बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए।
बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उनको भनाइ छ। स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँ–ठाउँमा बागी उम्मेदवारी परेको छ।
११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ।
उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो। तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ।
आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो।