आइफोन १४ सार्वजनिक, अमेरिकी भर्सनमा राख्नै पर्दैन भौतिक सिम

बिएल संवाददाता

वासिङ्टन डीसी

आइफोनका पारखीहरूका लागि थप रोमाञ्चकता थप्दै आइफोन १४  सार्वजनिक गरिएको छ । बुधबार अमेरिकामा सार्वजनिक गरिएको आइफोन १४ दुई साइजमा  उपलव्ध छ, रेगुलर ६.१ इन्चमा र प्लस ६.७ इन्चमा । दुबै साइज आकर्षक पाँच रङ्मा पाइन्छ । 

अमेरिकी भर्सनको आइफोनमा भौतिक सिमकार्ड रहने छैन । एउटै फोनमा धेरै सेलुलर योजना र ​​ई-सिम भण्डारण गर्न सकिने डिजिटल ई-सिम कार्ड प्रयोग गर्ने व्यवस्था गरिएको छ । अब अमेरिकी भर्सनका सबै भर्सनका आईफोनमाभौतिक सिम हुने छैन । 

आईफोन १४मा ब्याट्रीको आयु बढाइएको छ भने स्क्रिन सिरेमिक शिल्डको बनाइएको छ । आइफोनले पहिलोपटक डाइनामिक आइल्याण्ड सुविधा थपेको छ । आइफोनको स्क्रिनको माथिल्लो भागमा अरु नै काम गरिरहेको बेला पनि बिना वाधा अवरोध विना संक्षिप्त अलर्ट हेर्न सकिन्छ । 

आइफोनका पारखीका लागि थप रोमाञ्चकतासहितको आइफोन १४  सार्वजनिक गरिएको छ । अनेक प्राविधिक स्तरोन्नतिका साथ आएको आइफोन १४ को दाम भने आइफोन १३ कै जति राखिएको छ । यसबाट उपभोक्ताहरूलाई ठूलो राहत मिल्नेछ । 

आईफोन १४ ठूलो पिक्सेल, छिटो एपर्चर र सुधारिएको सेन्सरको साथ १२ एमपीको मुख्य क्यामेरासहितको हुने छ। नयाँ फ्रन्ट क्यामेरा स्वत फोकस हुने भएकाले सेल्फी र वेफीका लागि यसले जादू गर्न सक्ने बताइएको छ । 

आइफोन १४ मा स्याटेलाइट कनेक्टिभिटी एसओएस प्रयोग गरिएको छ । यसले फोन सेवा अवरूद्ध भएको बेला सञ्चार गर्न मद्दत गर्छ । यसका लागि स्थल टावर नजिक नभएको ठाउँमा उपग्रहमा जडान गर्न सकिने प्राविधिक व्यवस्था मिलाइएको छ । 

यसरी प्रविधिमा लामो फड्को मारेर आएको आइफोन १४ को दाम भने आईफोन १३ कै गतबर्षको मूल्य बराबर राखिएको छ । आईफोन १४ को दाम ७९९ डलरबाट सुरु हुन्छ भने आईफोन १४ प्लस ८९९ डलरबाट सुरु हुन्छ । एप्पलले पुरानै दाम राखेर आइफोन पारखीहरूलाई ठूलो राहत दिएको छ ।  

अमेरिकामा आइफोन १४ को बुकिङ सेप्टेम्बर ९ बाट सुरू हुनेछ। उपभोक्ताहरूको हातमा भने सेप्टेम्बर १६ देखि उपलव्ध हुन्छ ।

प्रकाशित मिति: : 2022-09-08 04:13:00

प्रतिकृया दिनुहोस्