दलबलसहित त्रिपुरासुन्दरीकाे मेयरमा माओवादीबाट विष्टले दर्ता गराए पहिलो उम्मेदवारी

त्रिपुरासुन्दरी नगरपालिकामा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन्।

सयौँ नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिकामा पुगेर नेता विष्टले उम्मेदवारी दर्ता गराएका हुन्।

शनिबार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेका विष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए।

नेता विष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल विक, केन्द्रीय सदस्य काली चलाउने, प्रदेशसभा सदस्य बिरबहादुर शाहीलगायतले स्वागत गरेका हुन्।

प्रवेश कार्यक्रममा बोल्दै नेता विष्टले कांग्रेस सामान्तवाद र पुँजीपति वर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गरे।

लामो समय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठुलो त्याग, तपस्या, बलिदान, संघर्ष गर्दै आएपनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उनले बताए।

नेता विष्ट जनमत भएका प्रभावसाली नेताको रुपमा परिचित छन्। पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोगेका विष्ट विगत २९ बर्ष देखि काङग्रेसको राजनीतिमा सक्रिय भूमिका खेल्दै आएका थिए।

विस २०५२ सालमा कांग्रेसबाट पार्टी सभापतिसमेत भएका थिए। विष्टका सन्तान छैनन्। विष्टकी श्रीमती दिलमाया विष्टले पनि महिला संघ जिल्ला अध्यक्षबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेकी छन्।

नेता कार्यकर्ताको दवाव भएकाले उम्मेदवारी दिनुका साथै आफ्नो जित सुनिश्चित भएको विष्टले दाबी गरे।

प्रकाशित मिति: : 2022-04-24 16:22:00

प्रतिकृया दिनुहोस्