बिर्तामोड नगरपालिका : कहाँ गयो मेयर शिवाकोटीको ७५ बुँदे घोषणापत्र ?

गत स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिँदै गर्दा नेकपा एमालेका ध्रुवकुमार शिवाकोटीले सार्वजनिक गरेको चुनावी घोषणापत्र जनतालाई झुक्याउने झुटा आश्वासन मात्र रहेकाे सावित भएको छ।

उनले अघिलो निर्वाचनताका राम्रा-राम्रा नारासहितका ७६ बुँदे घोषणापत्र जारी गरेका थिए। पाँच वर्षपछि फर्केर हेर्दा मेयर शिवाकोटीको टिमले जारी गरेको त्यो घोषणापत्रले उनीहरुलाई नै गिज्याइरहेको छ।

झापाकाे बिर्तामोड नगरपालिकाको विकास समृद्धिको घोषणापत्र भन्दै शिवाकोटी नेतृत्वको टिमले नगरको समग्र क्षेत्रको सर्वाङ्गीण विकास गर्ने घोषणा गरेको थियो। तर, पाँच वर्षमा यो कल्पनामै सीमित रह्यो।

‘सम्बृद्धि, समानता र पूर्वाधार विकासको भरोसायोग्य आधारः स्थानीय तहमा एमालेको सरकार, पूर्वाधारको विकास गरौं, सुन्दर सफा, सुरक्षित र सम्वृद्ध बिर्तामोड बनाऔं’ भन्ने नारासहित शिवाकोटीले सामाजिक आर्थिक रुपान्तरणको आधारः नगरभरि यातायात पूर्वाधार, अर्थतन्त्रको सवलीकरणः कृषिको आधुनिकीकरण, बिर्तामोडको पर्यटनः नगरको समृद्धि र पहिचानको साधन, आर्थिक समृद्धिको नयाँ चरणः व्यापक औद्योगिकीकरण, राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा, मानव संशाधन विकास र आधुनिक शैक्षिक पूर्वाधार, स्वास्थ्य विमा, निःशुल्क उपचारः स्वस्थ नागरिक जिम्मेवार सरकार, नदी नियन्त्रण, स्वस्थ पर्यावरणः हरित उद्यान, स्वस्थ वातावरण, दिगो सामाजिक सुरक्षा, पारदर्शिता, सुःशासनः भ्रष्टाचारमुक्त प्रशासन, अर्थतन्त्रमा तिव्र वृद्धिः ऊर्जाबाट आर्थिक सम्वृद्धि, बजार सञ्जालको विस्तारः मूल्य श्रृंखलाको कडीमा उत्पादकको पहुंच, खेलकुदलगायतका क्षेत्रमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए।

उनले जितेको बिर्तामोड नगरपालिकामा यो वाचाअनुसार काम भएका छैनन्। उनले गरेको घोषणा ‘मतदाताको आँखामा छारो हाल्ने’ उधारो आश्वासनमै सीमित रहे। उनले गरेका प्रतिबद्धता के-कति पूरा भए कि भएनन् भनेर मतदाता स्वयंले मूल्यांकन गर्न सक्नेछन्। उनले गरेका प्रतिबद्धता यस्ता थिए।

सम्वृद्धि, समानता र पूर्वाधार विकासको भरोसायोग्य आधारः स्थानीय तहमा एमालेको सरकार ,पूर्वाधारको विकास गरौं, सुन्दर सफा, सुरक्षित र सम्वृद्ध बिर्तामोड बनाऔंः

