कोइलाखानीका श्रमिक : जीवन धान्न अति नै जोखिमपूर्ण श्रम

अनलाइनखबर

आभास बुढाथोकी

 घोराहीको उत्तरी भेगमा सुक्खा र उराठलाग्दा पहाड ठडिएका छन् । पहाडको काखैमुनि छन् वैराग लाग्ने केही गाउँ । त्यही गाउँ मुनि काला चट्टानले भरिएका ५०० मिटर गहिरा कोइलाखानी छन् । २५ वर्षयता पहाड मुनि खनिएका कोइलाखानीका सुरुङले गाउँको पेट मात्र भरेको छैन, कालापत्थरसँग सिंगो गाउँको जीवन र जवानी साटिएको छ ।

दाङ र रोल्पाको सीमा जोड्ने यी पहाडले यहाँका गाउँको दुःख र वेदनाको कथा बोकेका छन् । हिउँदको एक बिहान, सधैं झंै कुहिरोले गमक्कै ढाकेको छ यो गाउँ । घोराही उपमहानगरपालिका–१९ सैघाका यमबहादुर घर्तीले कोइलाखानीको डिलमा उभिएर आफ्नो उमेरको हिसाब गरे ।

‘१४ वर्षको छँदा कोइलाखानीमा काम गर्न छिरेको अहिले म ४४ वर्षको भएँ । आधा जीवन त खानीमै बितेछ’, २० वर्ष सुरुङभित्रको काममा बिताएका घर्तीको बाँकी जीवन पनि यसैगरी बित्ने अनुमान छ । लामो सास तानेर उनले भने, ‘जिन्दगी कोइलाखानीले नै खानेभयो ।’

हुन पनि जीवनभर उनी कोइलाखानीको अँध्यारोभित्र काला पत्थर फोडिरहे । जोवन र बैंसका दिनहरू कोइलासँग साटे । बाहिरी संसारबाट बेखबर रहे । अहिले पनि उनी गहिरा सुरुङको अँध्यारोभित्र हरेक दिन कोइला खन्ने र निकाल्ने काम गरिरहेका छन् । यो दुःखबाट छुट्कारा पाउने कुनै संकेत छैन ।

प्रकाशित मिति: : 2022-03-14 22:14:00

प्रतिकृया दिनुहोस्