कांग्रेस पोखरा : मेयरमा जेठाजु, उपमेयरमा बुहारीको दाबी

file photo
file photo

नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ। दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल सुरु भएको छ।

मेयरमा १८ र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन्। उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन्।

पोखराको मेयर र उपमेयरमा एउटै घरबाट पनि दाबी परेको छ। मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरमा बुहारी (मिलन थापा) ले नाम टिपाएका हुन्। उनीहरु दुवै जना महाधिवेसन प्रतिनिधि पनि हुन्।

महधिवेसनकै बेला जेठाजु बुहारीलाई महाधिवेसन प्रतिनिधिमा रोक्ने प्रयास नभएको होइन। तर, दुवै जनाले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

मेयरमा रामचन्द्रका छोरीज्वाईं परमेश्वर पोखरेल पनि दाबेदार छन्। उनी हाल पार्टीमा कुनै पनि पदमा छैनन्। गत मंसिरमा भएकाे १४औं महाधिवेशनअन्तर्गत कास्की सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई र जितेका किशोरदत्त बराल दुवैजना मेयरको आकांक्षी छन्।

व्यवसायीहरू निर्मलप्रसाद कर्मचार्य, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई र किरण केसी पनि प्रमुख दाबेदारका रूपमा छन्। कृष्णबहादुर केसी हालका महासमिति सदस्य तथा कास्कीका निवर्तमान सभापति हुन्।

बाबुराम आचार्य लामो समय सरकारी सेवामा रहेर सचिव पदबाट अवकास पाएका व्यक्ति हुन् भने सरास्वती गुरुङ अघिल्लो चुनावमा उपमेयरमा पराजित भएकी थिइन्।

गंगाधर पराजुली पत्रकारिता हुँदै विभिन्न पदमा रहेर काम गरेपछि राजनीतिमा लागेका हुन्। उनी यसअघि पोखरा महानगरको पार्टी सभापतिमा पराजित भएका थिए।

पुराना नेता नन्दप्रसाद तिवारी र वीरेन्द्रनारायण विजुक्छे पनि दौडमा छन्। कोपिला रानाभाट पार्टीको प्रदेश सहमहामन्त्रीमा कार्यरत छिन् भने ऋषि सापकोटा र विश्व घिमिरे पनि राजनीतिबाटै अघि बढेका हुन्।

उपप्रमुखमा उम्मेद्‌वारी दिने माया बराल महिला संघ पोखराको सभापति हुन् भने लक्ष्मी पाण्डे निवर्तमान जिल्ला कोषाध्यक्ष हुन्। रंगीला आचार्य जिल्ला उपसभापतिमा निर्वाचित भएकी थिइन्।

उपमेयरमा नेताहरू आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ, दिपक मल्ल, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली नाम लेखाए।

प्रकाशित मिति: : 2022-04-17 17:48:00

प्रतिकृया दिनुहोस्