आ–आफ्नै उम्मेदवार टुङ्गो लगाउँदै गठबन्धनका दलहरू

रोल्पामा गठबन्धन दलहरूबीच सिट बाँडफाँडमा कुरा नमिल्दा आ–आफ्नै तर्फबाट उम्मेदवार टुङ्गो लगाउने तयारीमा जुटेका छन्।

केन्द्रीय गठबन्धनको सर्कुलरअनुसार केही दिनअघि छलफलमा जुटेका दलहरूबीच सिट बाँडफाँडमा कुरा नमिल्दा दलहरूले एक्लाएक्लै चुनावमा जाने भन्दै आफ्नो तर्फबाट उम्मेदवारहरूको टुङ्गो लगाउन थालेका हुन्।

गत हप्ता नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा छलफल भएपनि सिट बाँडफाँडमा कुरा नमिलेको कांग्रेस रोल्पाका उपसभापति हरिबहादुर पुनले बताए।

‘हामीले ५ वटा पालिकामा प्रमुख र ५ वटामा उपप्रमुख दावी गरेका थियौं’, पुनले भने, ‘त्यसमा माओवादी र अन्य दलहरूले नमानेपछि गठबन्धन नगर्ने सहमति भएको हो।’

जिल्लाका नेताहरूले गठबन्धनमा पहिलेदेखि नै खासै चासो नदेखाएका भएपनि केन्द्रको निर्देशनका आधारमा औपचारिकतामै छलफल सकिएको थियो। कांग्रेसले ५ वटा तहमा प्रमुख खोजेपनि माओवादीले भने दुईटासम्म दिने मनस्थितिमा देखिन्थ्यो।

२०७४ को निर्वाचनमा कांग्रेसले जितेको लुङ्ग्री गाउँपालिका र कांग्रेस दोस्रो भएको रून्टिगढी गाउँपालिकाले दिने सोच भएपनि कांग्रेसले धेरै खोजेपछि कुरा नमिलेको माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्तीको भनाई छ। ‘रोल्पामा कांग्रेसले आधा भाग पाउने हो भने लुम्बिनीका सबै पालिकामध्ये आधा माओवादीले पाउनुपर्छ’ घर्तीले भने ‘यसरी आधा–आधा भाग खोज्दा कुरा नमिलेको हो।’

उम्मेदवार टुङ्गो लगाउँदै दलहरू

गठबन्धन नहुने भएपछि दलहरू उम्मेदवार टुङ्गो लगाउने तयारीमा जुटेका छन्। त्यसका लागि माओवादीले मंगलबार बैठक बोलाएको छ भने कांग्रेसले ८ गते जिल्ला कार्यसमितिको बैठक बोलाएको छ।

पालिका प्रमुखहरूको उम्मेदवार टुङ्गो लगाउन केही ढिलो भएपनि वडाध्यक्षहरूको भने जतिसक्यो छिट्टै नै उम्मेदवारी टुङ्गो लगाउने माओवादी जिल्ला अध्यक्ष घर्तीको भनाई छ। ‘हामीले ६ गतेको बैठकमा नै वडाध्यक्षहरूको टुङ्गो लगाउने तयारी गरेका छौं’, घर्तीले भने, ‘पालिका प्रमुखहरूको भने ९ गतेसम्म लाग्न सक्छ।’

यस्तै कांग्रेसले पनि ८ गतेको बैठकबाटै टुङ्गो लगाउने कांग्रेस रोल्पाका उपसभापति पुनको भनाई छ। उता नेकपा एमालेले पनि केही दिनमै जिल्ला कार्यसमितिको बैठक बोलाई उम्मेदवार टुङ्गा लगाउने तयारी गरेको छ।

गठबन्धनलाई हेरेर चुनावी रणनीति बनाउने तयारी गरेको एमाले रोल्पाले पनि आफ्ना उम्मेदवारहरूको छनोट प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति: : 2022-04-18 19:49:00

प्रतिकृया दिनुहोस्