विवेकशील साझाले घोषणा गर्‍याे विराटनगर र भरतपुर महानगरपालिकाको उम्मेदवार

विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ।

भरतपुरको उपमेयरमा भने पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ। विवेकशील साझाको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो।

विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन्।

कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुद सम्बद्ध सङ्घसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्।

भरतपुरका मेयर उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन्। उनी ‘तातो भात अभियान’का योजनाकारमध्येका एक हुन्, जुन अभियान अन्तर्गत भरतपुरमा कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरूलाई २८ दिनसम्म निरन्तर निःशुल्क खाना खुवाइएको थियो।

त्यसै गरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धी कार्यक्रममा संलग्न हुँदै आएकी छन्। 

प्रकाशित मिति: : 2022-04-24 18:10:00

प्रतिकृया दिनुहोस्