बिर्तामोड नगरपालिकाको विकास समृद्धिको घोषणापत्र

क. सामाजिक आर्थिक रुपान्तरणको आधारः नगरभरि यातायात पूर्वाधार

१. बिर्तामोडको मुक्ति चोकमा ट्राफिक व्यवस्थापन गर्न आकाशे पुल निर्माण गर्ने।
२. बिर्तामोड नगरपालिकाको सडक यातायात गुरुयोजना बनाई उक्त गुरुयोजनाअनुरुप प्राथमिकताका आधारमा पाँच वर्षभित्र १०० कि.मि. सडक पिच गर्ने, १०० कि.मि. सडक ग्राभेल सडक स्तरोन्नती गर्ने र त्यसमा पर्ने पुल कल्भर्टहरु बनाउने तथा ढल निर्माण गर्ने।
३. अदुवा खोलाको दुवै साइडमा तटबन्धसहित हरियाली सडक निर्माण गर्ने।
४. बिर्तामोड नगरका मुख्य सडक तथा शाखामा सौर्य ऊर्जाका सडकबत्ती जडान गर्ने।
५. मुक्ति चोकलगायत सडकका मुख्य चोकहरुमा ट्राफिक बत्ती जडान गर्ने।
६. अर्जुनधारा न.पा. सँगको सहकार्यमा बसपार्कलाई आधुनिक सुविधासम्पन्न र अनलाइन टिकटिङ्ग प्रणालीसहितको बसपार्कलाई स्तरोन्नति गर्ने।
७. बिर्तामोड न.पा. वरिपरि रिङ्गरोड निर्माण गर्दै छिमेकी नगर तथा गाउँपालिकाहरुसँग जोड्ने लिंक रोड बनाउने।
८. बिर्तामोड नगरभित्र वर्षायाममा हुने डुवान समस्या समाधान गर्न पानीको उचित निकासको लागि ढल निकासको वैज्ञानिक गुरुयोजना बनाई लागू गर्ने र शहरी क्षेत्रमा ढल बनाईसक्ने।
९. बिर्तामोड नगरमा पार्किङको दीर्घकालिन व्यवस्थापन गर्ने।

ख. अर्थतन्त्रको सवलीकरणः कृषिको आधुनिकीकरण

१०. वीउविजन, सिँचाई, प्रविधि र मलखादमा सुधार ल्याउँदै कृषि उत्पादनमा तिब्रतर वृद्धि ल्याउने। त्यसको लागि ठूलो परिमाणमा व्यावसायिक कृषि उत्पादन (ःबकक उचयमगअतष्यल) गर्न एक एरिया एक बाली उत्पादनको लागि कृषकहरुको कम्पनी, फर्म र सहकारीहरुलाई प्रोत्साहन गर्ने तथा त्यसरी उत्पादित कृषि उपजको उचित मूल्य प्राप्त गर्न गराउन पहल गर्ने।
११. कृषिथोक बजारलाई अत्याधुनिक र सुविधासम्पन्न बजारको रुपमा विकास गर्दै विषादी परीक्षण तथा कृषिजन्य वस्तुहरुको मूल्यसूची अन्तर्राष्ट्रिय बजार खासगरी भारतीय बजार र नेपालका अन्य शहरहरुको बजारसँग दैनिक अद्यावधिक हुने प्रणालीसहितको आधुनिक कृषिथोक बजारको रुपमा विकास गर्ने।
१२. चिया, सुपारी, अलैंची, अदुवा, कुचो, जडिबुटीलगायतका बढी मूल्यका कृषि उपजको संकलन, भण्डारण तथा प्रशोधन गरी निर्यात गर्ने नीति र कार्यक्रम लागु गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने।
१३. निजी फर्म, कृषि समूह र सहकारीमार्फत व्यावसायिक ढङ्गले चाक्लावन्दी खेती गर्न तथा कृषि फर्महरु र पशुपालन फर्महरु विकास गर्न प्रोत्साहित गर्ने।
१४. माछापालन, कुखुरा तथा अन्य पशुपालनको व्यावसायिक विकास गर्न निजी, सहकारी र कृषि समूहहरुलाई प्रोत्साहित गर्ने।
१५. कृषि क्षेत्रमा तुलनात्मक लाभका बालीहरुलाई व्यवसायीकरणमा जोड दिई कृषकहरुको आयस्तर वृद्धि गर्ने।
१६. क्षतिग्रस्त देउनिया सिँचाई योजना पुनर्निर्माण गर्ने।
१७. अर्गानिक तरकारी/फलफुल तथा अन्य कृषिजन्य उपजहरुको उत्पादन तथा वेचविखनलाई प्रोत्साहित गर्ने। विषादी परीक्षण प्रयोगशालाबाट खानयोग्य प्रमाणित भएका अर्गानिक कृषिजन्य उत्पादनहरुको वेचविखनको लागि छुट्टै साप्ताहिक हाटबजार सञ्चालन गर्ने।

