क्रिकेट-बल हुनुपर्ने हातमा हत्कडी, रूमालले छोपेर के हुन्छ र ?

तस्विरमा कालो ह्याट र सेतो ट्रयाकमा देखिएका महानुभाव यतिबेला ‘सुपरहिट’ छन्। उनको हात छोपिएको त देख्नुभयो होला नि। तर, उनले त्यहाँ क्रिकेटको बल हैन, हत्कडी छोपिरहेका छन्। लाग्छ, अझै पनि लाज केही बाँकी छ कि जस्तो गरेर उनी हत्कडी छोपिरहेकै छन्।

कतै बिर्सनु भएको भए, सम्झनका लागि यी महानुभावको नाम सन्दीप लामिछाने हो। उनी नेपालको कीर्तिमानधारी क्रिकेटर हुन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान नै थिए। अहिले उनी निलम्बित भएको भनिएको छ।

तर, अहिले सन्दीप महोदय आफ्नै कुकर्मको फल भोगिरहेका छन्। एक १७ वर्षीय नावालिगको अस्मिता बोल्ड गरेको आरोपमा झण्डै एक महिनादेखि उनी प्रहरी हिरासतमा छन् । हुन त उनीमाथि लागेको आरोप मात्रै हो। तर, आरोप मात्रै भए पनि यो आफैंमा संगीन छ किनकि यो नावालिगमाथिको व्यभिचारको आरोप हो।

भर्खरै यी महानुभावमाथि १० देखि १२ वर्षसम्म जेल सजायको माग गर्दै अदालतमा मुद्दा दर्ता गरिएको छ। यही क्रममा सेतो ट्रयाकमा देखिएका यी महानुभावको सफेद वयान बाहिरिएको छ। वयान पढ्दा यो एउटा बनिबनाउ अपराधकथाको प्लट जस्तो लाग्छ। प्लटमा उनी मध्यरातमा एउटी युवतीलाई होटलको कोठामा सुताएर कुर्सीमा बसेर गीत सुनाइरहेको कथा भनिरहेका छन्।

पढ्नुभयो नि, उनको बयान। बयानको एक अंशमा उनको भनाइ छ, ‘ निजले कुरा गर्दागर्दै निज फेरी उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजको अनुहारमा खुसी देखी मलाई पनि खुसी लाग्यो।‘….मैले मेरो मोबाईलमा बिहानको ०६:०० बजे alarm लगाई  कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ। ‘

सन्दीप महोदयलाई नजिकबाट नचिनेका र दिलको राजा भन्नेहरूले यो कुरा पत्याउलान् पनि तर उनलाई नजिकबाट चिन्नेहरूका लागि योभन्दा सर्वकालिक जोक अरू भएन होला। अरूको त के कुरा भयो र, स्वयं सन्दीपको उमेरको कुनै पनि नर्मल पुरूषले यो पत्याउँदैन, एब्नर्मलको कुराचाहिँ बेग्लै भयो।

क्रिकेटर सन्दीप लामिछाने अहिले आफ्नै कुकर्मको फल भोगिरहेका छन्। उनलाई अहिले एक १७ वर्षीय नावालिगको अस्मिता बोल्ड गरेको आरोप छ। हुन त यो आरोप मात्रै हो। तर, आरोप मात्रै भए पनि  आफैंमा संगीन छ किनकि यो नावालिगमाथिको व्यभिचारको आरोप हो।

नेपालका स्टारहरूको धरातलीय यथार्थ यसले देखाउँछ। यसको अर्थ सबैलाई एउटै डालोमा हालेर सबै स्टार यस्तै हुन्छन् भन्ने निस्कर्ष निकाल्नु पनि सही हुदैन। तर, हाम्रा स्टारहरूले यस्ता घटनाबाट पाठ नसिकेको देख्दा भने दु:ख लाग्छ। सन्दीप अगाडि यस्तै हर्कते व्यवहार गरेर पल शाह यतिबेला जेलको चिसो छिँडीमा छन्।

भनिन्छ, कानूनका नौ सिंङ हुन्छन्। सन्दीपमाथि लागेको यो अभियोग पनि ट्रायलमै छ। यसमा कानूनका कति सिङ देखिन्छन्, त्यो त हेर्नै बाँकि छ। तर, केही अपवादलाई छोडेर आम नेपाली उनलाई शंकाको सुविधा दिइरहेका छैनन् । हो, यसमा नावालिग भनिएकी किशोरीको पनि उत्तिकै दोष हो भनेर सन्दिपमाथि लागेको दोषको भारलाई अलि कम गर्न सक्लान्। हेक्का राख्नुपर्ने कुरा के हो भने सन्दीप वालिग स्टार हुन् भने किशोरी एक सर्वसाधारण नावालिग हुन्। एकातिर वालिग हुनु त्यसमा पनि स्टार हुनु अनि अर्कोतिर सामान्य नावालिग हुनु एउटै कुरा हैनन्। नेपालको कानूनले पनि त्यसको हेक्का राम्ररी नै राखेको छ।

हो, सन्दीप बन्न रातारात सम्भव छैन। यसका लागि सम्बन्धित व्यक्तिमा क्षमता त चाहिन्छ नै, उसमा धैर्य र प्रतिवद्धता पनि चाहिन्छ। यसका अतिरिक्त राष्ट्रले पनि ठूलो लगानी गरेको हुन्छ। राष्ट्रवासीको आशा र विश्वासको कुरा त अझ प्रगाढ हुन्छ नै। यसरी बनेको स्टार सकारात्मक भाइब प्रवाह गर्ने देशकै ठूलो आइकन हुन्छ।

तर, जब त्यो आइकन आफ्नै कुमतीले गर्ल्यामगुर्लुम ढल्छ। त्यसपछि एक किसिमको सन्नाटा छाउँछ। अहिले सन्दीपका कारण नेपालको क्रिकेट जगतकै बदनाम भएको छ, यसको अन्तर्राष्ट्रिय छिटा पनि परेको छ। यो आफैंमा एक राष्ट्रिय दु:ख हो।

हामी कामना गरौं, सन्दीप यस्तो हर्कत गर्न अन्तिम नेपाली स्टार बनुन्। आशा गर्न सकिने भए पनि विश्वास गर्न चाँहि गाह्रै भयो। किनकि यसअघि यस्तै कामना पल शाहको पालामा पनि गरिएकै थियो। तर, त्यो कामना पूरा भएन। भनाइ नै छ नि, सबै प्रिय कामना कहाँ पूरा हुन्छन् र ?

प्रकाशित मिति: : 2022-11-01 03:33:00

प्रतिकृया दिनुहोस्