धेरै बोल्नुभन्दा पनि अवसर पाएपछि गरेर देखाउँछु : बाजी सिं खड्का

Breaknlinks
Breaknlinks

जनताकाे अपेक्षा पूर्ति गर्न मेरो उम्मेदवारी हो : बाजी सिं खड्का

यस पटक डोटी जिल्लामा नेपाली कांग्रेसले जिल्लास्थित दिपायल सिलगढी नगरपालिका प्रमुखका लागि बाजी सिं खड्का (विजय) लाई उम्मेदवार बनाएको छ। गठबन्धन नभई आ-आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूमध्ये सबैभन्दा बलिया देखिएका उम्मेदवार पनि हुन्, खड्का।

उनी २०७४ को निर्वाचमा पार्टीभित्रकै किचोलोका कारण थोरै मतले नेकपा एमालेसँग पराजित भएका थिए। खड्का नेपाली कांग्रेस डोटीका वर्तमान जिल्ला उपसभापति पनि हुन्। निकै नै शालिन, भद्र र मिजासिला स्वभावका खड्का जिल्लामा जुझारु र लोकप्रिय युवा नेताका रुपमा पनि चिनिन्छन्।

बिएल नेपाली सेवाले जिल्लाकै पुरानो नगरपालिकाको रुपमा चिनिने दिपायल सिलगढी नगरपालिकाको मेयरका उम्मेदवार बनेका खड्कासँग विस्तृत कुराकानी गरेको छ। प्रस्तुत छ, खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसले तपाईंलाई पुनः दोश्रो पटक दिपायल शिलगढी नगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेको छ। यसपटक कस्तो अनुभव भइरहेको छ?

मैले केही थप अनुभव बटुल्ने मौका पाएको छु। अघिल्लो चुनावमा जुन त्रुटिहरू थिए, तिनलाई सच्याएर अगाडि बढिरहेको छु। एक चोटी असफल हुँदा अर्को चोटी सफलताका उपाय बढी प्राप्त हुने रहेछन् भन्ने ठूलो अनुभव बटुलेको छु।

तपाईं आध्यात्मिक सोचको मान्छे भाग्यवादमा कत्तिको विश्वास गर्नुहुन्छ?

कर्मवादले बनाउने हो भाग्यलाई। कर्मले भाग्य निर्माण गर्ने हो। कहिलेकाहीँ संयोगबस त्यस्ता अस्वाभाविक अप्रत्यासित रिजल्टहरू पनि प्राप्त हुने गर्छन्। तिनको पछाडि पनि केही न केही शक्तिले, कहिलेकाहीँ केही न केही क्रियाकलापले काम गरिरहेको हुन्छ। वर्तमान भन्नु नै पूर्वका केही क्रियाकलापको एउटा रिजल्ट पनि हो, त्यतिबेला मान्छेलाई अस्वाभाविक लागेतापनि त्यसको पछाडि कुनै न कुनै क्रियाको प्रभाव नै रहन्छ।

टिकट त पाउनुभयो, तर चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ?

साच्चिकै जनताले मूल्याङ्कन गर्छन् होला भन्नेमा म विश्वस्त छु। यो पाली निश्चित नै कांग्रेसको उम्मेदवारको जित हुन्छ। मेरो जित हुन्छ भन्ने कुरामा म कन्फिडेन्ट छु। किन छु भनेर भन्दा एकातिर त्यस्तो मान्छेलाई हामीले २०७४ को स्थानीय निर्वाचनमा हरायौं भन्ने कैयौंलाई एउटा गिल्टि फिल भइराछ। अर्कोतिर म आफैंले आफ्नो कुरा माथि गर्नु त्यति उचित होइन। तर पनि तुलनात्मक रुपमा राजनीतिमा अन्य दलका मेरा प्रत्यासी साथीहरू भन्दा म सक्षम नै हुँ भन्ने दावी छ।

योभन्दा अगाडि पनि त सबैले तपाईंलाई सक्षम नै ठानेका थिए हैन र?

