झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन्।
सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन्। कमल गाउँपालिकामा मात्र चार दलीय गठबन्धन बनेको छ भने अन्य स्थानीय तहमा गठबन्धन हुन सकेको छैन।
नेकपा एसले झापाका अधिकांश स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष आफ्नै पार्टीको उम्मेदवार उठाएको छ। ‘ठूलाले पेल्न खोजे। त्यही कारण हामीले आफ्नै उम्मेदवार उठाएका हौं,’ नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मीले भने, ‘हामी आफ्नै उम्मेदवारबाट हाम्रो मत संकलन गर्छौं।’
कांग्रेस र माओवादीको दम्भका कारण गठबन्धन कायम रहन नसकेको जसपाका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले बताए। प्रदेशभर गठबन्धन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
‘शक्ति गठबन्धनसहित सहअस्तित्वको गठबन्धन हुनुपर्ने हो। तर, ठूला भनाउँदा दलले पेल्न खोजे,’ उनले भने, ‘प्रदेशभर स्थानीय आवश्यकताअनुसार मात्र गठबन्धन भएको छ।’
झापामा कमल गाउँपालिकामा भने चार दलीय सत्ता गठबन्धन भएको छ। जिल्ला भरका अन्य स्थानीय तहमा भने कांग्रेस–माओवादी गठबन्धन भएको छ। दमकमा कांग्रेस र माओवादीले राप्रपासँग तालमेल गरेका छन्।
जिल्लभर माओवादीले कुनै स्थानीय तहमा प्रमुख पाएन। उसले जिल्लका अधिकांश स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षमा चित्त बुझायो।
कांग्रेस–माओवादीले अधिकांश स्थानीय तहमा सिट बाँडफाँट सके पनि चार पालिकामा भने आपसमा प्रतिस्पर्धा हुने भएको छ।
झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कनकाई नगरपालिका र कचनकवल गाउँपालिकामा साझा उम्मेदवार उठाउन कांग्रेस–माओवादी चुकेका छन्। शिवसताक्षी–१ र बाह्रदशी–१ मा समेत साझा उम्मेदवार खडा हुन नसकेर आपसी प्रतिस्पर्धा हुने भएको छ।