राष्ट्रिय संस्कृतिका अभियन्ता

हेमन्त विवश

काठमाडौं
Breaknlinks
Breaknlinks

धर्म, संस्कृति, दर्शन र इतिहासका क्षेत्रमा विज्ञका रुपमा चिरपरिचित नाम हो, डा.जगमान गुरुङ्ग। नयाँ संरचनाअनुसार कास्कीको मादी गाउँपालिका– ३ याङ्जाकोट निवासी उनको पुर्खौली घर साविकको लमजुङ्ग जिल्लामा पर्दथ्यो।

आजभन्दा ७५ वर्षअघि कास्कीको मौजालामडाँडास्थित मामाघरमा जन्मेका गुरुङ्गलाई ६ महिना पुगेपछि पास्नी गर्न घर लग्नुपर्ने भएछ। लिनलाई घरबाट मान्छे पठाइएछ। घर लैजादै गर्दा मादी किनारमा एकछिन बिश्राम गर्न पुगेकी आमाले उनलाई भुँइमा राखिछन्। जहाँ क्षणभरमै उनी बामे सर्न लागेको देखिछन्। आमाले त्यतिखेरै भनेकी थिइन रे–‘थातथलोमा आउन थालेपछि बामे सर्न थाल्यो क्यार।’

उनी दुई वर्षको हुँदा मावली गाउँमा सप्ताह लगाइएको थियो। गोरो उज्यालो सुन्दर नयाँ बालक देखेपछि पण्डितले सेल देखाउँदै लोभ्याएर नजिक्याए। नजिक पुगेपछि च्याप्प पाखुरो समातेर काखमा लिए। भनिन्छ, मूल पण्डितले वाचन गर्दा बस्ने चौकामा कर्ताले समेत छुन मिल्दैन। उनलाई दुई वर्षकै उमेरमा वाचकीले चौकामा बसेर काखमा लिए। जुन घटनालाई उनी भगवान् श्रीकृष्णले दिएको वरदान भनी ठान्दछन्। हिजोआज ज्ञानका हिसावले उनीसामु सबै वाचकहरू तर्कसङ्गत उभिने हिम्मत गर्न सकिरहेका हुन्न।

उनलाई बुवाले घरमै कखरा सिकाए। अनि गाउँकै बाहुन गुरुसँग तमसुक लेख्न र दुर्गाकवच पढ्न सिके। उनले जीवनमा पहिलोपल्ट पढेको  पुस्तक नै दुर्गाकवच थियो। पछि पोखराबाट उनका बुवाले दुर्गाकवच किनेर ल्याई पढ्न सिकाउनु भयो।

२०१२ सालमा प्रत्येक गुरुङ्ग र मगर गाउँमा भारतीय वइलफेयर कम्पनीले स्कुल खोल्यो। २०१३ सालमा उनी कक्षा एकमा भर्ना भएर एबिसिडि पढ्न थाले। यसरी औपचारिक शिक्षा सुरु गरेका गुरुङ्गले विद्यावारिधिसम्मको अध्ययन गरेर संस्कृतिविद्का रुपमा चिनिए। जो हाल नेपाल प्रज्ञा प्रतिष्ठानमा उपकुलपति छन्। सानैदेखि लेखपढमा रुचि राख्ने डा.गुरुङ्ग त्रिबिका सेवानिवृत्त सहप्राध्यापक हुन्।

अध्ययन अनुसन्धानमा निकै नै रुचि राख्ने उनले ६० वर्षको उमेरमा पश्चिम नेपालका गुरुङ्गहरूमा प्रचलित चिनियाँ तिब्बती ज्योतिषशास्त्र विषयमा विद्यावारिधि गरे। आफ्नो जीवनमा धेरैजसो पुस्तकले प्रभाव पारेको कुरा बताउने डा.गुरुङ्ग राष्ट्रिय संस्कृतिका अभियन्ता नै मानिन्छन्। समय कम हुँदा होस् वा यात्रा गर्दा नै किन नहोस् मुनामदन, बसाइँ, सबै जातको फूलवारी, मैले देखेको नेपाल, कौतुकमय डोल्पो जस्ता पुस्तकहरू अध्ययन गर्न सल्लाह सुझाव पनि दिन्छन्।