कतिपय प्राविधिक कुराहरूले पनि काम गर्दो रहेछ। कतिपय यस्ता किसिमका कुरा छन्। यस्ता विषय छन्, जो हामीसँग चुनाव लड्ने सबै पर्याप्त इलिमेन्टसहरू इकुमेन्टसहरू नहुने हुनसक्छ। त्यसको अभावले कहिलेकाहीँ चुनाव हारिँदोरहेछ। अझै गरिब मुलुक, गरिब क्षेत्र, गरिब बस्तीमा पैसाको पनि प्रभाव हुँदो रहेछ। अब यहाँ करोडौंको खेल खेल्न साथीहरू तयार छन्।

हामी त साँझ-बिहान कार्यकर्ता, साथीभाइसँग हिँड्दा सामान्य खाना-खाजा खाएर घरदैलो गरिरहेका छौं। प्रचारप्रसारका क्रममा सामान्य खाना- खाजा त खान पाउनु पर्यो। तर यहाँ त पकेट भर्ने काम पनि हुन्छ। यो किसिमको मनसाय बनाएर उम्मेदवारहरू पैसाको चलखेल गर्ने तरखर गरिरहेका पनि मैले देखेको छु।

सायद यसपटक पैसाले काम गर्दैन होला। जनचेतना बढेको छ। मतदाता सचेत छन्। यसरी हामी एक/दुई हजारमा बिक्यौं भने भोलि हाम्रो विकास हुँदो रहेनछ भन्ने कुरा जनतालाई आभास भइसकेको छ। बुझिसकेका छन्। त्यसैले पनि यो पाली पैसाले त्यति ठुलो काम गरिहाल्ला जस्तो मलाई लाग्दैन। गत चुनावमा पनि मैले सामान्य रुपले मितव्ययी बनेर नै आफ्नो प्रचारप्रसार गरेको थिएँ। त्यो कुरा जनताले बुझेका छन्।

सधैं यसरी पैसाकै चलखेल हुने हो भने इमानदार, कर्तव्यनिष्ठ, केही गर्छु भन्नेहरूले के राजनीतिबाट पलायन हुनुपर्ने अवस्था आइसकेको हो ?

कम पैसा भएका मान्छेहरू चुपचाप लागेर सहने हो भने त पलायन हुनुपर्ने पनि अवस्था हुनसक्छ। तर पैसाले सबै कुरा गर्दैन। इमानदारिताको झल्को, अनुशासनको झल्को जनतालाई दिनसक्यो भने जनताले त्यसको मूल्याङ्कन गर्छन्।

तपाईंको उम्मेदवारी के का लागि?

मलाई के विश्वास छ भने जो बाल अवस्थाको गणतन्त्र नेपालमा स्थापना भएको छ, अहिले यो बयस्क भइसकेको छैन। यो बलियो भइसकेको छैन। यसलाई जनताका अधिकार, जनतासँग जोडिएका विकासका क्रियाकलापहरूलाई हामीले सशक्त रुपले अगाडि बढाएर लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि पनि एउटा कुशल नेतृत्वको आवश्यकता छ। गणतन्त्र स्थापना भइसकेपछि सबै तहमा जनताले जुन अपेक्षा गरेका थिए, त्यो अपेक्षा पूर्ति गर्नका लागि र जनतालाई यो व्यवस्था राम्रो हो भन्ने कुरा महसुस गराउनका लागि पनि मेरो उम्मेदवारी हो।

भेगीय नारा पनि सुनिन्छन् नि, यो के हो? सिलगढीका मान्छेलाई तल्लो भेगकाले जित्दा नगरपालिकाको कार्यालय नै दिपायल सार्ने हुन् भन्ने हल्ला फैलिाएको छ बजारमा। यसमा तपाईंको भनाई के छ?

