काेरियामा सिकेकाे कृषि अनुभव गाउँ–गाउँमा बाढ्दै ठगेन्द्र

Breaknlinks
Breaknlinks

मोरङकाे रतुवामाई-९ का ठगेन्द्र न्यौपाने राजधानीमा सानोतिनो व्यवसाय गर्दागर्दै दक्षिण कोरिया लागे। झण्डै पाँच वर्षकाे समय उनले उतै व्यतीत गरे। कोरियामा उनको मासिक तलब दुईदेखि तीन लाखसम्म थियो।

पाँच वर्षपछि नेपाल फर्किएर उनले युवाहरुलाई एकीकृत गरेर कृषि क्षेत्रमा परिवर्तन ल्याउनका लागि सामूहिक खेती सुरु गरे। ठगेन्द्रलाई नेपालको माटोमा कृषि क्रान्ति गर्ने हुटहुटी जागेको थियो।

नगरका युवाहरुलाई समेटेर रतुवामाई वैदेशिक रोजगार समन्वय समिति नामक संस्था स्थापना गरेर ठगेन्द्रले त्यसको नेतृव्व आफैँ गरिरहेका छन्। ऊर्जाशील उमेरमा विदेश होइन, स्वदेशमै केही गर्नुपर्छ भन्ने उनको मान्यता छ। ठगेन्द्र अहिले सफल कृषकका रूपमा परिचित हुँदै छन्।

अहिले आफ्नै गाउँघरमा, आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन्, न्यौपाने। व्यवस्थित र व्यावसायिक रुपमा कृषिमा लाग्न सकेमा स्वदेशमै राम्रो कमाउन सकिने उनको भनाइ छ।

विदेशमा बगाउने श्रम र पसिना देशमै बगाउन सके, केही कृषि उद्यम गर्न सके यहीँ धन कमाउन सकिने न्यौपानेको विश्वास छ। सुरुवाती दिनमा सामूहिक खेतीमा जोडिएका केही युवा अहिले अलग भएका छन्। देशको राजनीतिक वितृष्णाले युवाहरु एकीकृत हुन नसकेकोमा उनको दुखेसो छ।

वैदेशिक यात्रा

मध्यम वर्गीय परिवारमा जन्मिएका हुन्, न्यौपाने। उच्च शिक्षा हासिल गर्नका लागि उनी काठमाडौँ आएका थिए। काठमाडौँमा बसेर आर्थिक कठिनाइ खेपिरहेका उनलाई केही समयपछि विदेश जाने इच्छा जाग्यो। राजधानीमा सानोतिनो काम गर्दै कलेज पढ्दै गरेका उनलाई घरपरिवारसँग पैसा माग्न मन लाग्दैन थियो।

ठगेन्द्र सुनाउँछन्, ‘त्यतिबेला नेपाली कामदारहरुको कोरिया जाने लहर नै चलेको थियो। जीवनमा एक चोटी कोरिया जाने निष्कर्ष निकालेर इपिएस परीक्षाको तयारीमा जुटेँ।’

पाहिलो प्रयासमै उनले एपिएस पास गरे। उनको कोरिया जाने सपना पनि पूरा भयो। उनी कोरिया उडे। कोरियमा पाएको तलबबाट आफू सन्तुष्ट भएको उनी बताउँछन्। तलब राम्रो भए पनि कोरियाको माटो टेकेपछि आफ्नो देशको माटोको महत्व बढेर आयो। जेनतेन उनले उता पाँच वर्ष बिताए। कोरियामा हुँदै उनले नेपाल फर्किएर के गर्ने ? भन्नेबारे योजना बनाइसकेका थिए।

नगरका सम्रग युवाहरु कृषि अभियानमा जोडिनुपर्छ भनेर उनले कोरियामा छँदै सामाजिक सञ्जालका माध्यमबाट युवाहरुलाई समेटे। स्वदेश फर्केर आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने हेतुले उनले युवाहरुलाई एकपछि अर्को गर्दै समेट्दै गए।

रतुवामाई घर गएर विदेशिएका युवाहरुको उनले खोजी गर्दै गए। न्यौपानेको योजनासँग काम गर्न चाहनेहरु समावेश भए। फेसबुकको म्यासेन्जरकै च्याट बैठकबाट रतुवामाई वैदेशिक रोजगार समन्वय समिति स्थापना भयो। फेसबुकबाटै न्यौपाने र उनको समूहले आफ्ना गतिविधि र योजनाहरु प्रस्तुत गर्दै गए।

२०७६ सालको असोजमा नेपाल फर्किए। त्यसबेलासम्म सामाजिक सञ्जालबाटै न्यौपाने परिचित भइसकेका थिए। नेपाल फर्किने बित्तिकै विभिन्न मिडियामा उनलाई अन्तर्वार्ता दिन भ्याइनभ्याइ पनि भयो। उनी संस्थामा आवद्ध हुन चाहनेहरुको घरघरमा पुगेर संगठित गर्दै गए। त्यसपछि न्यौपानेको समूहले क्रमागत रुपमा काम गर्दै गए। सानो लागतबाट सुरु भएको कृषि अभियानले विस्तारै-विस्तारै मूर्त रुप लिँदै गयो। अहिले उनलाई आफूले अपनाएको पेशामा एकदमै गर्व छ।

खेतीबाट मनग्य आम्दानी

दुई/तीन विगाबाट खेती सुरु गरेको न्यौपानेको समूहले अहिले करिब ३५ विगा जतिकाे जग्गामा खेती गरिरहेको छ। उनीहरुको खेतीबाट अहिले मनग्य आम्दानी हुन थालेको छ।