अनुसन्धानका साथै अध्ययन अध्यापनको पनि लामो अनुभव छ, उनीसँग। उनकाअनुसार विगतको तुलनामा शिक्षक विद्यार्थीहरूमा पठन संस्कृतिमा निकै नै ह्रास आइसकेको छ। उनी बताउँछन्,‘अहिलेका विद्यार्थी पढ्दै पढ्दैनन्। शिक्षकले पनि केही जानेकै छैन्। केवल सतही ज्ञानका भरमा फाइफुट्टि लगाइरहेको छ अहिलेको पुस्ता।’

गहिराइमै गएर देशका बिभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूको महत्व बुझ्न  स्कन्द पुराण, हिमवत पुराण, निगमागम वैज्ञानिक सार, काम कला रहस्यजस्ता ग्रन्थहरूको अध्ययन गर्नु आवश्यक ठान्दछन्, उनी। ‘धर्म, संस्कृति र परम्पराका हिसावले नेपाल समृद्धमुलुक हो। यहाँ भूगोलको मात्रै कुरा गर्दा रुखो हुन्छ। त्यसैले हामीले उक्त भूगोलभित्रका हाम्रा संस्कृति मूल्यमान्यतालाई समेत उजागार गर्न सक्नुपर्छ,’ उनी आफ्ना विचार व्यक्त गर्दछन्।

उनकाअनुसार जीवनमा सबैभन्दा ठूलो कुरा कही छ भने त्यो इमानदारिता नै हो। मान्छेमा इमानदारिता हुनुपर्छ। जुन कुरालाई हरेक क्षेत्रमा उत्तिकै आवश्यक मानिन्छ। उनी मान्छेले नजानेको कुरा जानेको छैन भन्न र त्यसका बारेमा थप अध्ययन अनुसन्धान गर्न हिचकिचाउनु हुँदैन भन्ने मान्नेता राख्छन्। जीवनमा धर्म, संस्कृति, दर्शन, आध्यात्म, इतिहास र भूगोलको ज्ञान हुनु जरुरी ठान्ने गुरुङ्गले नेपालमा पर्यटकीय सम्भाव्यता बोकेका थुप्रै ठाउँ देखेका छन्। हामीले तिनको प्रचारप्रसार र ब्रान्डिङ्ग गर्न सकेका छैनाैँ। 

धर्म, संस्कृति र पर्यटन एकअर्काका पर्यायवाची ठान्ने उनी यी कुराहरू समेटेर पुस्तक लेखिनु पर्नेमा समेत जोड दिन्छन्। उनी बताउँछन्,‘पर्यटकलाई माथिमाथिको विषय पढाउने हो। जानकारी मात्र दिने हो। चासो राख्ने पर्यटक छन् भने गुह्य कुरा पनि पढाउनुपर्ने हुन्छ, जसका लागि आफू अपडेट हुनुपर्ने हुन्छ। पछिल्लो समय टुँडालका रथाशनहरूको ब्याख्या गर्न सक्ने मान्छे नै छैनन्। यस्ता कतिपय विषय छन् जसको अध्ययन अनुसन्धान हुनु उत्तिकै आवश्यक देखिन्छ।’

पोखरामा त्रिभुवन विश्वविद्यालयको जागिरे जिन्दगी बिताइरहेका उनलाई सकरानन्द वैद्यले काठमाडौं जान सल्लाह दिएपछि वि.सं. २०३५ सालमा काठमाडौं आए। एशियाली अनुसन्धान केन्द्रमा डोरबहादुर बिष्टको सामिप्यमा रहे। बिष्टले एमए पढ्न प्रेरणा मात्र दिएनन्, अफिसमा हाजिर गरेर कीर्तिपुरमा पढ्न जाने सुविधासमेत दिलाए।