यो क्षुद्र सोच हो। क्षुद्र मान्छेले व्यक्त गर्ने अभिव्यक्ति हो। सिलगढी बजार केवल सिलगढीका दाजुभाइको मात्रै सिलगढी हैन, यो डोटीको सदरमुकाम हो। डोटीको एउटा स्वाभिमान हो। युको सुन्दरता बढ्यो भने डोटेलीको शिर ठाडो हुन्छ, यसमा दुईमत छैन। दिपायल सिलगढी भनेको ५/१० किमि तलमाथिको कुरा हो। यो हामीले दिपायल सिलगढी तल्लो भेक माथिल्लो भेग जो कुरा नेता हुने मान्छे वा नेताका सहयोगीले यस्ता अभिव्यक्त गर्छन् भने यो संकिर्ण सोचबाहेक अरु केही होइन।

सिलगढी हाम्रो स्वाभिमान हो। मैले यसरी बुझेको छु। सिलगढी रहेका कुनै पनि कार्यालय दिपायल लैजानुको कुनै अर्थ छैन। त्यो सम्भव पनि छैन। त्यहाँ पनि जनताहरू छन्। म नगरको कांग्रेसको उम्मेदवार हुँ, त्यहाँ कांग्रेसीहरू पनि छन्। अरु दललाई समर्थन गर्नेहरू पनि बस्छन्। जनताहरू छन्, त्यहाँ पनि। यो तलमाथिको कुरै हुन सक्दैन।

यदि तलको मान्छेले जित्दा नगरपालिकाको कार्यालय दिपायल ल्याउँथ्यो भने २०४९ सालमा दिपायल निवासी घनश्यामदत्त पाठक नेपाली कांग्रेसको तर्फबाट विजयी हुनु भएको हो, उहाँले नै त्यो भवन खडा गर्नुभएको हो। यदि तलको मान्छेले तल नगरपालिकाको कार्यालय ल्याउँथ्यो भने २०४९ सालमा नै घनश्यामदत्त पाठकले दिपायलमा कार्यालय ल्याउनुहुन्थ्यो। त्यतिबेला पनि कांग्रेसको बुझाई के थियो भने सदरमुकाम सिलगढीलाई हामीले उपेक्षा गर्नुहुँदैन। त्यो हाम्रो शान हो, गौरव हौ। त्यसलाई नै हामीले प्राथमिकतामा राख्नु पर्दछ। यो किसिमको कांग्रेसकै सोच छैन। म त व्यक्ति हुँ। एउटा पात्र हुँ कांग्रेसभित्रको।

सिलगढी निन्याउरो हुँदा, सिलगढी सेलाएको देख्दा हामी बुझ्ने मान्छेलाई दुःख लागेको छ। भएका संरचना तल ल्याउने त कुरै भएन। बरु डोटेली सभ्यता, संस्कृति, इतिहास झल्काउने संग्रहालयलगायत केही नयाँ संरचना थप्ने सोचमा छौं। कांग्रेसको नेतृत्वले सिलगढीलाई फेरि पुनर्जिवित गर्ने लक्ष्य लिएको छ। यो कुरामा शङ्का नगर्न म सबैलाई आग्रह गर्दछु।

पार्टीले पछिल्लो समय धेरै जसो ठाउँमा युवालाई स्थान दिएको छ, यसलाई कसरी हेर्नु भएको छ?

यो यौटा शानको कुरा हो, गौरबको कुरा हो पार्टीको लागि। रगतबखतमा धेरै दौडधुप पनि गर्न सकिन्छ। विचारले पनि युवाहरू अगाडि छन्। अहिलेको मिडियासँग टच छ। सबैसँग नजिक पुगेर दौडधुप गर्न सक्ने भनेका युवा नै हुन्। र, युवाले पनि अनुशासित भएर इमानदारिताका साथ बाल लोकतन्त्रलाई बलियो बनाउने उद्देश्य लिएर अघि बढ्नुपर्छ। राजनीतिको अर्थ जनतालाई माथि उठाउने हो। एक छाक खानेलाई दुई छाक खाने बनाउने हो। एकसरो लाउनेलाई दोस्रो लुगा लगाउने बनाउने हो। अशिक्षितलाई शिक्षित, अस्वस्थलाई स्वस्थ बनाउने हो। पवित्र लक्ष्यका साथ हामीले हिँडेको खण्डमा राजनीति पनि अर्थपूर्ण हुन्छ। युवाको जुन सशक्त उपस्थिति छ, त्यसले युवाले नै गर्दा रहेछन्, देश बनाउँदा रहेछन् भन्ने हिसावले युवाहरू परिचित हुने अवसर पनि हो यो।

