दाङमा गठबन्धनलाई भागबण्डा मिलाउन सकस, दुई उपमहानगरमा महिला प्रतिनिधित्व शून्य

दाङमा सत्तारुढ गठबन्धन दलहरुलाई भागबण्डा मिलाउन सकस परेको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कुन दलले कति स्थानीय तह पाउने भन्ने विषय मिलाउन निकै सकस परेको देखिएको छ। 

दैनिक रुपमा गठबन्धन दलहरुबीच छलफल हुने गरेको भएपनि उम्मेदवार मनोनयनको प्रकृया सुरु हुनै लाग्दासमेत दलहरु आ-आफ्नै अडानमा हुँदा भागबण्डा मिलाउन दलहरुलाई सकस परेको हो। 

घोराही र तुलसीपुर उपमहानगरपालिकामा केन्द्रबाटै भागबण्डा गरिदिएपनि अन्य ८ स्थानीय तह (एक नागरपालिकासहित ७ गाउँपालिका) कसले पाउने भन्नेमा आआफ्नै दललको अडान रहेको छ। जसले गर्दा गठबन्धन टुट्न सक्नेसम्मको राजनीतिक वृत्तमा चर्चा हुन थालेका छ।

तर गठबन्धन दलका नेताहरु भने आइतबार विहानसम्म सबै स्थानीय तहमा भागबण्डा मिलाइ सक्ने दाबी गर्छन। 

नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले भागबण्डा मिलाउनका लागि अहिले  पनि बैठक चलिरहेको प्रतिक्रिया दिँदै सकेसम्म आजै राती र नभए भोलि विहानसम्म सबै ठाउँमा टुंगो लगाउने बताए। 

सोमबार हाम्रो उम्मेदवारी मनोनयनको कार्यक्रम छ। जसरी पनि भोलि विहानसम्म सबै टुंगोमा पुर्‍याउछौँ। सचिव योगीले बिएल नेपाली सेवासँग भने।

उनले अझै सबै ठाउँमा मिलाउन बाँकी रहेको जानकारी दिँदै गठबन्धन टुट्नेमा शंका नगर्न आग्रह पनि गरे।

नेकपा एकिकृत समाजवादी दाङका अध्यक्ष सुरामनी वेल्वासेले गठबन्धनमा भागबण्डा मिलाउन नियमित बैठक बसिरहेको बताए। तर मिलाउन निकै कठिन देखिएको उनको भनाई छ। 

अध्यक्ष वेल्वासेले अघिल्लो चुनावमा एमालेले जितेको ठाउँहरुमध्येको करिब ५० प्रतिशत ठाउँमा आफ्नो पार्टीका दाबी गरेको प्रतिक्रिया दिए। 

उनले सकेसम्म गठबन्धन गर्ने र नभए एक्लै चुनावमा जानेगरी तयारी भएको पनि बताए। 

वेल्वासेल घाराही र तुलसीपुरमा कांग्रेस र माओवादीले प्रमुख पाएको भन्दै लमहीमा आफ्नो दाबी नछाड्ने अडान रहेको  बताए।

केन्द्रबाटै घोराहीमा माओवादीले मेयर र कांग्रेसले उपमेयर पाउने निर्णय भएको थियो। 

तुलसीपुरमा भने कांग्रेसले मेयर र नेकपा एकिकृत समाजवादीले उपमेयर पाउने केन्द्रबाटै निर्णय भएपनि अन्य स्थानीय तहमा भने मिलाउन गठबन्धनलाई सकस देखिएको छ। 

दुई उपमहानगरमा महिला प्रतिनिधित्व शून्य 

गठबन्धन दलहरुबाट घोराही र तुलसीपुरमा मेयर र उपमेयरमा महिलाको सहभागिता शून्य रहेको छ। 

गठबन्धन दलले उम्मेदवार बनाउन महिलालाई सिफारिस गर्न सकेन।  घोराहीमा माओवादी केन्द्रबाट मेयरमा हेमराज शर्मा (डायमण्ड) र उपमेयरमा कांग्रेसबाट भुपबहादुर डाँगीलाई सिफारिस गरिएको छ। 

यस्तै तुलसीपुरमा पनि गठबन्धनबाट महिलाले उम्मेदवारी नपाउने भएका छन्।

तुलसीपुरको मेयरका लागि कांग्रेसबाट पूर्व सांसद गेहेन्द्र गिरी मेयरका उम्मेदवार बनेका छन् भने उपमेयरमा  नेकपा एकिकृत समाजवादीबाट जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन्। राना दाङ जिल्ला ईन्चार्ज पनि हुन्। 

मेयर र उपमेयरमा महिला उम्मेदवार नभएपनि अन्य ठाउँमा राखेर महिला सहभागितलाई बढाइने काँग्रेस जिल्ला सचिव योगी बताउँछन्।  

उनको बुझाईमा मेयर र उपमेयरका लागि आत्मविश्वासी महिला उम्मेदवार छैनन्।

योगीले भने, 'प्रमुख र उपप्रमुखमा महिलालाई नउठाउने भन्ने होइन। तर महिलामा म उम्मेदवार बन्छु भन्ने खालको आत्म विश्सास छैन। त्यसैले यस पदमा नउठाए पनि अन्य पदमा उम्मेदवार धेरै बनाइन्छ।' 

गठबन्धन भइरहँदा महिला समावेशीता नहुने हो कि भन्ने चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ।

यसअघि दाङमा भएका एक अन्तरक्रियामा महिलाहरुले आफुहरुलाई दोस्रो दर्जाका रुपमा नहेर्न राजनीतिक पार्टीहरुलाई आग्रह गरेका थिए।

तर यहाँ दुई उपमहानगरमा गठबन्धन दलहरुले प्रमुख उपप्रमुखमा महिला उम्मेदवार नै बनाउन सकेनन्।

प्रकाशित मिति: : 2022-04-23 21:41:00

प्रतिकृया दिनुहोस्