ग. बिर्तामोडको पर्यटनः नगरको समृद्धि र पहिचानको साधन

१८. साँस्कृतिक तथा पर्यटकीय स्थलको विकासका साथै आदिवासी जनजातिको ऐतिहासिकता र पहिचान झल्कने गरि साँस्कृतिक संग्रहालय निर्माण गर्ने तथा जमिनको उपलब्धताको आधारमा प्रत्येक वडामा बालबालिका र जेष्ठ नागरिक मैत्री मनोरञ्जन पार्क निर्माण गर्ने।
१९. बिर्तामोड वडा नं. २ स्थित रामचोकमा रहेको सामुदायिक वनमा स्थानीय समुदायको सहभागितामा बालउद्यान विकास गर्ने।
२०. विराटपोखरीलगायत बिर्तामोड न.पा.का अन्य वार्डहरुमा रहेका अन्य पोखरीहरुमा पौराणिक/साँस्कृतिक पहिचान झल्कने गरी पर्यटकीय स्थल निर्माण गर्ने।
२१. पर्यटन प्रवद्र्धनको लागि सुविधासम्पन्न होटल स्थापना तथा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने।
२२. बिर्तामोड न.पा. वडा नं. ७ मा निर्माणाधिन पर्यटकीय स्थलमा आधुनिक भ्यू टावर तथा जैविक विविधतासहितको वनस्पति उद्यान निर्माण गर्ने।
२३. साङ्गवेद संस्कृत विद्यालय र यसको परिसरमा रहेको धार्मिक संरचना सुधार गर्दै धार्मिक पर्यटनको विकास गर्ने।

घ. आर्थिक समृद्धिको नयाँ चरणः व्यापक औद्योगिकीकरण

२४. बिर्तामोड नगरपालिकाको उपयुक्त स्थानमा २४ सै घण्टा आपूर्ति हुनेगरीको पूर्वाधार सम्पन्न औद्योगिक क्षेत्र निर्धारण र विकास गर्ने।
२५. बिर्तामोड न.पा.लाई ध्ष्ँष् ाचभभ शयलभ को रुपमा विकास गरी सूचना प्रविधिको विकासबाट यस नगरलाई क्ष्त् ज्गद बनाउँदै रोजगार श्रृजनामा जोड दिने। साथै सबै घरपरिवारमा ईन्टरनेट सेवाको पूर्वाधार पुर्याउन सहयोग गर्ने।
२६. कृषि उपज, वनजन्य वस्तु, पर्यटन मर्मतसम्भार तथा सूचना प्रविधिमा आधारित उद्योग स्थापना र सञ्चालनमा प्राथमिकता दिई प्रत्येक परिवारमा एक रोजगारतर्फ लक्षित आर्थिक सम्वृद्धिको कार्यक्रम सञ्चालन गर्न निजी, सहकारी र राज्यको पूँजीलाई परिचालन गर्ने।
२७. निजी तथा सहकारीको सहकार्यमा धुलो दुध तथा दग्ध पदार्थ उत्पादन र मासु प्रशोधन उद्योग स्थापना गर्न प्रोत्साहित गर्ने तथा मासु बिक्री वितरणको लागि ःभबतःबचत सञ्चालनमा ल्याउन पहल गर्ने।
२८. खाद्य प्रशोधन उद्योग विस्तार गर्न प्राथमिकता दिने।
२९. धान, मकै, गहुँ, कोदो तथा फापरको संकलन, भण्डारण तथा गुणस्तरको आधारमा प्रशोधन, ग्रेडिङ तथा प्याकेजिङ उद्योग विस्तार गर्ने।
३०. कृतिम गर्भाधानबाट पशुहरुको नश्ल सुधार गरी पशुजन्य उत्पादनहरुको वृद्धि गर्ने।

ड. राष्ट्र निर्माणको आधार : गुणस्तरीय शिक्षा, मानव संशाधन विकास र आधुनिक शैक्षिक पूर्वाधार

३१. नगरभित्र सञ्चालित सामुदायिक क्याम्पसहरुको गुणस्तर सुधार गर्दै सम्भाव्यताको आधारमा स्नात्तकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने।
३२. बिर्तामोड न.पा.मा सामुदायिक वहुप्राविधिक शिक्षालय तथा तालिम केन्द्र सञ्चालन गर्ने।
३३. सामुदायिक विद्यालयहरुको पूर्वाधार र गुणस्तर वृद्धि गरी निजी विद्यालयसँगको प्रतिष्पर्धात्मक क्षमता अभियान गर्ने।
३४. प्रत्येक सामुदायिक मा.वि.मा आवश्यकता र सम्भाव्यताको आधारमा एक/एक वटा प्राविधिक विषयहरुको पठनपाठन सञ्चालन गर्ने।
३५. हाम्रो समाजमा रहेका बिभिन्न समुदायमा रहेका परम्परागत सीप र कलाहरुलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा रुपान्तरण गर्न सम्बन्धित समुदायको सदस्यहरुलाई तालिम र वीउ पूँजी दिई उत्प्रेरित गर्ने।
३६. आवश्यकता आधारमा प्राथमिक विद्यालय थप गर्ने।
३७. महिला, युवा र पछाडि परेका समुदाय तथा विपन्न वर्गका युवायुवती लक्षित रोजगारमूलक तालिम र लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्ने।

