भिमादमा एमाले उम्मेदवार छान्न मतदान

File Photo
File Photo

जिल्लाको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ।  

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र  उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको हो। 

मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए भए। मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ। सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरेका छन्। फेरी मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचिबाट बाहिरिएका छन्। मेयरका आकांक्षी भवानीशंकर लम्सालले पनि १० मत प्राप्त गर्दा सिफारिस हुने मौकासमेत पाएनन्।

उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन्। पाँच जना उपमेयरमा आकांक्षी थिए। खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन्। उपमेयरमा इच्छा व्यक्त गरेका दिना गोतामे ३१ र पवित्रा थापा मगरले ४० मत मात्रै पाए। 

आकांक्षीकै सहमतीमा मतदान भएको नेकपा एमाले भिमाद नगर कमिटीका कार्यालय सचिव लालु थापाले बताए। ‘आकांक्षी धेरै हुनुभयो। सिफारिस थोरैको पठाउनुपर्ने। कोही पनि पछाडी हट्न नचाहोपछि मतदान भएको हो’, उनले भने। मतदानबाट कार्यकर्ताले अनुमोदन गरेका मेयर र उपमेयरका आकंक्षीको नामावली जिल्ला कमिटीमा पठाएको उनले जानकारी दिए। 

भिमादमा अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर उपमेयर सहित अधिक वडामा एमालले जित हासिल गरेको थियो। यसपाली भिमादमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी भर्सेस एमालेको भिडन्त हुने संकेत देखिन्छ।

प्रकाशित मिति: : 2022-04-11 21:39:00

प्रतिकृया दिनुहोस्