रतुवामाई नगरपालिका : स्थानीय नेतादेखि प्रदेश सांसदसम्म मेयर बन्ने दौडमा !

मोरङको रतुवामाई नगरपालिकामा स्थानीय तह निर्वाचनको तयारीमा दलहरू जुटेका छन्। खास गरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस विभिन्न कार्यक्रम लिएर टोल-टोलमा पुग्न थालेका छन्।

नेकपा एमालेमा रतुवामाईको मेयर पदका लागि ४ जना आकांक्षी देखिएका छन्। एमालेमा एकपछि अर्को गर्दै आकांक्षीहरुले आकांक्षा व्यक्त गर्न थालेका छन्।

रतुवामाईमा मेयर बन्ने दौडमा यतिबेला एमालेभित्र प्रदेश सदस्यदेखि जिल्ला तहका नेतासम्म छन्।

एमाले एक नम्बर प्रदेश कमिटी सदस्य डिबी कार्की रतुवामाईको मेयर बन्ने दौडमा छन्। लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय कार्की २०७४ सालको स्थानीय निर्वाचनमा पनि मेयरको दावेदार थिए।

यस्तै रतुवामाई-८ का बहालवाला वडा अध्यक्ष नन्दकुमार चापागाईं पनि मेयर बन्ने दाउमा छन्। एमाले मोरङ सचिवालय सदस्यसमेत रहेका चापागाईं स्थानीयस्तरमा लोकप्रिय मानिन्छन्।

यस्तै जिल्ला सचिवालय सदस्य मेघराज शर्मा कट्टेल मेयरको प्रमुख दावेदार हुन्। पार्टीले आफ्नो आवश्यकता महसुस गरे मेयरमा उठ्न तयार रहेको उनको भनाई छ। उनी एमाले मोरङको निर्वाचन विभाग प्रमुख समेत हुन्। 

रतुवामाईको मेयर बन्ने दौडमा रहेका अर्का एमालेका आकांक्षी हुन्, दुर्गा बिष्ट। स्थानीयस्तरमा लोकप्रिय रहेका विष्ट यसपटकको निर्वाचनमा आफूलाई मेयरको रुपमा अगाडि सार्दै जोडबलले तयारी गरिरहेका छन्। उनी एमाले मोरङको सचिवलय सदस्यसमेत हुन्।

कांग्रेसमा आधा दर्जन बढी आकांक्षी

केन्द्रीय राजनीतिमा शीर्ष तहमा रहेका डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालाको निर्वाचन क्षेत्रसमेत रहेको रतुवामाईमा कांग्रेसभित्र उम्मेदवारहरूको चर्चा सुरु भएको छ।

रतुवामाई नगरपालिकामा कांग्रेसको तर्फबाट आधा दर्जन बढी नेताहरुले आकांक्षा देखाएका छन्। कांग्रेसको आकांक्षी उम्मेदवारहरुमा प्रदेश सांसददेखि मेयर, वडाध्यक्ष र जिल्लादेखि स्थानीयस्तरका नेताहरु छन्।

रतुवामाईको मेयरमा हालका मेयर रविन राईले पुनः दोहोरिने इच्छा देखाएका छन्। उनले मेयरको रुपमा पहिलो कार्यकाल पूर्ण सम्पादन गर्न समय अपुग भएकाले पुनः मेयर बन्न चाहेको बताए। उनी विकास प्रेमी नेता भनेर स्थानीयस्तरमा पहिचान बनाउन सफल भइसकेका छन्।

बहालवाला प्रदेश सांसद शिव नारायण सिंह पनि मेयरको आकांक्षी रहेको बताइए पनि उनले अहिलेसम्म आफू मेयर बन्न चाहेको सार्वजनिक गरेका छैनन्।

वडा नम्बर ५ का वडाध्यक्ष कन्हैयालाल राजवंशी पनि मेयरको आकांक्षी हुन्। उनको उम्मेदवारीलाई बलियो रुपमा लिइएको छ।

स्थानीयस्तरमा लोकप्रिय रहेका कांग्रेस नेता जीवन पनेरु पनि मेयरको दावेदार हुन्। पनेरू यसअघिको स्थानीय निर्वाचनमा पनि उम्मेदवार बन्न चाहेका थिए। तर उनलाई त्यसबेला पार्टीले टिकट दिएन।

यस्तै कांग्रेसबाट नागेश्वर सिंह, खड्ग चोङवाङ, जीतमान श्रेष्ठ समेतलाई नगरप्रमुखको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ।

गठबन्धनको तयारीमा माओवादी र एकीकृत समाजवादी

रतुवामाईमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी कमजोर छन्। यी दुई र पार्टीहरु एकल प्रतिस्पर्धामा जानेभन्दा पनि गठबन्धन गरेर निर्वाचनमा जाने दाउमा छन्।

केन्द्रदेखि नै पाँच दलीय गठबन्धनलाई लिएर स्थानीय निर्वाचनमा जाने भनिएता पनि मोरङमा शेखर कोइराला समूहले गठबन्धन नगरी निर्वाचनमा जाने घोषणा गरेपछि यतिबेला माओवादी केन्द्र कसरी साख जोगाउन सकिन्छ भन्नेमा लागेको छ। कांग्रेससँग गठबन्धन नभएको खण्डमा माओवादी एमालेसँग मिलेर जाने पक्षमा समेत सकारात्मक देखिएको छ।

यस्तो छ अङ्कगणित

रतुवामाई नगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित १० वडामध्ये ७ वडामा जितेको थियो। उपमेयरसहित वडा नम्बर ६, ८ र १० मा एमालेका उम्मेदवार विजयी भएका थिए।

कांग्रेसका तर्फबाट नगर प्रमुखमा रविन राई ९ हजार ८ सय ९५ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टिकेन्द्र पोमु लिम्बूले ८ हजार १ सय मत पाएका थिए। 

नेकपा माओवादीका प्रकाश पौडेलले ३ हजार ७ सय २८, राष्ट्रिय जनमोर्चाकी कल्पना राईले ४ मत, राप्रपाकि उर्मिला सिंहले ६४८ मत ल्याएका थिए।

प्रकाशित मिति: : 2022-04-10 10:46:00

प्रतिकृया दिनुहोस्