उम्मेदवारको भीडमा नुतनको रौनक !

स्थानीय निर्वाचन नजिकिँदै जाँदा यसको पारो पनि त्यत्तिकै चढ्दो छ। उम्मेदवारी दिने क्रम सकिएको छ। अब जे जस्ता व्यक्ति भएपनि यिनै उम्मेदवारमध्येबाटै सही उम्मेदवार छान्ने विकल्प जनतालाई छ। उम्मेदवारको भीडमा नुतन राई किराँत एउटा विकल्प हुन्।

उनी पहिलो पटक चुनाव लड्दै छैनन्, फरक यति हो यसअघि उनी व्यापारी–व्यवसायीका हितमा चुनाव लडे, अब सिंगो वडाबासीको हितमा। उर्लाबारी उद्योग वाणिज्य संघमा लोकप्रिय मत ल्याएर सदस्य पद जितेका नुतनलाई आफ्नै वडाबासीको मत जित्ने हुटहुटी छ।

भन्छन्,‘म जनताको सेवक बनेर शिक्षा, स्वास्थ्य, विपन्न वर्गको जीवनस्तर सुधार्ने काममा सक्रिय हुन चाहन्छु।’

नाम मात्र युनिक नभइ यिनको सोच, उद्देश्य, जोश–जाँगर र केही गर्ने अठोट पनि युनिक प्रकृतिकै छ। यस्तो खास विशेषताकै कारण यिनको लक्ष्यले मूर्तरूप पाउन असम्भव पनि छैन। त्यसको लागि चाहिन्छ केवल अठोट, कटिबद्धता र उद्देश्यमाथिको सकारात्मक धारणा। यस्तै प्रतिबद्धता र जुझारूपन अनि आत्मविश्वासका साथ उर्लाबारी ४ मा वडा सदस्य उम्मेदवारका रुपमा उत्रिएका छन् नुतन राई।

नुतन भन्छन्,‘यसअघिका जनप्रतिनिधिहरूले आज मैले उठाएका कुराहरू गरिदिनुभएको भए म आउनै पर्दैनथ्यो। उहाँहरूमा इच्छाशक्ति र इमानदारी भएको भए त्यो पूरा गर्नपनि सक्नुहुन्थ्यो। जनता साथमा हुनुहुन्थ्यो, बजेट थियो र काम गर्ने ठाउँ थियो। तर उहाँहरूले भिजन र इमानदारिता देखाउन सक्नुभएन।’

तर्क र स्पष्ट भिजन राख्न सक्ने क्षमताका धनी नुतनको युवा पुस्तामाझ देखिएको क्रेज लोभलाग्दो छ। नेपाली राजनीतिले नयाँ अनुहार, संलग्नता र उपस्थिति खोजिरहेको अहिलेको अवस्थामा मतदाताका लागि नुतन राई उत्तम छनौट हुनसक्छन्।

उनको संकल्प छ,‘विकास कार्यलाई पारदर्शी र निष्पक्ष तुल्याउन र पार्टीको संरक्षणमा हुने भ्रष्टाचार अन्त्य गराउन मेरो पहलकदमी हुनेछ।’

नुतनको योजना गरिबीको रेखामूनि रहेका व्यक्ति र समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने, आवास कार्यक्रम सञ्चालन गरी बासस्थानको व्यवस्था गर्ने, सुकुम्बासीलाई व्यवस्थित गर्न पहलकदमी गर्ने, सडक सञ्जालको बिस्तार गर्ने लगायतका योजना रहेको बताए। नुतनले गाउँपालिकाको सदस्यमा विजयी भए सबैभन्दा पहिले शिक्षाका समस्या समाधानमा लाग्ने बताए। चेतनाको अभावका कारण बाल मजदुर बढेको, प्राथमिक विद्यालयमा पनि सबैको पहुँच नभएको उल्लेख गर्दै उनले सबै बालबालिकाले पढ्न पाउने व्यवस्था मिलाउने बताए। उनले बाल मजदुरको संख्यालाई शून्यमा झार्ने बताए।

स्थानीय स्तरको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका नुतन नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा सदस्य पदका उम्मेदवार हुन्। एक दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएका उम्दा व्यवसायी राई उर्लाबारीबासी माझ चीरपरिचित छन्। वर्षौदेखी पर्शु किराँत ट्राभल्स एण्ड टुर्स प्रा.लि सञ्चालन गर्दै आएका युवा व्यवसायी राईको सदस्यमा उम्मेदवारी आएसँगै उनको चर्चा चुलिएको हो। युवा उम्मेदवार भएकाले पनि राईको सदस्य पदमा चर्चा चुलिएको हो। सामाजिक सञ्जाल, चोक, चिया पसल जताततै राई एक सम्भावना बोकेको युवा भएकाले उनले जित्नैपर्ने भन्दै चर्चा गर्न थालिएको छ।

२०४८ साल मंसिर १५ गते भोजपुरको पौवादुङ्मा ५ मा जन्मिएका राई केही गर्छु भन्ने उदेश्य बोकेर २०६५ सालमा उर्लाबारी बसाइँ सरेर आए। सुरुमा उनले पर्शु किराँत ट्राभल्समा कर्मचारी भएर काम गरे।

राईको लगनशिलताले नै गर्दा २०६८ सालमा आफैँ सो ट्राभल्स खरिद गर्न सफल भए। त्यसपछि राईको व्यवसायिक सफलता सुरु भयो। ट्राभल्समा सेवा आउने जो कोही निराश भएर फर्किनु पर्दैन। राईले जसरी हुन्छ आफ्ना ग्राहकलाई अहिलेसम्म खुसी राख्न सफल भएका छन्। राई सामाजिक क्षेत्रमा बढी सक्रिय छन्। किराँत राई यायोक्खा उर्लाबारीको नगर कोषाध्यक्ष, मिरा राई फाण्डेशनको संयोजक, सानो दुङ्माली किराँत राई सेवा समाजको सचिव, परिवर्तन युवा क्लब उर्लाबारीको सल्लाहकार लगायतका सामाजिक संघसंस्थामा समेत काम गरिरहेका छन्।

वडा सदस्यमा निर्वाचित भएर जोश जाँगरका साथ काम गर्ने बताउँदै उनले वैशाख ३० गतेको निर्वाचनमा आफूलाई कलम चिन्हमा मतदान गरी विजयी गराउन सम्पूर्ण ४ नम्बर वडाका मतदातामा आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-04-27 16:15:00

प्रतिकृया दिनुहोस्