च. स्वास्थ्य विमा, निःशुल्क उपचारः स्वस्थ नागरिक जिम्मेवार सरकार

३८. बिर्तामोड न.पा. वडा नं. ३ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी आधारभूत सुविधासहितको २५ बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने।
३९. बिर्तामोड न.पा. वडा नं. २ र ८ मा रहेका स्वास्थ्य चौकीहरुलाई स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र बनाउने।
४०. वडा नं. १० मा निर्माणाधिन स्वास्थ्य चौकीलाई अविलम्ब सञ्चालनमा ल्याउँदै अन्य वडाहरुमा समेत प्राथिमक स्वास्थ्य सेवा उपलव्ध गराउन उपस्वास्थ्य चौकी स्थापना गर्ने।

छ. नदी नियन्त्रण, स्वस्थ पर्यावरणः हरित उद्यान, स्वस्थ वातावरण

४१. फोहोर मैलाको कारणले हुने प्रदूषण तथा ध्वनी र जल प्रदूषण नियन्त्रण गर्ने।
४२. देउनिया खोला, रेखा खोला हर्चना खोला र घाग्रा खोलामा तटबन्ध निर्माण गर्दै योजनाबद्ध ढङ्गले ग्रिन बेल्ट स्थापना गर्ने।
४३. बिर्तामोड नगरभित्र आवश्यकताको आधारमा सार्वजनिक शौचालय र स्नान गृहको निर्माण गर्ने।
४४. भू–उपयोग नीति तथा योजना बनाई लागू गर्ने र बिर्तामोडमा दीर्घकालीन र दिगो हिसावले कृषि, उद्योग, व्यापार, आवास, वन र पर्यावरण क्षेत्रको निर्धारण गरी योजनावद्ध विकास अघि बढाउने।
४५. एक घर एक विरुवा अभियानलाई प्रोत्साहन गर्ने।
४६. अन्य प्रभावित गाउँ/नगरसँग समन्वय गरी हात्ती आतंक नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने।
४७. जलवायु परिवर्तनबारे चेतना जागरण ल्याउने
४८. फोहोरमैला व्यवस्थापन गर्न डम्पिङ साइट तथा फोहोर मैला प्रशोधन केन्द्र निर्माण गर्ने।
४९. विषादी र प्रदुषणबाट बिर्तामोडलाई मुक्त गरौं, आफ्नो नगर आफैं बनाऔं अभियान सञ्चालन गर्ने।

ज. दिगो सामाजिक सुरक्षा

५०. गरिबीको रेखामुनि रहेका परिवारको पहिचान गरी परिचय पत्र बाँड्ने र उनीहरुलाई रोजगारको निम्ति निःशुल्क तालिम तथा वीउ पुँजीको व्यवस्था गर्ने।
५१. एकल महिला, शारीरिक अपाङ्गता भएका व्यक्तिहरु, पछाडि परेका समुदाय र अति विपन्न वर्गबीच सीप विकास र रोजगार श्रृजनाको विशेष योजना संचालन गर्ने तथा हिंसापीडित महिलाहरुको लागि सुरक्षित आवास र रोजगारमूलक तालिम सञ्चालन गर्ने।
५२. सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र निर्माण तथा सञ्चालन गर्ने।
५३. ज्येष्ठ नागरिक आवास गृह निर्माण गरी ज्येष्ठ नागरिकहरुलाई विश्राम, मनोरञ्जन र निःशुल्क आवासको सुविधा उपलव्ध गराईने।
५४. बिर्तामोड न.पा. भित्र रहेका सुकुम्वासीहरुको लगत लिई वसोवासको उचित र वैज्ञानिक व्यवस्थापन गर्ने।

झ. पारदर्शिता, सुःशासन : भ्रष्टाचारमुक्त प्रशासन

५५. स्थानीय सरकारलाई भ्रष्टाचारबाट मुक्त बनाउँदै जनतालाई प्रदान गरिने सेवा सुविधाहरु छिटो छरितो र पारदर्शी ढङ्गले उपलव्ध गर्ने/गराउने।
५६. वडा कार्यालयहरु स्थापना गरी संविधान र कानूनले तोकिदिएका आधारभूत सेवा सुविधाहरु वडा कार्यालयबाटै प्रदान गर्ने।
५७. जनताका समस्या समाधान गर्न स्थानीय सरकारले २४ सै घण्टा गुनासो सुन्ने र समाधानको लागि पहल गर्ने सेवा केन्द्र सञ्चालन गर्ने।
५८. सबै नेपाली नागरिकहरुले सहज रुपले नागरिकता पाउने व्यवस्था कार्यप्रणाली अवलम्बन गर्ने।
५९. एमालेबाट निर्वाचित उम्मेद्वारले स्थानीय सरकारको जिम्मेवारी लिनु अघि र पछि सम्पत्ति विवरण सार्वजनिक गर्ने।

