नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंग्याएका छन्।
कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। तीन नगरपालिका भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक गठबन्धन दलका अरु पार्टीको भागमा परेकोले उसले त्यहाँं उम्मेदर उठाएन।
भक्तपुरका चार नगरपालिकामध्ये मध्यपुर थिमीको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भएको थियो।
यता, एमालेले मध्यपुर थिमीमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख दिने टुंगाएको छ। सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रवीन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बीना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुख उठाउने टुंगो लगाएको हो।
मदनसुन्दर मध्यपुर थिमीका विजयी प्रमुख हुन् भने वासुदेव सूर्यविनायक नगरपालिकाका विजयी प्रमुख हुन्। बीना चाँंगुनारायण नगरपालिकाका विजयी उपप्रमुख हुन्। उनीहरु सबैले निर्वाचनका लागि राजीनामा दिइसकेका छन्।