रोल्पामा थपिए २८ हजार मतदाता, युवा निर्णायक

अघिल्लो निर्वाचनमा भन्दा यस पटक रोल्पामा २८ हजार १ सय ८३ जना मतदाता थपिएका छन्।

२०७४ सालको स्थानीय निर्वाचनमा जम्मा १ लाख १७ हजार २ सय ६१ रहेको रोल्पाको मतदाता संख्या अहिले बढेर १ लाख ४५ हजार ४ सय ४४ पुगेको हो।

जसमध्ये पुरुष ७१ हजार ९ सय ३४ र महिला ७३ हजार ५ सय १० रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी केसीले जानकारी दिइन्।

जिल्लाका स्थानीय तहगत विवरणमा हेर्दा सबैभन्दा धेरै मतदाता रोल्पा नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम थबाङ गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

रोल्पा नगरपालिका : १९४९८
रुन्टीगढी गाउँपालिका : १९११९
सुनिलस्मृती गाउँपालिका : १७६२८
त्रिवेणी गाउँपालिका : १६०९४
लुङ्ग्री गाउँपालिका : १५६३०
परिवर्तन गाउँपालिका : १४३२६
गंगादेव गाउँपालिका : १२८४५
माडी गाउँपालिका : १२५७९
सुनछहरी गाउँपालिका : १०५५५
थबाङ गाउँपालिका : ७१७०

थपिएका मतदाता निर्णायक

थपिएका अधिकांश मतदाता युवा भएकाले यी मतदाता नै अहिलेको स्थानीय तहको निर्वाचनमा निर्णायक बन्ने देखिएको छ।

युवाहरुमा चेतनास्तर पनि बढेको र उनीहरु कुनै प्रलोभनमा भन्दा पनि सक्षम उम्मेदवारलाई रुचाउने भएकाले निर्णायक बन्ने आँकलन गरिएको छ।

स्थानीय तहको वडास्तरसम्मै विकास निर्माण र स्वरोजगार सिर्जना गर्न सक्ने उम्मेदवार भए स्वतन्त्रबाट पनि जित्न सक्ने भन्दै युवाहरुले पार्टीभन्दा व्यक्ति हेर्न सक्ने स्वतन्त्र युवाहरुको भनाई छ।

‘यसअघिको मत परिणामलाई हेरेर अनुमान गर्न सकिँदैन’, एक युवाले भने ‘त्यसैले योग्य, सक्षम र योजनाविना आउने उम्मेदवार यसपटक पराजित हुने निश्चित छ।’

मतदानस्थल र केन्द्र पनि थपियो

गत निर्वाचनमा ८० वटा मतदान स्थल र १ सय ५४ वटा मतदान केन्द्र रहेको रोल्पामा यस पटक एउटा मतदानस्थल र १९ वटा केन्द्र थपिएको छ।

जिल्लामा अहिले ८१ मतदानस्थल र १ सय ७३ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी केसीले बताइन्। जिल्लाका सबै मतदानस्थल तथा केन्द्र संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। अहिले जिल्लाको सुरक्षा अवस्था सामान्य छ।

प्रकाशित मिति: : 2022-04-11 14:55:00

प्रतिकृया दिनुहोस्