गुल्मीको मालिकामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन, ताेकिए उम्मेदवार

स्थानीय तहकाे निर्वाचन मिति नजिकिएसँगै पाँच दलीय गठबन्धन हुन्छ या हुँदैन भन्ने चियोचर्चाा चलिरहेको छ। केन्द्रमा गठबन्धनको विषय टुङ्गगो नलाग्दै गुल्मीको मालिका गाउँपालिकामा भने एमालेविरुद्ध पाँच दलीय गठबन्धनको उम्मेदवार घोषणा गरिएको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गाउँपालिकामा पाँच दलीय गठनबन्धन भएको हो। गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन। गठनबन्धनको मंगलबार गाउँपालिकाको वडा नम्बर ४ ठूलीचौरमा चुनावी घोषणा सभा गरी सार्वजनिक गरिएको छ। गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका देवीराम अर्याल साझा उम्मेदवार भएका छन।

उनी पार्टीका पालिका अध्यक्ष समेत हुन्। पालिका उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको छ। काँग्रेसले भने अझै उम्मेदवारको टुङ्गगाे लगाएको छैन। काँग्रेसको तर्फबाट पार्टीका पालिका उप–सभापति दीपक भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष इन्द्रबहादुर घर्ती, पालिका सभापति उपेन्द्र अर्याल लगायतको नाम चर्चामा छ। तर, उपाध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमै टुंगो लगाउने काँग्रेस मालिका गाउँ कमिटीको तयारी रहेको सभापति उपेन्द्र अर्यालले बताए।

पालिकाका ८ वटा वडामध्ये माओवादी केन्द्रको भागमा दुई र नेपाली काँग्रेसको भागमा ५ वटा वडा परेका छन। माओवादी केन्द्रले वडा नम्बर ३ ह्वाङ्दिमा पार्टीका प्रदेश कमिटी सदस्य अर्जुन बुढा मगर र वडा नम्बर ८ मर्भुङ्गमा पार्टीका गाउँ कमिटी सचिव सूर्यबहादुर जिसीलाई वडाध्यक्ष बनाउने तयारी गरेको छ।

काँग्रेसलाई वडा नम्बर १ नेटा, वडा नम्बर २ दर्लिङ, वडा नम्बर ४ अर्खबाङ्ग, वडा नम्बर ५ छाप, वडा नम्बर ६ अर्जे र वडा नम्बर ७ घमिर परेका छन। काँग्रेसले पनि केही दिनमै सर्वसम्मत रुपमा वडाध्यक्षका उम्मेदवारको उम्मेदवारको टुंगो लगाउने पार्टीका पालिका उप–सभापति दीपक भण्डारीले जानकारी दिए।

गत स्थानीय तहको निर्वाचनमा पालिकामा नेकपा एमालेको तर्फबाट ४ हजार ४२ मत प्राप्त गर्दै रितबहादुर थापा विजयी भएका थिए। त्यस्तै नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४ सय ४७ र नेकपा माओवादी केन्द्रका देवीराम अर्यालले २ हजार ४० मत प्राप्त गरेका थिए।

यसरी हेर्दा पनि गठनबन्धको पक्षमा ५ हजार ४ सय ८७ मत हुने र अहिले एमाले फुटेर नेकपा एस बनेकोले पनि आफूहरु विजयी हुने गठबन्धनका साझा उम्मेदवार देवीराम अर्यालले दाबी गरे। मालिकामा गठबन्धनका उम्मेद्धवार घोषण भएसँगै गुल्मीमा चुनावी माहोल तातेको छ।

प्रकाशित मिति: : 2022-04-08 18:51:00

प्रतिकृया दिनुहोस्