जनकपुरधाम उपमहानगरपालिका १५ जनाको उम्मेदवारी फिर्ता 

file photo
file photo

जनकपुरधाम उपमहनगरपालिकामा २ स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन्। त्यसैगरि, उपमेयरमा विश्वनाथ साह सुडिले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

मेयरका दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपनि प्रमुख दलहरुको चुनावी समीकरणमा कुनै प्रभाव नपर्ने जानकारहरुको भनाइ छ। उम्मेदवारी फिर्ता लिएका दुवै जनाको कुनै खास पार्टीसँग लगाव नभएकोले पनि त्यसको प्रत्यक्ष प्रभाव कुनै दलका उम्मेदवारलाई नपर्ने देखिन्छ। 

जनकपुरधाममा सत्तारुढ गठबन्धनले जसपाका लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएका छन्। सत्तारुढ गठबन्धन दलका काँग्रेसबाट जनकपुर नगरसभापति मनोज साहले बागि भई उम्मेदवारी दिएका छन्। मनोज साह काँग्रेस पार्टी परित्याग गरि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित जसपालाई जनकपुरको नेतृत्व गर्न दिएको भन्दै उनी काँग्रेस परित्याग गरेका थिए। 

कांग्रेसले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै आम कांग्रेसी समर्थन आफूलाई रहेको मनोज साहले दाबी गर्दै आएको छ। यस्तोमा मनोज साहले उम्मेदवारी फिर्ता नलिएपछि त्यसको प्रभाव सत्तारुढ गठबन्धनमा पर्ने निश्चत छ।

त्यसैगरि, सत्तारुढ गठबन्धन दलले भागबन्डामा जनकपुरधामको उपमेयरमा कांग्रेसका किशोरी साहलाई उम्मेदवार बनाएको छ। त्यस कांग्रेसबाट निर्मल चौधरीले उपमेयरमा उम्मेदवारी दिएका छन्।

चौधरीलाई उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि उनी उम्मेदवारी फिर्ता गरेका छैनन्। चौधरी बिहीबार साँझ कांग्रेस परित्यागको घोषणा गरेका थिए।

 मारवाडी समाजका चौधरी लामो समयदेखि कांग्रेसका सक्रिय रहेका थिए। यस्तोमा उनी बागी भएपछि सत्तारुढ गठबन्धन चुनावी अभियानमा प्रभाव पर्ने निश्चत देखिन्छ। 

नेकपा एमालेबाट पनि मेयर र उपमेयरमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैन। एमालेले मेयरमा शिवशंकर साह हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएका छन्।

लामो समयदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहेका रामकेवल साहले मेयर र उमेश चौधरी उपमेयरमा बागि उम्मेदवारी दिएका छन्।

पार्टीक शीर्ष नेताहरुले यी दुवैलाई उम्मेदवारी फिर्ता गराउन खासै पहल गर्न सकेनन् । एमालेका मेयरका उम्मेदवार हिराले एमालेको दुवै जना बागी लामो समयदेखि पार्टीमा निष्क्रिय  रहेकाले उनीहरुको उम्मेदवारीले आफूहरुलाई खासै प्रभाव नपर्ने दाबी गरेका छन्।

त्यसैगरि, लोसपा परित्याग गरि केहि दिन अघि मेयरको टिकट पाउन आशमा एमालेमा प्रवेश गरेका जनकपुर ७ का निर्वतमान वडाध्यक्ष जानकी राम साह टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। तर टिकटकै लागि आएका साहले टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि नेकपा एमालेको चुनावी अभियानमा कुनै फरक नपार्ने हिराको दाबी छ। तर जानकी राम साहले भने आफुलाई एमालेको साथै लोकतान्त्रिक समाजवादी पार्टीका अधिकांश कार्यकर्ताहरुको सर्मथन रहेको दाबी गरेका छन्।

त्यस्तोमा जानकी राम साह एमाले र लोसपा दुवै पार्टीका उम्मेदवारलाई प्रभाव पार्न सक्ने सम्भावना रहने स्थानीय नेताहरु बताउँछन्। 

प्रकाशित मिति: : 2022-04-29 20:45:00

प्रतिकृया दिनुहोस्