एक मुठी माटो र एक अञ्जुली पानी संसारभर पठाउन सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक

नेपालको संसदीय इतिहासमा विरलै पास हुने व्यक्तिगत विधेयकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ज भएको छ। यसलाई तत्कालीन संविधान सभा सदस्य नरेश भण्डारीले दर्ता गराएका थिए।

तत्कालीन नेकपा माओवादी सदनको पहिलो पार्टी भएर सरकारको नेतृत्व गरेको बेला सदनबाट पारित भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन बनेको थियो।

तत्पश्चात स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीको स्वास्थ्य अवस्था सुधारका निम्ति उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ। खासगरी कोरोना महामारीको समयमा प्रतिष्ठानबाट सम्पादन भएको नमुना गतिविधिले सारा देशको ध्यान कर्णालीमा केन्द्रित गरेको थियो।

प्रतिष्ठान स्थापनाका लागि व्यक्तिगत तवरबाट विधेयक दर्ता गरेर सफलता हात पारेका भण्डारी यतिबेला कर्णाली प्रदेश सभाका सदस्य छन् र उनले प्रदेश सभामा ऐतिहासिक 'सिंजा सभ्यता संरक्षण तथा  विकास विधेयक’ दर्ता गराएका छन्।

जुन संघीयताको इतिहासमा व्यक्तिगत तवरबाट संसदमा दर्ता भएको पहिलो विधेयक हो। सांसदहरुको मुख्य काम नीति निर्माण गर्ने र सार्वजनिक महत्त्वका सवालमा सरकारलाई जिम्मेवार बनाउनु हो। 

तर, कमै मात्र सांसद यस्ता गतिविधिमा सक्रिय भएको पाइन्छ। धेरैजसो सांसदहरु आफ्नो जिम्मेवारीबाट बिमुख भएको बेला भण्डारी संसदभित्र र बाहिर सदाबाहार सक्रिय रहन्छन्।

त्यसैको उपज हो,'सिंजा सभ्यता संरक्षण था विकास विधेयक –२०७८’। यही विषयमा बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेकाे कुराकानीमा आधारित सम्पादित अंश प्रस्तत छ:


सिंजा सभ्यताको विकास गरेको ऐतिहासिक भूमि हो। शक्तिशाली राज्य हो। त्यसबेला सिंजा राज्यको शक्ति र महिमा आसपासका राज्यहरुमा ज्यादै प्रभावकारी रुपमा फैलिएको थियो।

तर, आन्तरिक व्यवस्थापन कमजोर बन्दै जाँदा राज्य कमजोर भयो र सिंजा साम्राज्य विघटनको स्थितिमा पुग्यो। त्यसपछि सिंजा साम्राज्यमा स–साना टाकुरे राजाको उदय भयो। ती राज्यहरुमध्ये शक्तिशाली थियो, जुम्ला राज्य।

जब १८४६ मा विभिन्न जालझेल गरेर गोर्खालीहरुले कर्णाली आफ्नो बनाए तब यस क्षेत्रको प्रसिद्धि र महिमामाथि प्रहार गर्ने काम भयो। परिणाम यस क्षेत्र आर्थिक रुपमा निकै पछाडि पर्‍याे। शैक्षिक र सांस्कृतिक स्तर निकै कमजोर हुन पुग्यो।

केन्द्रीकृत सत्ताले कर्णालीलाई रोग, भोग, अशिक्षा र अव्यवस्थाको पर्याय बनाइदियो। परिणाम १८४६ देखि २००७ सालसम्म कुनै शैक्षिक तथा प्राज्ञिक गतिविधि हुन पाएन। प्राज्ञिक क्षेत्र ध्वस्त भयो। ज्ञान निर्माणको काम ठप्प भयो।

शासकहरु आफ्नो जालझेलको सत्ता डगमगाउने ठानेर स्कुल, कलेज खोल्नतिर लागेनन्। त्यसैले चन्द्र शमशेर आफ्नै नामको त्रिचन्द्र कजेल खोल्दा रोएका थिए।

