फुटबलले जोडेको नेपाल–भारत सम्बन्ध

थाहा खबर

नमीन ढकाल

अग्ला पहाड बीचको बजारमा करिब ५ सय घरधुरी होलान्। सिमा वारीपारी उस्तै घर संख्या। सिमा छुट्याउने पिलर बाहेक दुइ देशीय सिमाना हो भनेर छुट्याउन अरु आधार खोज्न केही समय लाग्ला। दुवै तर्फको रहनसहन पनि उस्तै। व्यवसायीक र पर्यटकीय बजार भएकाले व्यवसाय पनि धेरै मिल्दोजुल्दो नै छन् सूर्योदय नगरपालिका–१ र पश्चिम बंगालको सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा। जंगे पिलरले छुट्याएको बजारको नेपाल–भारत जोड्ने माध्यम चाहि फुटबल हो।

हरेक वर्ष मानेभञ्ज्याङ मैदानमा आयोजना हुने प्रतियोगिता नेपाल र भारतका खेलाडीले भरिन्छ। नेपाली टिमको खेल भएको दिन दर्शकको संख्या भारतीय र नेपालका उत्तिकै हुन्छन्। मानेभञ्ज्याङ गोल्डकप एउटा उदाहरण मात्र हो फुटबलको माध्यमबाट दुई देशीय सम्बन्ध जोड्ने।

बाँसबोटे, रिम्बिक, बिजनबारी, सुकिया, लामागाउँ लगायतका क्षेत्रमा हुने प्रतियोगितामा नेपाली टोली अनिवार्य जस्तै छन्। यता नेपालको फिक्कल, पशुपतिनगर, जोगमाई, जमुना लगायतका क्षेत्रमा समेत भारतीय टोलीको सहभागिता रहन्छ।

२०७६ सालको माई भ्याली गोल्डकपमा सहभागिता जनाएको मानेभञ्ज्याङ फुटबल क्लबले यस वर्ष पाँचौ संस्करणको झापा गोल्डकप खेल्यो। मोरङको अमरदहमा भेट्रान्स फुटबलको उपाधि चुम्यो। ७ साइडको प्रतियोगिताबाट सुरु गरेको फुटबल यात्रालाई मानेभञ्ज्याङले नेपालको शिर्ष गोल्डकप प्रतियोगितामा समेत अभ्यस्त गराउँदैछ।

प्रकाशित मिति: : 2022-03-28 11:03:00

प्रतिकृया दिनुहोस्