लामो समयसम्म नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि.वि., कीर्तिपुरमा अनुसन्धाता बनेका उनका इतिहास, संस्कृति, पुरातात्विक सम्पदाजस्ता विषयमा दर्जनौं लेखहरू र केही पुस्तकहरू प्रकाशित छन्। पछिल्लो समयमा कुनै गम्भीर विषयमा परामर्श गर्नु पर्‍यो भने संग्रहित पुराना पुस्तकहरू पल्टाउछँन्। रुचिकर कुनै नयाँ पुस्तक भेटाउँदा मात्र पढ्न थाल्छन्।

कुनै समय यात्रा गर्न तम्तयार हुने गुरुङ्ग पछिल्लो समय बेफुर्सदी बनेका छन्। अनि स्वास्थ्यले पनि त्यति साथ नदिँदा उकाली ओराली गर्न असजिलो ठान्छन्। तथापि, यातायातको सुविधा भएको ठाउँतिर बेलामौकामा पुगेकै हुन्छन्।

उनकाअनुसार पर्यटन भनेर हिमाल मात्र हेरिनु हुँदैन। नेपालमा प्रख्यात तीर्थस्थलहरू पनि छन्। पुरातात्विक सम्पदाहरू छन्। ऐतिहासिक स्थलहरूछन्। नेपालमा अहिले १३२ वटा समुदाय छन्। तिनको थातथलो अत्तोपत्तो छैन्। भारत चीनसँग युद्ध भएका, युद्ध जितेका स्वाभिमानका थातथलाहरू छन्। ती कोट गढीहरू उजागार हुनुपर्छ।

‘संस्कृति र पर्यटन क्षेत्रका अगुवाले यस्ता कुराको अध्ययन गर्न सके योजना तर्जुमा गर्न सजिलो हुन्छ। डा.हर्क गुरुङको ‘मैले देखेको नेपाल’ पुस्तक मात्र पढिदिए पनि धेरै हुन्थ्यो। पढ्दैनन्। अध्ययन अनुसन्धान नगरी कसरी थाहा हुन्छ ?, उनी प्रश्न गर्छन्।

एमएमा पढ्नेताका थुप्रै पुस्तक अध्ययन गरेका डा.गुरुङ्गसँग बजारमा भेटाउन नसकिने पुराना केही दुर्लभ मानिएका पुस्तकहरूसमेत संग्रहित छन्। जसमध्ये धनशमशेर जवराद्वारा लिखित ‘प्रवुद्ध सनातन रहस्य, निगमागम वैज्ञानिक सार र काम कला रहस्य’लगायत थुप्रै पुस्तकहरू छन्। जुन बेलाबखत सन्दर्भ सामग्रीका रुपमा प्रयोगमा आइरहेका छन्। यसरी आफैंमा राम्रा लेखकका साथै अब्बल अनुसन्धाता डा.गुरुङ्गले जीवनमा थुप्रै पुस्तकको अध्ययन गरिसकेका छन्।

२०३५ सालमा काठमाडौं आएका गुरुङ्गले काठमाडौंमा पशुपति पुराण, नेपाल महात्म्य, गण्डकी पुराण, बौद्ध धर्मकाे विकास, इतिहास जस्ता पुस्तक किने। ती पुस्तक अहिले पनि जतन साथ राखेको कुरा सुनाउँछन्, उनी। पछिल्लो समयमा स्पष्ट वक्ताका रुपमा देखा परेका र विद्वानको रुपमा चिनिएका गुरुङ्ग बताउँछन्,‘अहिले पनि कहिलेकाही पढ्छु। त्यहीबाट केही कुरा सिक्छु। दर्शनका क्षेत्रमा साङ्ख्य, योग, वेदान्त आदिको अध्ययन गरेँ। त्यसकै आधारमा अहिले केही कुरा राख्न सक्ने भएको छु।’

प्रकाशित मिति: : 2022-06-27 20:35:00

प्रतिकृया दिनुहोस्