विद्यार्थी जीवनदेखि लामो समय कांग्रेसको राजनीतिमा सक्रिय भएर लाग्नुभयो। उमेरगत हिसाबले युवा भए पनि बौद्धिक हिसाबले निकै परिपक्व हुनुहुन्छ। तपाईं जत्तिको नेताले सांसदमा उठ्नुपर्ने, किन मेयरमा उठ्नुभएको भनेर कसैले सोधिहाल्दा के जवाफ दिनुहुन्छ?

२० वर्षसम्म स्थानीय निर्वाचन हुन सकेन। कांगेसका नेता-कार्यकर्ताहरू पंक्तिबद्ध हिसाबले उपस्थित छन्। मभन्दा विज्ञ नेताज्युहरू पनि हुनुहुन्छ। अग्रज दाजुहरू पनि हुनुहुन्छ। म मिडियम क्लासमा पर्छु जस्तो लाग्छ। म सँगसँगै पनि एउटा लाइन खडा छ, मभन्दा पछाडि पनि एउटा लाइन खडा छ। पदीय हिसाबले कुरा गर्ने हो भने पद सिमित छन्। र मैले धेरै ठुलो महत्वाकांक्षा पाल्नुभन्दा पनि ‘दिपायल सिलगढी नगरपालिका’ डोटीको केन्द्रबिन्दु हो भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। यसैलाई सशक्त ढंगले अगाडि बढाएर यहाँका जनताको जीवनस्तरलाई केही हदसम्म परिवर्तन गर्न सकेर, यहाँको शैक्षिक स्वास्थ्य, सडक बाटाघाट सिँचाई खानेपानीका कुराहरू विद्युतका कुराहरू र मेलमिलापको कुरालाई मैले अभियानको रुपमा लगेर यहाँका जनतालाई दिनुपर्ने राहत दिएर केही विकास गरेको छ भन्ने अनुभूति दिलाउन सकेको खण्डमा भोलि मेरो अगाडिको बाटो खुल्ला छ।

सबैको सहमति सहकार्यबाट राजनीतिलाई अगाडि बढाउन सक्छु भन्ने मलाई अदम्य शाहस छ र त्यही तरिकाले म हिँडिरहेको छु। अहिले यत्तिको जिम्मेवारी पाउनु मेरा लागि ठिकै हुन्छ। दिपायल सिलगढी जस्तो एउटा पुरानो नगरपालिकालाई मैले सही किसिमले लिडिङ गर्न सकेको खण्डमा, जनताको इच्छा अनुरुप मैले चलाउन सकेको खण्डमा, लोकतान्त्रिकको आधारभूत सिद्धान्तको आधारमा नगरपालिकाभित्र आफ्ना प्रजातान्त्रिक क्रियाकलापहरूलाई सञ्चालन गर्न सकेको खण्डमा मेरो अगाडिको राजनीतिक यात्रा सुखद रहन्छ भन्ने मलाई विश्वास छ।

कुनै समयमा तपाईं कान्तिपुर दैनिकको जिल्ला संवाददाता हुनुहुन्थ्यो। पत्रकारिता छोडेर एकाएक राजनीतिमा हामफाल्न के ले प्रेरित गर्यो?