त्यो केन्द्रीकृत सत्ताको कोपभाजनमा कर्णाली परिरहयो। यही कारणले नै नेकपा माओवादीले संघीयताको माग उठाउनु परेको हो। जसले आफ्नो क्षेत्रको विकास आफै गरोस भन्ने हो। 

हामी प्रदेशको सांसद हुँदा त्यही अभ्यास गरिरहेका छौं। सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक ल्याउनुको मुख्य उदेश्य यही हो। यसले लगभग नामेट पारिएका इतिहासको उत्खनन गर्नेछ। कर्णालीमा जन्मने हरेक नागरिकले आफ्नो भूमिलाई गर्व गर्न लायक बनाउनेछ। व्यवस्थित साम्राज्यको इतिहासको पुनर्लेखन गर्नेछ। 

सिंजाबाट देशभर फैलिएका खसहरु सिंजामा आउने र यहाँको एक मुठी माटो र एक अंजुली पानी लिएर जाने बनाउनुपर्छ। त्यो माटो र पानी म्यानमारसम्म पुगोस। अमेरिकामा रहेका खसहरु जुम्ला पुगेर फर्किउन्। आफ्नो पितृभूमिप्रतिको सम्मान भाव प्रकट गर्ने वातावरण बनाउने काम सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकले गर्नेछ।

विधेयक पास भएपछि बन्ने ऐनले सिंजामा खस र गैरखस भिलेजहरु बन्नेछन्। जहाँ देशभरिका खस र गैर खसहरु आएर आफ्नो ऐतिहासिक पृष्ठभूमि बुझ्न पाउनेछन्। विभिन्न जातजातिका छुट्टाछुट्टै घरहरु बन्नेछन्।

उदाहरणका लागि सिंजा पुगेको थापामगर हाउसमा बस्नेछ। त्यहाँ उसको वंशावलीदेखि लिएर उसका ऐतिहासिक कर्म समेटिएका अध्ययन, अनुसन्धान हुनेछन्। त्यहाँ पुगेको उसले आफ्नो पुर्खाप्रति गर्व गर्नेछ।

त्यस्तै सिंजामा पुगेको भण्डारी थरको मान्छे खस भिलेज भित्रको भण्डारी हाउसमा बस्नेछ। त्यहाँ पनि उसको आफ्नो पुर्खा पहिचान गर्न पाउनेछ। त्यहाँ उसका लागि आधिकारिक सन्दर्भ सामग्री उपलब्ध हुनेछन्। यस्ता सबै जातजातिका हाउसहरु भन्नेछन्। जहाँ सबैको अध्ययन, अनुसन्धान हुनेछ।

इटालीको रोम शहरमा छिर्ने जोकोहीले पोपले हात हल्लाएको देखेझैं सिंजामा पुग्नेले नागराजले हात हल्लाएको हेर्नेछ भने जुम्ला पुग्नेले एक पटक सोभान शाहीलाई देख्न पाउनेछ। ती हाम्रा पुराना शासकशरुको सुरक्षा दिइरहेका खस सेनाहरु देख्नेछ। यसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका ख्ल्नेछ।

भाषा, लिपी, संस्कार र सभ्यताको जननी कर्णालीले पुनः आफ्नो गर्व गर्न लायक इतिहासमा फर्केको महसुस गर्नेछ।

यतिमात्र होइन हिमाली क्षेत्रको अत्यन्तै कमात्रै अनुसन्धान भएको मानवशास्त्रीय वैज्ञानिक अध्ययन गरिनेछ। कर्णालीले फैलाएको सिमासम्मका हरेक क्षेत्रको अध्ययन र अनुसन्धान अर्काे उदेश्य हो। यसलाई विकास र विस्तार गर्दै जाँदा थप तथ्यहरु फेला पर्नेछन्। सिंजाको आधिकारिक इतिहास हामीसँग हुनेछ।

यिनै उदेश्यका साथ सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संसदमा टेबुल गरिएको छ। हामीले बृहत क्षेत्र समेट्ने गरि काम गर्न थालेका छौं। हामीलाई विश्वास छ यो चाँडै ऐन बनेर आउनेछ र काम सुरु हुनेछ।

प्रकाशित मिति: : 2022-02-19 12:30:00

प्रतिकृया दिनुहोस्