मजदुर नेता खड्का भन्छन् : म जित्नकै लागि चुनावमा उठेको हुँ

सर्वहारा श्रमजीवी वर्गको पहुँच नीति निर्माण तहसम्म पुर्‍याउने अभिभारा बोकेर रामबहादुर खड्का चुनावी मैदानमा होमिएका छन्।

उर्लाबारी– ५ निवासी खड्का लामो समयदेखि निर्माण व्यवसायीका रुपमा परिचित छन्। उनी आफै पनि श्रमिक हुन्। मिस्त्री पेशाबाटै जीविकोपार्जन गर्दै आएका उनी तमाम श्रमजीवी वर्गको उत्थानमा अविचलित लागिपरेका छन्। आसन्न स्थानीय तह निवार्चनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उर्लाबारी– ५ मा वडाध्यक्षको प्रत्यासी रहेका खड्काले शोषित, पीडित वर्गको आवाज मुखरित गर्न आफू उम्मेदवार बनेको बताए।

‘मोरङको दोस्रो ठूलो सहरका रुपमा परिचित भएपनि आधारभुत जनताका जीवनस्तर उस्तै छ। खासगरी वडा नम्बर ५ का बासिन्दाको आर्थिकस्तर उकास्न रोजगारका लागि अवसरहरु कृषि, व्यापार र उद्योग प्रर्वधन जरुरी छ। यहाँ अलमलमा परेका यस्ता धेरै अवसर छन्। ती अवसरको सदुपयोगको वातावरण बनाउने नेतृत्व मबाट मात्र संभव छ,’ खड्काले भने।

उनले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेअनुसार वडाका गरीब, सुकुमम्बासीको संरक्षणका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाइने छ।

निर्माण तथा कृषि मजदुरलाई तालिम तथा स्वरोजगारको व्यवस्था पहिलो प्राथमिकतामा राखेका छन्। उर्लाबारी ५ नम्बर वडा, बढ्दो जनघनत्व भएको वडा हो। भवन निर्माण एकपछि अर्को गरी बनेका छन्। पानीको उपयुक्त निकास नहुँदा यहाँका बासिन्दाले वर्षेनी डुबानको चर्को सास्ती व्यहोर्नु परेको छ। ढल निकासको समस्यालाई निराकरण गर्न लागिपर्ने खड्का बताउछन्।

उर्लाबारी– ५ मा लाग्दै आएको साप्ताहिक शुक्रबारे हाटको व्यवस्थापनमा ध्यान दिनेपनि उनले बताए। एक घर एक रोजगारको न्युनतम खाका तयार पारेर बेरोजगारी घटाउने वातावरण बनाउने पनि खडकाले प्रण गरे।

‘यो नै ५ नम्बर वडाबासीको जीवनस्तर उकास्ने योजना हो। यी योजना कार्यान्वयनमा ल्याउन युवा वर्ग परिचालन गर्न सक्ने क्षमता ममा छ,’ खड्काले भने,‘जसका लागि नगरबासीको जनमत मैले प्राप्त गर्नै पर्ने छ।’

जनताले तपाईंलाई पत्याउलान् त ? भन्ने प्रश्नमा खड्का भन्छन्,‘अवश्यै पत्याउने छन् किनकी म परिवर्तनको लडाइँमा तीन दशक यता सक्रिय रुपमा लागि रहेको छु। नगरबासीको हितका लागि मैले राजनीतिक कार्यकर्ता भएर नि:स्वार्थ रुपमा जनताका अधिकार र चाहना समेटेर काम गरिरहेको छु। जनसेवाका लागि सेवाको एउटा पाटो राजनीति थियो त्यस कार्यमा म विचलित भइनँ अनि स्थानीय जनताको चेतना विस्तार र अधिकारका लागि निरन्तर काम गरेको हुँदा उर्लाबारी– ५ का बासिन्दाले पत्याउने विश्वास छ। राजनीति बाहेक कुनै अन्य बाटो नहेरेको मैले सायद वडाको नेतृत्व पाउने छु।’

चुनावचिन्ह हलोमा अमुल्य मत दिई आफूलाई जिताउन आग्रह गर्दै खड्काले भने,‘मेरो उम्मेदवारी जनपक्षीय भएर आएकाले अनुमोदन हुने विश्वास छु।’

प्रकाशित मिति: : 2022-04-28 14:24:00

प्रतिकृया दिनुहोस्