‘खर्चिलो र भड्किलो चुनावी प्रचारलाई शून्य बनाएका छौं’

‘स्वतन्त्र उम्मेदवार’ चुडामणि वली (आदर्श)ले स्थानीय तह निर्वाचनको प्रचारसँगै आफ्नाे पक्षमा चुनावी माहाेल तताइरहेका छन्। उनी माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनकाे गृहजिल्ला राेल्पास्थित गंगादेवका लागि ‘स्वतन्त्र उम्मेदवार’ हुन्।

अध्यक्ष पदका लागि उम्मेदवारी दिएका वलीले ‘पुतली’ चुनाव चिन्ह पाएका छन्। उनी आजभोलि प्रचारप्रसारमै केन्द्रीत छन्। युवा र किसानसँगै टोलटोलमा भेटिन्छन्। आफूलाई भोट माग्छन्। स्कुल, अस्पताल, खानेपानी, बाटो-घाटो, पुल-पुलेसा, मठ-मन्दिरको चर्चा गर्छन्।

स्वतन्त्र उम्मेदवार वली चुनावी मेदानमा बलिया छन्। सबैले रूचाउँछन् र मान्छन्। उनको पनि यत्ति अपेक्षा छ– सबै मतदाताले मताधिकार प्रयोग गर्ने क्रममा आफूलाई नै जिताउने छन्।

उम्मेदवार वली नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता–कार्यकर्तासँगै हिँडिरहेका छन्। गाउँतिर प्रचार अभियानमा भेटिन्छन्, ‘एमाले–कांग्रेस–माओवादी’का कार्यकर्ता।

गंगादेव गाउँपालिकाको अध्यक्षका उम्मेदवार उनै वलीसँग बिएल नेपाली सेवाका लागि मन्दिरा अधिकारीले गरेको कुराकानी:

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?

सर्वहारावर्गको स्तरबाट चुनावको तयारी गरिरहेका छौं। खर्चिलो र भड्किलो चुनावी प्रचारप्रसारलाई शून्य बनाएका छौं। हाम्रा कार्यकर्ता र जनता स्वयम् बिनाखर्च हिँडेरै गाउँघरमा पुग्नुभएको छ।

चुनावमा देखिने विभिन्न खाले विकृतिलाई रोक्ने र पैसा बिनै चुनाव लड्ने सुन्दर संस्कृति स्थापित गर्दैछौं। जसले गर्दा सक्षम नेतृत्व सरकार तथा सत्तामा पुग्ने वातावरण सिर्जना गरेका छौँ। भड्किलो र खर्चिलो चुनावले चुनिएको नेतृत्वलाई ऋणमा डुबाउने र सत्तामा पुगेपछि ऋणबाट उक्सिन उक्त विजेता उम्मेदवार भ्रष्टाचारतिर उन्मुख हुने नेपाली राजनीतिक संस्कारको अन्त्य गर्नेगरी नमुना चुनावी तयारी गरिरहेका छौँ।

चुनाव जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

अन्य दलहरू चुनाव जित्न हरेक हत्कण्डा प्रयोग गरेर आफ्ना संगठनलाई हतियारको रूपमा प्रयोग गर्छन्। त्यो उनीहरूका लागि सहि होला, तर जनताले भ्रष्टचारमुक्त स्थानीय तह खोजिरहेका छन्। त्यसकारण अन्य दलहरू भ्रष्टाचार निर्मूलीकरणको मुद्दाभन्दा धेरै टाढा छन्, अर्कोकुरा उनीहरूले चाहेर पनि भ्रष्टाचार निर्मूल गर्न सक्दैनन्। किनकि, त्यही जगमा उनीहरू हुर्किरहेका छन् तर मेरो हकमा म भ्रष्टाचारदेखि निकै टाढा छु। मलाई अर्थतन्त्रप्रति कुनै लाेभ पनि छैन।

एकदिन मरेर जाने हो, जाँदा कमाएको अकुत सम्पत्ति लिएर जाने पनि होइन। त्यसैले मलाई धनसम्पत्तिको कुनै लाेभ छैन। तपाईंलाई पनि थाहा छ, भ्रष्टाचारको मूल स्रोत धनसम्पत्तिमाथिको लोभ, लालच हो। म योदेखि धेरै टाढा छु, त्यसकारण मैले भ्रष्टाचारलाई रोक्न सक्छु भन्ने आत्मबल सतप्रतिशत बोकेको छु।

त्यसैले भ्रष्टाचारदेखि आजित भएका जनताले कुनै पार्टी नचुनेर यसपालि मलाई भोट अवश्य हाल्छन्। आम जनसमुदायलाई राम्रोसंग थाहा छ कि स्थानीय तहमा हुने भ्रष्टचारले हरेक क्षेत्रमा असर पुर्याएको छ। विकासको अवरोध पनि यसैले गरेको छ। त्यसकारण म चुनावमा विजयी हुन्छु।

तपाईंको भावी योजनाहरू के–के छन् ?