ञ. अर्थतन्त्रमा तिव्र वृद्धि : ऊर्जाबाट आर्थिक सम्वृद्धि

६०. नगरका सबै क्षेत्र र घरमा विद्युतको आपूर्ति र व्यवस्थापन गर्ने।
६१. आवश्यकताको आधारमा ट्रान्सफर्मर थप वा क्षमता वृद्धि गरी विद्युतको भोल्टेजमा सुधार ल्याउने।
६२. सहुलियत दरको विद्युत ऊर्जाबाट साझेदारीमा भूमिगत सिंचाईको सुविधा विस्तार गर्ने।
६३. नयाँ बन्ने घरमा बायोग्यास प्लान्ट अनिवार्य राख्ने व्यवस्था गर्नुको साथै पुराना घरहरुमा समेत बायोग्यास प्लान्ट राख्न प्रोत्साहन गर्ने।
६४. सौर्य ऊर्जाको प्रयोगमा प्रोत्साहन दिने।

ट. बजार सञ्जालको विस्तार ः मूल्य श्रृंखलाको कडीमा उत्पादकको पहुँच

६५. प्रत्येक वडामा सहकारीको माध्यमबाट सुपथ मूल्यको पसल स्थापना गर्ने। ६६. बिर्तामोड न.पा.भित्र रहेका हाट बजारहरु व्यवस्थित गर्ने।
६७. कृषिथोक बजारमा निजी, सहकारी तथा राज्यको साझेदारीमा डिपार्टमेन्टल स्टोरको स्थापना र सञ्चालनमा पहलकदमी लिने।

ठ. खेलकुद

६८. डोमालाल रंगशाला अवस्थित जमिन सम्बन्धी स्वामित्व विवादलाई समाधान गर्दै स्थानीय सरकारको मातहतमा रहने गरी अत्याधुनिक रंगशालाको विकास गर्ने।
६९. उपयुक्त स्थानमा खेलकुद केन्द्रको विकास गर्ने।

ड. विविध

७०. विद्यालय, नगरपालिका तथा सार्वजनिक संस्थाहरुको जग्गा जमिन यकिन गरी संरक्षण तथा व्यवसायिकरण गर्ने।
७१. बिर्तामोडलाई शिक्षा स्वास्थ्य र रोजगारको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने।
७२. सबै धर्मावलम्बीहरुको आ–आफ्ना आस्था र विश्वासका धरोहरहरुको संरक्षण र विकासमा सहयोग पुर्याउने।
७३. नगरप्रहरी र स्थानीय सुरक्षा निकायको समन्वय र सहकार्यमा आम नागरिकमा सुरक्षाको प्रत्याभूति गराई भयमुक्त समाज सिर्जना गर्ने।
७४. नागरिकहरुको सुरक्षाको लागि सामुदायिक प्रहरी विटको विस्तार गरी स्थानीय जनतालाई २४ सै घण्टा सुरक्षाको प्रत्याभूति दिने।
७५. नगरको सबै वडामा स्वच्छ खानेपानीको व्यवस्था मिलाउने।

चुनावी घोषणापत्र दलहरूको सिद्धान्त, उद्देश्य र योजना समेटिएको लिखित वाचा हो। त्यसकै आधारमा नागरिकले मत दिन्छन्। नागरिकको भरोसामा टिक्न जित्ने उम्मेदवार र सरकारमा पुग्ने दलले योजना, प्राथमिकता र कार्यक्रम तिनै घोषणापत्रबाट तय गर्नुपर्ने हो। यही कारण जवाफदेही र उत्तरदायी लोकतान्त्रिक प्रणालीमा घोषणापत्रलाई नैतिक मूल्यको कसीमा जाँचिन्छ। वाचा पूरा नगर्ने दल र उम्मेदवार नागरिकको नजरमा अविश्वसनीय ठहर्छन्। तर, राजनीतिमा नैतिकता र जवाफदेही कमजोर भएकाले चुनावी घोषणापत्रको यस्तो हबिगत हुन पुगेको हो।

प्रकाशित मिति: : 2022-04-01 17:44:00

प्रतिकृया दिनुहोस्