धेरै जसो जग्गामा उनीहरुले धान र मकै लगाउने गरेका छन्। केही जग्गामा तरकारीसमेत लगाउने गरेका छन्। सामूहिक खेतीले बाली मात्र भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ। ‘बाँझो हुन गएका खेत सामूहिक खेतीले उब्जाउ बनेका छन्’, न्यौपाने भन्छन्, ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ।’

टमाटर, काँक्रो, खुर्सानी, बोडी, करेला, भिन्डीलगायतका तरकारी बालीबाट मनग्य आम्दानी लिँदै आएको छ। समूहले च्याउ खेतीबाट मात्रै वार्षिक दुई/तीन लाख आन्दानी गरिरहेको छ।

खेती-किसानीबाट वार्षिक २० लाखसम्म आम्दानी हुने गरेको न्यापानेले बताए। हिउँदमा मात्र नभएर उनीहरुले वर्षायाममा पनि धान र मकै लगाउने गरेका छन्।

प्रदेश सरकारको कृषि यन्त्रीकरण केन्द्र स्थापना कार्यक्रमअन्तर्गत समूहले एउटा ट्याक्टर, थ्रेसर, रोटाभेटर, आली लगाने मेशिन, मकै रोप्ने हाते मेशिन र च्याउका लागि पराल काट्ने मेशिन पाएको छ। उनका अनुसार संस्थाले २६ लाख ६० हजार बराबरका कृषि यन्त्रहरु पाएको र यसमा संस्थाको ५० प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहेको छ।

‘राजनीतिलाई समाज सेवा बनाउँदा राम्रो’

‘राजनीति पेशा होइन, समाज सेवा हो’ भन्ने कुरालाई व्यवहारमा उतार्नु पर्छ भन्ने मान्यता छ, न्यौपानेको।

जीविकोपार्जनका निम्ति कृषिमा लागेका उनी राजनीतिलाई विशुद्ध समाज सेवाको रुपमा अघि बढाउने प्रयासमा छन्। उनले नेकपा प्रवास कमिटी, दक्षिण कोरियाको सदस्यसमेत भएर काम गरेका छन्। लामो समयदेखि राजनीतिसँगै समाज सेवामा लागेका छन्। उनी हाल नेकपा एमाले मोरङ जिल्लाको कृषि तथा पशुपंक्षी विभाग सदस्य छन्।

राजनीतिमा लागेको व्यक्ति उत्पादनमुखी हुनुपर्छ। राजनीतिमा लाग्दा अरुको मुख ताक्नु नहुने उनको भनाइ छ। न्यौपानेले संस्थामार्फत धेरै जनालाई रोजगा पनि दिइरहेका छन्।

उद्यमशिलता र श्रममा विश्वास गर्ने उनी देशको राजनीतिबाट वाक्क भएका छन्। नेताको भाषणमा उनलाई खासै विश्वास लाग्दैन।

पढाइको शिलशिलामा काठमाडौँ बस्दादेखि समाज सेवामा सक्रिय थिए। विभिन्न संघसंस्थामा आवद्ध भएर उनले सामाजिक क्रियाकलापमा काम गरेका छन्।

लकडाउनले उत्पादन खेर

कोरोना भाइरसको महामारी सुरु भएपछि सरकारले जारी गरेको लकडाउनबाट न्यौपानेको संस्थालाई प्रत्यक्ष असर पर्यो। स्थापनाकालको छोटो समयमा नै उत्पादनले बजार नपाएर नष्ट हुन थालेपछि युवाहरुमा निराशा छायो।

करिब दुई बिगा क्षेत्रफलमा लागाइएको भिन्डी र बोडी बिक्रीको लागि तयारी भइसकेको अवस्थामा लकडाउनका कारण बजार लैजान समस्या परेपछि उनीहरुले गाईवस्तुलाई खुवाउन बाध्य भए।

लकडाउनले युवाहरुमा निराशा छाएको बताउँदै न्यौपाने भन्छन्, ‘सुरुसुरुमा त अब हाम्रो यात्रा यहीँ टुंगिन्छ जस्तो लाग्थ्यो। तर, विस्थापित नभइ काम गरिरह्यौँ।’

न्यौपानेले सुरु गरेको कृषि अभियानको अवलोकन गर्न झापा र मोरङका विभिन्न स्थानबाट मानिसहरु आउने गरेका छन्। पछिल्लो समय संस्थाले ल्याएको कृषि उपकरणहरुको माग बढ्दै गएको छ। संस्थाले उक्त उपकरणहरू भाडामा किसानहरुलाई उपलब्धसमेत गराउने गरेको छ।

सामूहिक खेती अहिले स्थानीयस्तरमा न्यौपानेको परिचय बनेको छ। सामाजिक सञ्जालमार्फत काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका उनको लोकप्रियता दिनप्रति दिन बढ्दै गएको छ। युवाहरुले कृषि पेशालाई चासोका साथ नहेरिरहेको समयमा न्यौपानेको काम अनुकरणीय बनेको छ।

सुरुमा उनले आफ्नो योजना सुनाउँदा खिसिट्युरी गर्नेहरुको जमात ठुलै थियो। उनको अभियानलाई कतिले फेसबुके कृषि अभियानसम्म भन्न भ्याए। तर, न्यौपाने विचलित नभइ आफूले देखेको सपनामा हिँडिरहे। आज तिनै ठगेन्द्र कृषिमा केही गर्छु भन्नेहरुको प्रेरणाको स्रोत बनेका छन्। उनले कोरियामा छँदै देखेको कृषि अभियानले सार्थकता पाएको छ।

प्रकाशित मिति: : 2022-07-19 21:33:00

प्रतिकृया दिनुहोस्

    ३५ बिघामा खेती गर्दा वार्षिक २० लाख आम्दानी भयो भने के फाइदा भयो त?

    • एक बर्ष अगाडि
    • Kedar Rai