समग्र तानसेनको विकासमा परिवर्तन ल्याउन मेराे उम्मेदवारी : माधव जिसी

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै पाल्पामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। तीन तहको निर्वाचनमध्ये बढी चासोको रुपमा हेरिने स्थानीय निर्वाचनले अहिले चुलो-चौकादेखि चिया चौतारीसम्म चुनावी गफगाफले तातेको छ। जिल्लाका १० वटा स्थानीय तहमध्ये तानसेन नगरपालिकाको अबको नेतृत्वमा को आउला भन्ने चर्चा बढ्दै गएको छ।

तानसेन नगरको मेयरमा नयाँ अनुहार को आउला भन्ने कौतुहल्ता यतिखेर बढिरहेकाे छ। यही बीचमा तानसेन नगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष माधव जिसीले मेयर पदकाे लागि आफ्नो उम्मेदवारी रहने उद्घोष गरेका छन्।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भारी मतान्तरले विजयी भएका जिसीले यही वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा आफ्नो दाबेदारी रहने बताएका हुन्।

वडाध्यक्षमा निर्वाचित भएपश्चात वडा नं. ७ को विकासले काँचुली नै फेरेको दावी गर्दै उनले समग्र तानसेनको विकासमा परिवर्तन ल्याउन आफू सक्षम रहेको बताएका छन्।

गाउँदेखि सहरसम्मको विकास गर्न मेरो उम्मेदवारी : जिसी

एकै पदमा धेरै पटक एउटै उम्मेदवार हुँदा समग्र तानसेको विकास हुन नसकेको भन्दै अबको विकासको लागि साँघुरो मानसिकता काम नलाग्ने मेयर पदका दाबेदार जिसीले बताए।

तानसेन नगर सरकारकाले वडामा बजेट कटाएर एनजीओलाई पैसा बाँडेको भन्दै साँच्चै वडाको विकास चाहेको हो भने वडामार्फत विकास गर्नुपर्ने सुझाए।

समग्र बजेटको ७० प्रतिशत आफूमा निहित गरेर ३० प्रतिशत वडामा दिने परिपाटी तानसेन नगरपालिकामा भएको भन्दै यस्ता खालका विकृत अन्तयको लागि मेयरमा आफ्नो दावेदारी रहने पनि उनले बताए।

मेयर जित्ने जिसीका जनआधारहरु

हाल वडा नं. ७ का वडाध्यक्ष जिसीले मेयरमा उम्मेदवारी दिने चर्चा चलिरहँदा जिसीको जित्ने आधार के हो भन्ने खालको चासो पनि बढिरहेको छ।जिसीले आफ्नो जित्ने मुख्य आधार भनेकै ग्रामीण वडाले आफूप्रति देखाएको सद्भाव र विश्वास रहेको बताए।

क्षेत्र नं. २ को क्षेत्रीय सभापति भएपश्चात ‘घरघरमा जाऔँ नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान अन्तर्गत नगरवासीको घरमा पुग्दा आफूलाई मतदाताले गरेको विश्वासलाई पुरा गर्न समेत मेयरमा आफ्नो उम्मेदवारी हुने बताए।

अहिले ५ दलीय गठबन्धनसमेत रहेकोले आफूले मेयरकाे टिकट पाएको खण्डमा चुनाव जित्ने दावी गरे। पार्टीमा विगतदेखि गरेको योगदान र अहिले पार्टीमा आफ्नो भूमिकालाई हेरेर भए पनि पार्टीले आफूलाई मेयरको टिकट दिनेमा आशावादी भएको बताए।

नेपाली कांग्रेको जनमत पहिले भन्दा अहिले धेरै राम्रो भएकाले यदि राम्रो व्यक्तिले टिकट पाउँदा कांग्रेसले मेयरमा बाजी मार्ने उनको विश्वास छ।

वडाध्यक्ष हुँदा गरेका मुख्य कामहरु

१ वडा नं ७ सहित समग्र तानसेनवासी र पाल्पा जिल्लाबासीको सुविधिको लागि ट्रायल सेन्टर निर्माण सुरु।
२ कुनसरेमा उद्योगग्राम स्थापना, उद्योग ग्रामको कम्पाउन्डीङ्गलगायतको काम सम्पन्न गरी निकट भविष्यमा ५०० भन्दा बढीले रोजगारी पाउने।
३ प्रभास क्षेत्रमा हाटबजार स्थापना गरी सञ्चालनमा ल्याएपश्चात कृषकलाई राहत मिलेको।
४ धार्मिक, पौराणिक मानिने सूर्यकुण्डको संरक्षण, जीर्णेउद्धार गरी भक्तजनको लागि प्रयोगमा ल्याएको।
५ बाघखोर खेलमैदान निर्माण अन्तिम चरण्मा पुगेको र निकट भविष्यमा ठुला-ठुला राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालन गर्न मिल्ने।
६ फास्ट ट्रयाक अन्तर्गत प्रभास हुँदै काजिपौवा निस्कने मोटर बाटोको स्तराेन्नती गरी निकट भविष्यमा कालोपत्रे गर्ने गरी काम गरेको।
७ रक्साहादेखि नयाँ गाउँसम्मको मोटरबाटो स्तराेन्नती गरी ग्राभेलीङ्ग गरेको।
८ वर्षेनि सास्ती दिँदै आएको होलाङ्गदी खोलाको दिगो समधानको लागि तटबन्धन निर्माण गरेको।

