काँग्रेसलाई शक्तिशाली बनाउन राजीनामा दिएकाे हुँ, साथीहरू विचलित नहुनुहाेला : विष्णु मुस्कान (अन्तर्वार्ता)

कमल विक

सन्धिखर्क
Breaknlinks
Breaknlinks

अर्घाखाँचीमा स्थानीय तह निर्वाचनमा आफ्नाे पार्टी र सत्ता गठबन्धनले चुनाव हारेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पदबाट राजीनामा दिएका छन्। २०७४ सालमा जितेका स्थानीय तहमा पनि पराजय भएपछि उनले नैतिकताकाे आधारमा राजीनामा दिएकाे बताएका छन्।

साे पदबाट राजीनामा दिएपछि अब मुस्कानले के गर्लान त ? के हाेला अब उनकाे राजनीतिक भविष्य ? लगायतका विषयमा गरिएकाे टेलिफाेन कुराकानी प्रस्तुत छ:-


तपाईंले किन राजीनामा दिनुभयाे ?

०७४ सालको स्थानीय तह निर्वाचामा जुन बेला एमाले शक्तिशाली थियो, त्यस्तो बेला पनि मैले अत्यन्तै मिहेनतका साथ ६ पालिकामध्ये ५ वटामा जिताएको हुँ। अहिले भने पार्टीले सबैतिर हार्ने भयो। त्यसैले एउटा नैतिकताका हिसाबले मैले पदबाट राजीनामा गरेको हुँ। तर, मैले आफ्नो व्यक्तिगत लाभावको लागि वा पार्टीलाई अप्ठारोमा पार्नको लागि राजीनामा दिएको होइन। त्यसैले मैले साथीहरुलाई नआत्तिनको लागि अनुरोध गर्दछु। मैले अब काँग्रेसलाई नयाँ सोचका साथ अगाडि लैजाने योजना बनाएको छु।

चुनाव हार्दैमा राजीनामा दिइहाल्नुपर्ने, काँग्रेसको नेतृत्व यति धेरै कमजोर छ ?

नाई, राजीनामाको अर्थ काँग्रेसलाई अप्ठारो पार्ने मनाशाय होइन। अब एउटा जिम्मेवारी बहन गर्दै हिजो जितेको ठाउँमा आज चुनाव जित्न सकेनौँ, यसको समीक्षा पनि हामीले गरौँला, मैले नैतिकताका आधारमा राजीनामा गरेको हुँ, यसको मतलब फेरि काँग्रेस पार्टीलाई असहयोग गर्ने भन्ने होइन। बरु हामी समीक्षा गरे नयाँ तरिकाले अगाडि बढ्छौँ। हाम्रो कमजोरी कहाँ भयो ? के–के सुधार गर्नुपर्छ ? सबै कुरो विश्लेषण गरेर अब अर्घाखाँचीको काँग्रेस जिरोबाट अगाडि बढ्छ, त्यसको तयारी हामीले थालिसेको छौँ। कमजाेर भएर राजीनामा दिएकाे हाेइन।

तपाईंले आफ्नो सोच र विचारले राजीनामा दिएको हो कि कार्यकर्ताको प्रेसर खप्न नसकेर ?

कुनै कार्यकर्ताले मलाई यो विषयमा केही भन्नु भएको छैन। मैले आफ्नौ दृष्टिकोणले राजीनामा गरेको हुँ।

अर्घाखाँचीमा सत्ता गठबन्धन हार्नुको मुख्य कारण के होला वा कसकाे कमजाेरी हाेला जस्ताे लाग्छ ?

मैले त जिम्मेवारीको हिसाबले राजीनामा गरेको हो। त्यसमा मेरो कहाँ–कहाँ योगदान छ भन्ने कुरा त मेरा कार्यकर्ता र अरु साथीहरु पनि बुझ्नु भएको होला। २०७४ सालको स्थानीय तह निर्वाचन अगाडि अर्घाखाँचीमा काँग्रेस कस्तो अवस्थमा थियो र मैले कसरी त्यो स्थानमा ल्याएँ भन्ने कुरा पनि इतिहासमा दर्ज भएकै छ। अहिले पनि हामी कहाँ चुकियो, नेताको कमजोरी कहाँ रह्यो ? कार्यकर्तालको कमजोरी कहाँ भयो ? यसको पनि समीक्षा होला तर एउटा लोकतान्त्रिक पार्टी र लोकतान्त्रिक पद्धतिमा यसको जिम्मेवारी लिनुपर्छ भन्ने मनाशायका साथ मैले राजीनामा दिएको हो। मेरो राजीनामाबाट मेरा कार्यकर्ताहरू बिचल्लित नुहुन म अनुरोध गर्न चाहन्छु। अब पार्टीलाई झन बलियो बनाउने गरी म अगाडि बढछु।

मेरो प्रश्न के भने, गठबन्धन हार्नुमा के कुराको कमजोरी भयो भन्ने हो ?

