वर्षमान पुनकी बहिनी र ज्वाइँ रोल्पा नगरपालिकाको मेयरमा सिफारिस

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई भरतपुर महानगरमा दोहोर्याउने विषयले देशभर एकाएक चर्चा पायो। दाहाल परिवारको टिप्पणी नसेलाउँदै यता रोल्पा नगरपालिकामा पनि प्रभावशादी नेता वर्षमान पुनकी बहिनी र ज्वाइँले पनि मेयरमा दावी गरेका छन्।

यसो त आलोचकहरूले अध्यक्ष प्रचण्डपछि पार्टीभित्र वर्षमानलाई नै नातावाद र परिवारवादमा हावी भएको आरोप लगाउँछन्।

हाल उपमेयर रहकी मनकुमारी घर्तीले मेयरमा दावी गर्नु स्वाभाविक भएपनि उनका श्रीमान भानबहादुर घर्तीले समेत दावी गर्दा माओवादी वृत्तमा नातावाद र परिवारवाद मौलाएको भन्दै आलोचना हुन थालेको छ।

रोल्पा नगरपालिकाको मेयरमा वर्षमानकी बहिनी–ज्वाइँसहित अन्य ३ जनाको नाम सिफारिस भएको छ। सिफारिस हुने अन्यमा हालका मेयर पूर्ण केसी, सुरेन्द्र थापाघर्ती र फविन्द्र आचार्य रहेका छन्।

माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ताहरूले थापाघर्ती र आचार्यलाई मेयरको उम्मेदवार बनाउँन दबाब दिइरहेका छन्। तर आकांक्षीहरू मध्येबाट को मेयरको उम्मेदवार बन्ने भन्नेमा अझै टुङ्गा भने लागिसकेको छैन।

जिल्लामा गठबन्धनका लागि दलहरूबीच छलफल गर्दा उम्मेदवार छान्न समय लागेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा मेयरका आकांक्षी सुरेन्द्र थापाघर्तीले बताएका छन्।

‘अब जिल्लामा गठबन्धन नहुने भएपछि हामी उम्मेदवार टुङ्गाउन लागेका छौं,’ घर्तीले भने, ‘अबको २/३ दिनभित्रै हामीले जिल्लाका सबै स्थानीय तहका उम्मेदवारहरूको नाम टुङ्गो लगाउछौं।’

प्रकाशित मिति: : 2022-04-20 15:56:00

प्रतिकृया दिनुहोस्