मलाई राजनीतिमा प्रेरित गर्ने एउटा स्राेत पत्रकारिता पनि हो। पत्रकारिताबाट जीवनको नयाँ आयाम सुरु हुँदो रहेछ। पत्रकारिताबाट जुन अनुभव हुँदो रहेछ, त्यसले जीवनलाई ब्राउट किसिमले हेर्दो रहेछ भन्ने कुरा मैले अढाइ वर्ष पत्रकारिता गरेपनि मिठो अनुभव लिएको छु। पत्रकारितामा मात्रै सिमित रहेर मैले जीवनको लक्ष्य भेट्दिनँ कि ठानेर त्यसलाई ब्रेक गरेको हुँ। त्यो क्षेत्रलाई मेरो चासो र सम्मान हृदयदेखि नै छ। त्यो सम्मानित क्षेत्र पनि हो। त्यसले मलाई छोटो समयमा अलि फरक खालको तरङ्गित गर्ने अनुभव दियो।

हामी यो पृथ्वीमा छोटो समयको पाहुना हौं। छोटो समयको पाहुना हुँ भन्ने कुरा मनन गरेरै मैले आफ्नो सोचलाई पनि परिवर्तन गरेँ। एकातिर अहिले देशमा राजनीतिप्रति वितृष्णा आएको कटुसत्य हो। अर्कोतिर सबै नीतिको माउनीति राजनीति भएको कारण राजनीति गर्ने लिडरले आफूलाई अनुशासित, इमानदारिताका साथ अगाडि बढाएको खण्डमा राजनीतिले धेरै कुराको नेतृत्व गर्दछ। त्यही राजनीतिक क्षेत्रबाट देश र समाजका लागि केही राम्रो काम गरेर जीवन सार्थक तुल्याउन सकिन्छ कि भन्ने सोचले नै यो क्षेत्रमा पाइला टेकेको हुँ।

दिपायल सिलगढी नगरपालिकाले तपाईंको नेतृत्व पाउँदा के नयाँ हुन्छ त?

यस्तै किसिमको यही ढर्राको राजनीति गरेर कामै छैन। जुन किसिमको हिजो पञ्चायती शैलीको राजनीति थियो। बहुदल आएपछिको राजनैतिक शैली पनि त्यस्तै बन्न गयो। अहिले गणतन्त्र स्थापना भइसकेपछिको राजनीतिको कार्यशैलीमा पनि धेरै फरक केही देखिएन। कार्यशैलीमा फरक नदेखिदाखेरी गणतन्त्रप्रति केही मान्छेहरूमा वितृष्णा आएको छ, असन्तुष्टि छाएको छ। यो असुन्तुष्टि र वितृष्णालाई हटाउन सकेको खण्डमा एकातिर गणतन्त्र बलियो हुनेछ, अर्कोतिर हामीले गरेको राजनीति अर्थपूर्ण हुनेछ। यसका लागि जनताको जीवनस्तर नै उठाउनु अति आवश्यक छ।

शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रको जग बलियो बनाई सडक बाटाघाटा, खानेपानी, विद्युत वितरणदेखि कृषिका कुराहरूलाई हामीले अभियानका रुपमा लग्नुपर्ने हुन्छ। एकातिर जनचेतना जगाउँदै साधन स्राेत जुटाउने, अर्कोतिर हामीले सशक्त अनुगमनको पाटोलाई आत्मसात गरी वडावडामा लागु गर्न सकेको खण्डमा जनताको जीवनस्तरमा पक्कै परिवर्तन आउँछ।

यसका लागि विभिन्न क्षेत्रका विज्ञहरूबाट सरसल्लाह लिएर उहाँहरूको बौद्धिकतालाई सदुपयोग गरेर जल, जमिन, जंगल जुनसुकै क्षेत्रमा होस् त्यो साधन, स्राेत, शक्ति र डोटेली ताकत सबैलाई एकीकृत गरेर जाने लक्ष्य लिएका छौं। प्रगति गर्ने ताकत हामीसँगै निहित छ भन्ने कुरामा मलाई विश्वास छ। त्यसैले मैले दुई/चारवटा कुरा पक्कै पनि नयाँ दिन्छु। अहिले धेरै बोल्नुभन्दा पनि अवसर पाएपछि भोलि गरेर देखाउछु।

प्रकाशित मिति: : 2022-05-06 22:10:00

प्रतिकृया दिनुहोस्