यसको त अब समीक्षा होला। यसमा सबैतिर बाट सोच्न जरुरी छ। निर्वाचनको सबै परिणाम आएको छैन, परिणाम आएपछि गठबन्धनको पनि समीक्षा होला, पार्टीले पनि समीक्षा गर्ला। तर, सबैले यसको जिम्मेवारी दिनुपर्छ जिम्मेवारीबाट भाग्नु हुँदैन भनेर म जिम्मेवारीबाट मुक्त हुन खोजेको हुँ।

यो राजीनामापछि अब तपाईं के गर्नुहुन्छ ?

मैले मेरो जीवन लाेकतन्त्रको लागि, गणतन्त्रको लागि र जनताको लागि नै खर्चिएको छु। र,  त्यो अभियानमा म निरन्तर लाग्छु, काँग्रेस पार्टीमा मेरो ठूलो योगदान छ। मैले राजीनामा दिँदै गर्दा आम जनतामा र कार्यकर्तामा म भन्न चाहन्छु, म विगतमा भन्दा अझै सक्रिय भएर पार्टीलाई पुरानो अवस्थामा फर्काउनको लागि मेरो भूमिका रहन्छ। अब म सिङ्गो पार्टी पङ्क्ति र जनताको माझमा जान्छु र पार्टीलाई पुनर्ताजकी बनाएर आगामी चुनावमा पार्टीलाई जिताउने गरी काम गर्छु।

तपाईंले राजीनामा दिएपछि तपाईं मातहतका अरु नेताहरुले पनि राजीनामा दिनुहोला ?

साथीहरुको कुरा के छ मैले बुझ्न पाएको छैन। मलाई लाग्छ अरु साथीहरुले पनि गम्भीर भएर सोच्न जरुरी छ। अरु साथीहरुले पनि यो क्षतिको जिम्मेवारी लिनुपर्छ।

के अब गठबन्धका अरु नेताहरुले पनि राजीनामा गर्नुपर्ला ?

त्यो त उहाँहरुको कुरा भयो। तर, अहिलै अर्घाखाँचीमा आत्तिहाल्नु पर्ने अवस्था छैन, धैर्य हुनुहोस्। आ–आफ्नो कमजारीको समीक्षा गर्नुहोस्। नयाँ योजना बनाउनुहोस् भन्ने मेरो सुझाव छ।

कार्यकर्ता र काँग्रेसलाई भोट दिने जनतालाई के भन्न चाहनुहुन्छ ?

गठबन्धन कतिपय ठाउँमा प्रभावकारी बन्न सकेन। असान्दर्भिक निर्णय भयाे कि, हतारमा गठबन्धन गरियो कि, सबै कुरामा गहिराइमा पुग्न सकिएन कि भन्ने कुरालाई म समीक्षा गर्न चाहन्छु। अहिले आत्तिहाल्नु अवस्था कैत पनि छैन। अब समीक्षा गरेर सिंगो अर्घाखाँचीलाई र लोकतान्त्रिक आन्दोलनलाई कसरी अगाडि लिएर जाने तथा संगठनलाई कसरी अगाडि बढाउने भन्नेबारे बृहत् छलफल गछौँ। म पनि काँग्रेसलाई थप बलियो बनाएउनको लागि फरक तरिकाले काम गर्ने छु। सबै पार्टी साथीहरुलाई एकताबद्ध बनाएर म अगाडि बढ्छु। हामीलाई म दिनुहुने सबैलाई धन्यवाद छ, आगामी दिनमा तपाईकाे मतकाे कदर हुनेछ।

प्रकाशित मिति: : 2022-05-16 09:56:00

प्रतिकृया दिनुहोस्