हेटौंडाको मेयरमा फेरि दोहोरिएला दाजुभाइको प्रतिस्पर्धा ?

एमालेबाट मेयरका आकांक्षी हरिबहादुर महत र कांग्रेसबाट मेयरमा आकांक्षी भीमसेन महत सहोदर दाजुभाइ

थाहा खबर

श्रीजना नेपाल

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूको दौडधुप पनि बढेको छ। गाउँघरमा निर्वाचनकेन्द्रित गतिविधिले तीव्रता पाएका छन्। ५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट नयाँ र कस्ता जनप्रतिनिधि आउँछन् भन्ने सबैको चासोको विषय बनेको छ।

मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये अन्यको तुलनामा हेटौंडा उपमहानगरमा यतिबेला चुनावी सरगर्मी बढेको छ। बागमती प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको मेयरमा कसले बाजी मार्ला? भन्नेमा यतिबेला सबैको ध्यानकेन्द्रित भएको छ। 

निर्वाचन नजिकिँदै गर्दा हेटौंडाको मेयर बन्न वडाध्यक्षदेखि संविधानसभा सदस्यसम्म गरि करिब १२ जना आकांक्षी देखिएका छन्। तीमध्ये नेकपा एमालेबाट मेयरका आकांक्षी हरिबहादुर महत र नेपाली कांग्रेसबाट मेयरमा आकांक्षी देखिएका भीमसेन महतमा उपमहानगरवासीसहित राजनीतिक दलको चासो बढी छ।

२०७४ सालमा भएको निर्वाचनमा पनि हेटौंडा उपमहानगरको मेयरको लागि चुनावी मैदानमा होमिएका उनीहरू सहोदर दाजुभाइ हुन्। ५ वर्षअघि एउटै पदका लागि निर्वाचनमा होमिएका दाजुभाइ आगामी चुनावमा फेरि एक-अर्काको विपक्षमा उभिएलान् त? हेटौंडावासीको मनमा कौतुहल उठ्न थालेको छ।

प्रकाशित मिति: : 2022-03-26 14:57:00

प्रतिकृया दिनुहोस्