चाँजोपाँजो मिलाइरहेका एक सहयोगीका अनुसार उनी ब्याङ्कक हुँदै शुक्रबार बोस्टन आइपुगेकी हुन् । उनी बोस्टनमा छोरा हृदयेन्द्रको भर्ना गराउन लागपरेकी छिन् ।उनी  बोस्टनपछि वासिङ्टन डीसी, बाल्टिमोर हुँदैन्युयोर्क जानेछिन् र त्यहीबाट नेपाल फर्कने बताइएको छ ।  

नेपालमा कुनैबेला 'बेबी किङ' भनेर चर्चामा ल्याइएका हृदयेन्द्र शाहलाई अमेरिकामा पढाउने कि नेपालमा पढाउने भन्ने बारेमा निर्मल निबासमा सहमति नहुँदै उनलाई लिएर हिमानी  अमेरिकाको बोस्टनमा आइपुगेकी छिन् ।  हिमानीको यो निर्णयबाट पूर्वराजा  ज्ञानेन्द्र रूष्ट भएको बताइएको छ ।

नेपालमा आफ्नो नामको ट्रष्टमार्फत् समाजसेवा गरिरहेकी हिमानी ट्र्ष्ट अमेरिकामा पनि दर्ता भएको बताइएको छ । हिमानी अमेरिका भ्रमणमै रहेको बेला यसको भर्जिनियामा उद्घाटन गरिने बताइएको छ । उता, न्युयोर्कमा पनि ट्रष्टको आयोजनामा फण्ड राइजिङ कार्यक्रम आयोजना गरिने बताइएको छ ।

तर, जे जति समाचार बाहिर आएका छन्, विश्वसनीय किसिमले पुष्टी हुन सकेका छैनन्। कुनै पनि स्रोतहरूले आधिकारिक रूपमा पुष्टी गरिरहेका छैनन् । तर, पनि अमेरिकामा रहेका राजसंस्था पक्षधरहरू हिमानीको भ्रमणबाट उत्साहित भएर विभिन्न किसिमका जार्गनहरूको खेती गरिरहेका छन् ।

 

प्रकाशित मिति: : 2022-01-10 18:15:00

प्रतिकृया दिनुहोस्