दुर्गेश थापाको दर्शक बटुल्ने नयाँ ‘ट्रिक’ : अश्लिल दृश्य र छाडा शब्द

कमल प्रभात

काठमाडौं

नेपाली सांगीतिक क्षेत्रमा पटक–पटक विवादमा परिरहने कलाकार हुन्, दुर्गेश थापा। उनी एकपछि अर्काे गीतबाट विवादित भन्दै आएका छन्।

गीतमा अपाच्य शब्द प्रयोग गर्ने, अरुको गीतका शब्द चर्ने तथा भिडियोमा अश्लिल्ता प्रयोग गर्ने भन्दै उनको आलोचना हुँदै आएको छ।

उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्,‘पैसा’। जुन गीतका कारण दुर्गेश थापा फेरि एकपटक विवादमा तानिएका छन्। गीतमा अश्लिल तथा छाडा शब्द प्रयोग गर्नुका साथै महिलाको शरिरलाई पैसासँग तुलना गर्न खोजिएको भन्दै धेरैले आलोचना गरेको छन्।

गीतमा उनले पैसाले देश ध्वस्त बनाएको बताउँदै पैसाले हरेक कुरा गर्ने बताएका छन्। जसमा केही अपाच्य शब्द समेत प्रयोग गरेका छन्।

उनको गीतलामा छाडा शब्द प्रयोग गरेर महिलाको अपमान गर्न खोजिएको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले गीतको प्रसारणमा प्रतिबन्ध लगाउन समेत माग गरेको छ।

‘अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ,’ संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कलाकारले प्रयोग गर्ने शब्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ।’

त्यस्तै, अन्य कलाकार तथा सामाजिक अगुवाहरूलले समेत यो गीतमा सामाजिक सञ्जाल मार्फत् टिकाटिप्पणी गरेका छन्। दुर्गेशले गीतको विषयबस्तु राम्रो उठाए पनि त्यसमा प्रयोग भएका शब्द आपत्तिजन भएको बताएका छन्।

तर, दुर्गेशले भने आफूले गीतमा नराम्रो नगरेको प्रतिक्रिया दिएका छन्। उनी आफूले प्रयोग गरेका शब्दहरु टिपिकल भएको दाबी गरे।

‘मेरो गीतको बारेमा आलोचना गर्नेहरुको दिमागमा के चल्छ मलाई थाहा भएन। मैले त यो गीतमा त्यस्तो नराम्रो गरेको जस्तो त लाग्दैन,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै दुर्गेशले भने,‘मैले देखेका/भोगेका कुराहरुलाई गीतमा उतारेको मात्रै हो। खासै अपाच्य शब्द लेखेको जस्तो त लाग्दैन, अरुले कसरी लिन्छन् भन्ने कुरा हो।’

‘गाउँमा पनि हाम्रा बाउआमा कसैले पनि ट्वाइलेट भन्दैनन्। हग्ने, मुत्ने भनेकाे गाउँका टिपिकल शब्द हुन्,’उनले भने।

उनले आफ्नो गीत महिला लक्षित नभएको बताएका छन्।

‘कुनै महिलालाई तोकेर ठोकेर पैसा लिनुपर्छ भनेर यो गीतमा भनिएको छैन। तपाईंलाई के लाग्छ गाउँमा कसैले ‘जाँ त्यो मान्छेलाई ठोकेर आइजा’भन्दा के बुझ्नु हुन्छ ? उनले प्रतिप्रश्न गरे।

दुर्गेशले आफूले गाएको गीत भन्दा दोहोरीमा प्रयोग गरिएका गीतका शब्द असभ्य रहे पनि कसैले वास्ता नगरेको तर तिनै कुरालाई आफूले फरक शैलीमा प्रस्तुत गर्दा अरुले आलोचना गरेको उनको भनाई छ।

‘मैले त के गाएको छु र, दोहोरीका गीत त्यो भन्दा असभ्य छन्, उनीहरुलाई केही नभन्ने मेरो गीतलाई मात्रै असभ्य किन देख्छन्, मान्छेहरु मैले बुझेको छैन्,’ दुर्गेशले भने।

त्यस्तै उनले चर्चामा आउनको लागि पनि यसरी गीत नगरेको बरु अरु गीतभन्दा फरक गर्न खोजेको बताए।

दुर्गेश यसअघि पनि पटक–पटक विवादमा आउने गरेका छन्। उनी गीतकै विवादका कारण प्रहरी हिरासतमा समेत बस्न परेकाे थियाे।

दुर्गेशले २०७६ को तिहारमा दुर्गेशले ‘ह्याप्पी तिहार चिसो बियर’ गीत विवादमा परेकाे थियाे। गीतमार्फत तिहारको सांस्कृतिक विचलन गरेको र प्रतिबन्धित गाँजा सेवन गर्न उक्साएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरीले पक्राउसमेत गरेको थियो। उनी तत्कालै आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाउने तथा आम माफी माग्ने र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएर रिहा भएका थिए।

त्यस्तै, ‘छक्का पन्जा ३’ को प्रमोसनल गीतको एउटा लाइनमा ‘यसपाली त (फलाना) ब्याउने कुरो छ’ भन्ने शब्द राखेकै कारण उनी विवादमा तानिएका थिए। तर, पटक–पटक  विवादमा परे पनि उनले अपाच्य शब्द प्रयाेग गर्ने भने छाडेका छैनन्।

प्रकाशित मिति: : 2022-01-31 17:00:00

प्रतिकृया दिनुहोस्