अब तिम्रो लागि ठाउँ छैन...

Breaknlinks
Breaknlinks

‘सम्बन्ध टुट्नलाई कुनै ठुलो गल्ती हुनु नपर्ने रहेछ’ यो कुरा मैले उनीबाट सिकेको कुरा हो। उनीसँग मेरो कुरा हुन छाडेको थुप्रै समय भइसकेको थियो। एक दिन म विराटनगरस्थित मेरो कार्यालयमा बसिरहेको बेला अचानक उनको म्यासेज आयो।

अब किन पो बोल्नु जस्तो लागेर निकै समय उनको म्यासेजको रिप्लाई दिन मन लागेन। उनले धेरै म्यासेज पठाएपछि रिप्लाई दिएँ। त्यति बोल्न मन त मलाई लागेकै थिएन। तर पनि उनले नराम्रो सोच्लिन् भनेर मन नलागी नलागी बोलिदिएँ।

फेसबुकको च्याटमा हाम्रो उसैगरी संवाद हुन थाल्यो, पहिलाको जस्तै। संवादका क्रममा उनले भनेको एउटै कुराले मलाई नरम बनाइदियो। ‘मलाई अझै हजुरको कति धेरै माया लाग्छ, के भन्नु र।’ यो कुराले फेरि उनीप्रतिको मेरो दृष्टिकोण बदलियो।

उनले मलाई पुराना कुरा स्मरण गराएर आफूप्रति आकर्षित गराइन्। म पनि त्यही कुराको पछि लागेँ। पहिले जस्तै उनले मलाई सबै कुरा सेयर गर्न थालिन्। उसले पटकपटक एउटै कुरा दोहोर्याउँथिन्– मैले हजुरलाई जति त कस्सम आजसम्म कसैलाई पनि माया गरेको छैन। आई लभ यू सो मच!

म उनको विवशता बुझ्थेँ। मलाई थाहा छ मान्छेले जिन्दगी पाउने भनेको एक पटक मात्रै हो।

उनको जिन्दगीमा, उनको रहरमा, उनका सपनामा म कहिल्यै पनि हस्तक्षेप गर्न सक्दिनँ। तर अहिले उनी मसँग बोल्न छाडेकी छे। मैले के गलत गरेँ, आज पन्छियौ। त्यो मलाई थाहा भएन। तिमीलाई थाहा होला। के स्वार्थमा लाग्यौ तिमी।

अहिले यस्तो लाग्दै छ कि तिमीलाई धेरै माया, विश्वास, केयर गर्नु मेरो जीवनको सबैभन्दा ठुलो गल्ती रहेछ। यो लेख लेखिरहँदा मैले त्यो कुरा आज महसुस गरिरहेको छु। तिमीले जस्तो झुटाे प्रेम गर्न मैले कहिल्यै जानिनँ। म तिमीजस्तो स्वार्थवादी बन्दिनँ जीवनमा।

सुरुमा मलाई भावनामा बहकाउने तिमी नै त हो नि, होइन र? कुण्ठाले भरीएको तिम्रो प्रेम प्रस्तावलाई मैले केही नसोची स्वीकार गर्नु भुल रहेछ भन्ने आत्माबोध लागिरहेको छ। नलागोस् पनि कसरी। हाम्रो मायालाई तिमीले यति चाडैँ भुल्छौँ भनेर कसले पो सोचेको थियो र? आफ्नो स्वार्थका लागि तिमी मेरो जीवनमा प्रवेश गरेर भावनामाथि खेलवाड गर्यौ। तिमी यस्तो छौ होला भन्ने त म सोच्न पनि नसक्ने मान्छे। तर आज तिमीले नै पीडा र चोट दिएर गएकी छौँ। यो त म कहिल्यै बिर्सन सक्दिनँ कहिल्यै पनि।

मैले सुरु सुरुमा म्यासेजको रिप्लाई नदिँदा आफूले भनेको कुरा सम्झ त, के भनेकी थियौ। अहिले मेरो मनमा खेल्ने एउटै मात्र कुरा छ ‘संसारमा तिमीलाई प्रेम गर्नु नै मेरो ठुलो भुल हो।’ यो कुराले आफैँलाई आत्माबोध भइरहेको छ। नहोस् पनि कसरी, सपना देखाएर बीचमै भागेपछि।

तिमीलाई त मैले असाध्यै विश्वास गरेको थिएँ। त्यति विश्वास त आजसम्म कसैलाई गरेको छैन। ३/४ वर्षअघि हाम्रो प्रेममा लागेको ठेस मेटिन्छ लागेको थियो मलाई। झन पीडा थपेर गयौ।

अब मैले तिम्रो लागि मेरो जीवनमा ढोका बन्द गरिदिएको छु। तिम्रो प्रवेशलाई निषेध छ। अर्काको भावनासँग खेल्ने मान्छेलाई निषेध छ।

सायद तिमीले मेरो प्रेमलाई बुझिनौ वा बुझ्ने कोसिस नै गरेनौ। अब त्यो कुरा तिमी आफैँले बुझ। तिमीले दिएको पीडा मनभित्रै पिल्साउने कोसिस गर्दै छु। घातमाथि घात गर्नु तिम्रो पहिचान रहेछ।

अब त म तिमी बिना रमाइरहको छु। मेरो मन मस्तिष्कमा तिम्रो लागि ‘च्याप्टर क्लोज’ भएको छ।

आफ्नो असली परिचय दिएकोमा तिमीलाई ढिलै भए पनि धन्यवाद! असलीयत थाहा दिएकोमा मुरीमुरी धन्यवाद! मान्छे व्यवहारमा परेपछि मात्रै सबै कुरा बुझ्छ, थाहा पाउँछ। मैले पनि तिमीलाई चिन्ने मौका पाएँ।

तिम्रो माया देखेर म प्रष्ट भएको छु। तिम्रो जस्तो सोच भएका तिमी जस्ता केटी मान्छे स्वार्थी हुन्छन्। साथ छोडे सम्बन्ध त सकिएला तर माया र यादहरू कहिल्यै सकिँदैन।

अन्तमा विगतमा जे सुकै भए पनि तिम्रो अबको बाँकी जीवन खुशी रहोस्। मलाई जस्तो अरुलाई धोका नदिनु। तिमीलाई धेरै धेरै शुभकामना!

त्यसकारण मैले लभ नगर्ने निधो गरेँ !

प्रकाशित मिति: : 2022-07-13 19:00:00

प्रतिकृया दिनुहोस्