मेयर उम्मेदवार जिसीका लक्ष्यहरु

१ गाउँका वडादेखि सहरसम्मका वडाको समानुपातिक विकास गर्ने।
२ कृषिमा विचौलियाको हावीतन्त्र रोकी सिधै किसानसँग जोडिएर काम गर्ने।
३ नगरभित्रै दक्ष प्राविधक जनशक्ति उत्पादनको लागि प्राविधिक विद्यालय र कलेज सञ्चालन गरी प्राविधिक शिक्षा निशुल्क पढाइ दिने।
४ शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण समयमै सम्पन्न गरी तानसेनलाई धुलोरहित सहर बनाउने।
५ तानसेनलाई व्यवहारमै पर्यटनयुत्त सरहको रुपमा विकास गर्ने।
६ तानसेको वर्षाैंदेखिको खानेपानी समस्या समाधान गरी तानसेनबासीलाई सस्तो र सर्वसुलभ खानेपानीको व्यवस्थापन गर्ने।
७ उच्च शिक्षा अध्ययनको लागि नगरभित्रका विद्यार्थीलाई छात्रवृत्ति दिने।
८ तानसेको टुँडिखेलको स्तराेन्नती गरी राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्ने।
९ तानसेन नगरभित्र पर्ने राजमार्गको स्तराेन्नती गरी धुलोरहित क्लिन हाइवेय बनाउने
१० सरकारी विद्यायको शैक्षिक गुणस्तर वृद्धि गर्न प्राविधि, दक्ष जनशक्तिसहितको पूर्वाधार सम्पन्न बनाउने।
११ तानसेन बजारको घट्दो व्यापारलाई वृद्धि गर्न नयाँ व्यापारिक रणनीति निर्माण गरी उद्योग र कलकारखानाको निर्माण गरी स्वरोजगार सिर्जना गर्ने।

पैसा कमाउन मेयर बन्दिनँ, वार्षिक एक करोड बढी आफ्नै व्यवसायबाट कमाउँछु

आफू पैसा कमाउन मेयर बन्न नखोजको भन्दै जिसीले वार्षिक करोडौं रुपैयाँ आफ्नो व्यवसायबाट कमाई हुने गरेको बताए। आफ्नो लागि भन्दा पनि समग्र तानसेन नगरवासीको विकासको लागि आफू मेयर बन्न खोजेको बताए।

अहिले व्यवसायको रुपमा पर्रोहा परमेश्वरी इन्जिनियरिङ्ग वर्कसप, मोनिका फर्निचर, सित्तलादेवी सहमिल र होटल ताज सञ्चालन रहेको जानकारी दिए। आफू र आफ्नो परिवारको लागि व्यवासाय नै काफी भएकोले नगरवासीको समृद्धिको लागि मेयरमा प्रमुख दावेदारी रहने उनले बताए।

हुन् मेयरका आकांक्षी जिसी

हाल तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रहेका माधव जिसीले २०४६ सालदेखि नेपाली राजनीति सुरु गरेका थिए। साविक मदनपोखरा गाउँपञ्चायत वडा नं. ५ मा नेपाल विद्यार्थी संघको सचिव भएर सुरु गरेको राजनीतिक यात्रा द्वन्द्वकालमा सोही वडाको दुई कार्यकाल कार्यवाहक पार्टी अध्यक्ष भएर काम गरेको जिसीको अनुभव छ। विकास निर्माणदेखि पार्टीको राजनीतिमा क्रियाशील जिसी छोटो समयमै कार्यकर्तालाई आफ्नो पक्षमा पार्न सक्ने चतुर नेताको रुपमा परिचित छन्।

पाल्पा क्षेत्र नं. २ को तरुण दलको सभापति हुँदै एक कार्यकाल नेपाली कांग्रेस पाल्पाको कोषाध्यक्ष भएका थिए। हालै सम्पन्न कांग्रेस पाल्पाको जिल्ला अधिवेशनबाट क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए जिसी।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भारी मतका साथ वडाध्यक्षमा विजयी भएका मेयरका आकांक्षी जिसी तानसेनका १४ वटा वडामध्ये सबैभन्दा बढी विकास वडा नं. ७ मा भएको दावी गर्छन्।

प्रकाशित मिति: : 2022-04-15 16:36:00

प्रतिकृया दिनुहोस्