माओवादीले छोड्दापनि प्रतिष्पर्धा गर्न पुनको उम्मेदवारी

 देशभर गठबन्धन गर्नेक्रममा रोल्पामा पनि सत्तारूढ दलहरूबीच गठबन्धन गर्ने बारे छलफल भएको थियो।

जिल्लामा छलफलका क्रममा कुरा नमिलेपछि प्रदेशस्तरमा दलहरूबीच भएको छलफलमा रोल्पाका तीनवटा गाउँपालिका कांग्रेसलाई दिन माओवादी तयार थियो। तर कांग्रेसले त्यसमा चित्त नबुझाएपछि एक्ला एक्लै चुनाव लड्ने निष्कर्षमा माओवादी र कांग्रेस पुगेका हुन्।

जिल्लाका अन्य स्थानीय तहमा माओवादी बाहेक अन्य दलसँग तालमेल गर्न कांग्रेस तयार भएपनि माओवादीले छोड्न खोजेको रून्टीगढी र गंगादेवमा भने अन्य दलसँग पनि तालमेल हुन सकेन्। त्यसमा पनि कांग्रेसले निश्चित रूपमा जित्ने दावी गरेको गाउँपालिका हो रून्टीगढी। उक्त गाउँपालिको अध्यक्षमा कांग्रेसबाट जनक पुनले उम्मेदवारी दिएका छन्। उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूसहित पूरै एकल प्यानलका साथ पुनले उत्साहित हुदै उम्मेदवारी दिएका छन्।

गाउँपालिकाको पार्टी सभापति समेत रहेका पुनले धेरै आकांक्षीहरूकाबीच पार्टीका नेताहरूको मन जितेर टिकट पाएका हुन्। अघिल्लो निर्वाचनमा कडा प्रतिष्पर्धाकाबीच एमालेले जितेको रून्टीगढीमा यसपटक पनि त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ।

कांग्रेस, माओवादी र एमालेबीच थोरै–थोरै मात्र मतान्तर रहेको रून्टीगढीमा यस पटक भने आफूले फराकिलो मतान्तरका साथ विजयी हासिल गर्ने पुनको विश्वस छ। पार्टीको सभापति हुँदा गाउँपालिकाको बस्ती–बस्तीमा पुगेर जनताको पीर मर्का बुझेकाले पनि यस पटक आफ्नो जीत सुनिश्चित भएको पुनले बताएका छन्।

‘मैले विगत ५ वर्षमा गरेको मेहेनत नै मेरो जीतको आधार हुन्,’ पुनले भने, ‘म रून्टीगढीवासीको लागि रातदिन खटेको छु, यसका आधारमा जनताले फैसला गर्ने कुरामा कुनै शंका छैन्।’ रून्टीगढीका जनताका समस्या बुझ्न काठमाण्डौंको इँटाभट्टादेखि, दाङका गल्ली–गल्लीमा पुगेको पुनको भनाई छ।

प्रकाशित मिति: : 2022-04-25 21:35:00

प्रतिकृया दिनुहोस्