मैले धेरै भारी योजनाहरू ल्याएको छैन। म बेतुकका सपना बाँड्ने पक्षमा पनि छैन। अहिले मसँग दुई वटा योजना छन्, पहिलो भ्रष्टाचारमुक्त स्थानीय तह र दोस्रो सुशासनयुक्त व्यवस्था हुन्। मैले युद्ध लड्दै गर्दा देख्ने–गरेको जनसत्ताको अभ्यास स्थानीय तहमा लागू गर्न चहान्छु।

वास्ताबमै जनताहरू सरकारप्रति निकै बितृष्ण छन्, तीव्र असन्तुष्टि छन्। त्यसको कारण अपुरो विकास मात्रै होइन, यो त सहायक हो। खासमा जनतासँग नजिकको सहाकार्य नै मुख्य हो। भौतिक चिजले मात्रै जनता खुसी हुन सक्दैनन्। हाम्रो आचरण, व्यवहार, उनीहरूप्रतिको सौहार्दता र दुख-सुखमा सहकार्य गर्नसके जनता र सरकारबीचको सम्बन्ध नजिक रहनेछ र जनता खुसी हुनेछन्। बाँकी भौतिक विकासको कुरा मेरो सामर्थ्यले भ्याएसम्म गर्नेछु, त्यो जनतालाई राम्रोसँग थाहा छ।

चुनाव जित्ने आधार के के छन् ? 

मैले अघि नै भनिसके मैले जित्ने आधार भनेको भ्रष्टाचारमुक्त र सुशासनयुक्त स्थानीय तह बनाउने हो। यो समस्या राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय समस्या पनि हो। यो समस्या हल गर्न जो कसैले सक्दैनन्, लोभीपापी नहुनेले मात्रै सक्छन् र म अवश्य सक्छु।

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

अहिलेसम्म निकै सकारात्मक पाएको छु। म हरेक बस्ती, टोल र घरघर पुगेको छु। अझै पुग्ने कोसिस गरिरहेको छु। राजनीतिक जीवनमा म कहिल्यै पनि व्यक्तिगत स्वार्थमा लिप्त भइनँ। मैले यस अघि पनि धेरै अवसरहरू त्यागेँ। यसपालि आम-समुदाय, इष्टमित्र, अन्य राजनीतिक दलका साथीभाइहरूले चुनावमा बोलाएरै आएको हुँ। त्यसकारण पनि मसंग भेट हुनुहुने मतदाताहरू निकै उत्साहित भएको पाउँछु। कुनै राजनीतिक आग्रह-पूर्वाहग्रह पाएको छैन र म जित्छु भन्ने सतप्रतिशत आत्मविश्वास लिएको छु।

अन्त्यमा, तपाईंको क्षेत्रका जनताहरूलाई के भन्न चाहनुहुन्छ ?

आदरणीय जनसमुदायलाई यत्ति भन्न चाहान्छु, हाम्रो समाज बन्न नसक्नुको एउटै कारण राज्यको सम्पतिमाथि वैधानिक तथा अवैधानिक भ्रष्टाचार हुनुले हो। राज्यको बजेट सहि ढंगले परिचालन गर्न नसक्नु हो। उत्पादनमा आत्मनिर्भर प्रणालीलाई दुरदृष्टि राख्न नसक्नु हो। त्यसैले सोच विचार गरी सहि जनप्रतिनिधिहरू चुन्नुहोस्। म गलत छु वा सत्य छु भन्ने कुरा छुट्याएर मलाई भोट गर्नुहोस्। यदि म गलत छु भने मलाई पनि भोट नगर्नुहोस्।

प्रकाशित मिति: : 2022-05-03 20:38:00

प्रतिकृया दिनुहोस्