एनआरएन युरोपेली सम्मेलनमा आउने सहभागीहरूको भिसा आवेदन अस्वीकृत

BreaknLinks
BreaknLinks

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रको चौधौँ युरोप सम्मेलनमा आउन लागेका १६ सहभागीहरूको भिसा आवेदन नेपालस्थित जर्मन दूतावासले अस्वीकृत गरिदिएको छ।

काठमाण्डौंस्थित भीएफएसले स्वीडेन भिसाको लागि एकमहिना समय लाग्ने भनेपछि उनीहरू जर्मन दूतावासमा आवेदन दिने प्रक्रियामा थिए। भिसा आवेदनको लागि एनआरएन बेल्जियमले स्पोन्सर पत्र पठाएको थियो। 

गत १४ सेप्टेम्बरमा आयोजित वार्षिक साधारणसभामा विभिन्न प्रयोजनका लागि भन्दै एनआरएन बेल्जियमले सबैलाई निमन्त्रणा पत्र पठाएको थियो। प्राप्त निमन्त्रणा पत्रमा काठमान्डौंस्थित जर्मन दूतावासलाई सम्बोधन गरेर भिसा दिनको लागि आग्रह गरिएको छ। पत्रमा अध्यक्ष खड्गबहादुर केसी र महासचिव रमेश कँडेलको हस्ताक्षर रहेको छ।

त्यस्तै, युरोपेली सम्मेलनलाई भन्दै युरोप संयोजकहरू सन्तोष भट्टराई र चिन्तामणि सापकोटा, एनआरएन स्वीडेन अध्यक्ष राजकुमार पाठकको हस्ताक्षर भएको निमन्त्रणा चिठ्ठी रहेको छ। उनीहरूले नयाँदिल्लीस्थित स्वीडेस दूतावासलाई सम्बोधन गरेर पत्र सहभागीहरूलाई पठाएका थिए। सम्मेलनमा आउनको लागि केन्द्रीय अध्यक्ष रविना थापा, संस्थापक महासचिव भीम उदास, पत्रकार सञ्जिव दाहालसहित १६ जना रहेका थिए।

स्वीडेनको राजधानी स्टकहोममा 'रूपान्तरणका लागि साझेदारी' नारासहित सेप्टेम्बर २४ र २५ तारिखका सम्मेलन हुन गइरहेको छ। एनआरएन स्वीडेनका अध्यक्ष राजकुमार पाठकले सम्मेलनमा कानून, न्याय तथा संसदस्य मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली, श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, आईएमईका प्रमुख चन्द्र ढकाल र दुई पत्रकारलाई अफिसियल निम्ता गरिएको बताएका छन्। पाठककाअनुसार टोलीमा  भिसाको कारण राष्ट्रिय मिडियाका दुई पत्रकार आउने–नआउने कुनै टुंगो नभएको तर अरू पाहुँना आउनेछन्। 

एनआरएन केन्द्रीय कार्यालयकाअनुसार अहिलेसम्म २० हजार युरो सम्मेलनका लागि स्पोन्सर स्वरूप उठी सकेको छ। सम्मेलनमा सहभागिताको लागि छुट्टाछुट्टै जानेहरूले दर्ता शूल्क २ सय युरो बुझाउनुपर्नेछ। महिला र स्थानीय दर्ता शूल्क १५० युरो तोकिएको छ भने पारिवारिक दर्ता शूल्क ३ सय युरो छ। १६ देखि २० वर्ष उमेर समूहका लागि दर्ता शुल्क १ सय युरो राखिएको छ। १५ वर्ष उमेर समूहका निःशूल्क कार्यक्रम मा प्रवेश गर्न पाउनेछन्। 

'एनआरएनका धेरै मुद्दाहरू कानुनी रूपमा जोडिएका छन्। सोही अनुरूप कानुन मन्त्री हाम्रो प्रमुख अतिथिको रूपमा छनोटमा पर्नुभएको हो। युरोपलगायत अमेरिका, अस्ट्रेलिया तथा खाडी मुलुकहरूबाट प्रतिनिधि आउने तयारी भइरहेको छ,' एनआरएन स्वीडेनका अध्यक्ष राजकुमार पाठकले भने, 'विगतजस्तो कार्यक्रमका लागि नेपालबाट टन्न मान्छेहरू बोलाउने काम गरेका छैनौं। विगतमा जस्तो दलाली भएको आक्षेप नलागोस् भन्ने हेतुले पहिल्यै विभिन्न दूतावासहरूले ईमेल गरेर आवश्यक जानकरी पनि गराएका छौं।'

यसबारेमा काठमान्डौंस्थित जर्मन दूतावासमा बुझ्दा दूतावासले स्वीडेन नहेर्ने हुँदा भिसा आवेदन नै नलिने बताएको छ। दुतावास भन्छ, 'जर्मन दूतावास काठमाडौंमा सम्पर्क गरी चौधौँ एनआरएनए सम्मेलनको बारेमा जानकारी प्रदान गर्नुभएकोमा धन्यवाद। यद्यपि, हाम्रो दूतावासले स्विडेनका लागि आवेदनहरू स्वीकार र प्रक्रिया गर्दैन।' 

त्यस्तै, काठमाण्डौंस्थित फिनिस दुतावास र नेपाल हेर्ने नयाँदिल्ली स्थित स्वीडेनको दूतावासले आफूहरू यसविषयलाई गम्भीरताका साथ लिएको भन्दै आवश्यक छानबिन गरिने बिएल नेपाली सेवालाई बताएको छ। 

एनआरएन बेल्जियमले वार्षिक साधारण सभाको लागि भनेर कसैलाई पनि स्पोन्सर नगरेको उपाध्यक्ष तीर्थ धमलाले बताएका छन्। निमन्त्रणा पत्रमा हस्ताक्षर गरेका महासचिव रमेश कँडेलले फोन उठाएनन् बरू मेसेज गर्दै अध्यक्ष खड्गबहादुर केसीसँग बुझ्न आग्रह गरेका छन्। अध्यक्ष केसीलाई फोन सम्पर्क गर्दा फोन उठेन। उता युरोप संयोजक चिन्तामणि सापकोटासँग बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

वार्षिक साधारणसभामा एनआरएन बेल्जियमले गरिएकाे निमन्त्रणा पत्रबारे आईसीसी गंगा शर्मा, महिला उपाध्यक्ष सुशीला खतिवडा, सदस्य रुबिन शर्माले अनविज्ञता प्रकट गरेका छन्। कुनै पनि बैठमा त्यस्तो निर्णय नगरेको उनीहरूले प्रष्ट पारेका छन्। आईसीसी शर्माले संग्लन व्यक्तिहरूलाई कारबाही गरिने बताएका छन्।

प्रकाशित मिति: : 2022-09-22 07:25:00

प्रतिकृया दिनुहोस्