यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा स्थानीयस्तरमा चुनावी माहाेल पनि निकै तातेकाे छ। राजनीतिक दलका नेता-कार्यकर्ताहरू आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका छन्। दलहरूले सामाजिक सञ्जालमा पनि चुनावी प्रचारप्रसारलाई उत्तिकै तीव्र पारेका छन्।
सधैँजसाे सुनसान हुने गाउँ–घरमा विभिन्न राजनीतिक दलका नाराहरू घन्किरहेका छन्। सहरमा रहेका मानिसहरू भाेट हाल्न गाउँ फर्किएका छन् भने गाउँका कार्यकर्ताहरू पनि मतदाताकाे घरदैलाेमा पुगेर आफ्ना उम्मेदवारहरूकाे गुणगान गर्दै शिर निहुराएर भाेट माग्न तल्लीन छन्।
पाँच वर्षसम्म जनताकाे अनुहार देख्दा ‘घाेसेमुन्टाे’ लगाउनेहरू यतिबेला भाेटका लागि हात जाेड्ने मात्रै हाेइन, खुट्टासमेत ढाेग्न पछाडि परेका छैनन्। आफ्ना उम्मेदवारलाई पाँचवर्षसम्म स्थानीय सरकारकाे कुर्सीमा आसन गराउनकाे लागि नेता/कार्यकर्ताले यति त गर्नै पर्याे। तर, यही भीडमा कानुनकाे धज्जी उडाउँदै शिक्षकहरू पनि पार्टीकाे झण्डा उचाल्दै विभिन्न पार्टीका नाममा ‘जिन्दावाद र मुर्दावाद’ भन्दै हिँडेकाे पाइएकाे छ।
अर्घाखाँचीकाे मालारानी–४ का शिक्षकहरू शिक्षा नियमावलीकाे उल्लंघन गर्दै पार्टीकाे कार्यक्रममा सहभागी भइरहेकाे स्थानीयले गुनासाे गरेका छन्। स्थानीयकाअनुसार विशेष गरी यहाँ एमाले निकटका शिक्षकहरू उग्र रूपमै पार्टीका कार्यक्रममा सहभागी छन्।
केही दिनअघि चुनावी अभियानमा एमालेकाे झण्डा बाेकेर खनस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक सूर्यकुमार खनाल सहभागी भएकाे तस्बिरले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाएकाे छ। विद्यालय गएर विद्यार्थीहरूलाई उपदेश दिनुपर्नेमा खनाल यसरी ‘जिन्दावाद र मुर्दावाद’ भन्दै हिँडेकाे भन्दै चाैतर्फी आलाेचना भएकाे छ। त्यसाे त उनी सामाजिक सञ्जालमा पनि पार्टीकाे पक्षमा खुलेरै लागेका छन्।
पाँच जना पदाधिकारी रहेकाे यहाँकाे एमाले वडा कमिटीमा तीन जना त शिक्षक नै छन्। एमालले प्रत्यक्ष रूपमा शिक्षकलाई पार्टीमा सहभागी गराएर शिक्षण प्रणालीमा असर पुग्ने भन्दै आलाेचना भएपनि पार्टीले कुनै कदम चालेकाे छैन।
कालिका माध्यमिक विद्यालयका शिक्षक मणिराम खनाल र उमा खड्का तथा किरण माध्यमिक विद्यालय शिक्षक घनश्याम पाेख्रेलले हाल यहाँकाे वडा कमिटीका विभिन्न पदमा रहेर प्रत्यक्ष रूपमा राजनीतिक गतिविधि गरिहेका छन्। उनीहरू पनि चुनावी कार्यक्रममा सहभागी छन्।
त्यस्तै यहाँ सक्रिय पार्टी नेपाली काँग्रेस र माओवादी केन्द्रमा आवद्ध शिक्षकहरू पनि राजनीतिक गतिविधिमा सक्रिय छन्। राजनीतिक दलहरूले सभ्य समाज बनाउने भन्दै हिँडे पनि ऐन/कानुन मिचेर समाज भड्काउन खाेजेकाे स्थानीय बताउँछन्।
कानूनी रूपमा शिक्षकहरूले दलगत राजनीतिमा सक्रिय हुन नपाइने भने पनि यहाँ शिक्षकहरू चुनावी कार्यक्रममा सहभागी हुँदा पठनपाठनमा समस्या भएकाे अभिभावकहरू बताउँछन्।
त्यस्तै केही शिक्षकहरू त मतदाताकाे घर–घरमा पुगेर भाेटका लागि विभिन्न प्रलाेभनमा पार्ने गरेकाे स्थानीयले बताएका छन्। यसरी नेताहरू विपक्षी पार्टीकाे घरमा गएर कुरा गर्दा हल्ला हुने र माहाेल बिगर्ने भएकाले राजनीतिक दलहरूले शिक्षकलाई हतियारका रूपमा प्रयाेग गरेका छन्।