उपल्लो डोल्पामा कर्मचारी र निर्वाचन सामाग्री पठाउनै मुस्किल

BreaknLinks
BreaknLinks

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका मतदान केन्द्रहरुमा कर्मचारी र निर्वाचन सामाग्री पठाउन समस्या भएको छ।

भौगोलिक रुपमा विकट र हिमपातका कारणा शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री र कर्मचारी पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ।

हिउँद लागेसँगै उपल्लो डोल्पामा दैनिकजसो हिमपात भइरहेको, तापक्रम सधै माइनसमा झर्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय पेमा छेवाङ् गुरुङ्गले बताए।

सदरमुकाम दुनैबाट तीनदेखि सात दिनसम्म लाग्ने उपल्लो डोल्पाका तीनवटा स्थानीय तहमा २२ वटा मतदान केन्द्र रहेका छन्। कात्तिक लागेसँगै धो, तीन्जे, साल्दाङ्ग, छार्कामा पर्ने मतदान केन्द्रसम्म पुग्ने बाटोघाटो हिउँले भरिएका छन्।

एक सातासम्मको लामो यात्रा, जोखिमपूर्ण बाटो, हिउँले भरिएका अग्ला-अग्ला हिमाल चढ्नु पर्ने भएकाले पनि उपल्लो डोल्पाका मतदान केन्द्रहरुमा कर्मचारी र निर्वाचन सामाग्री मतदानस्थलसम्म पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

'मतपत्रलगायत निर्वाचन सामाग्रीहरु जिल्लामा आइसकेको छ, मतदान केन्द्रमा पठाउने कर्मचारी पनि खटनपठन पनि गरिसकेका छौँ तर, कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामाग्री कसरी पठाउने समस्या भएको छ', सुवेदीले भने।

'असोजदेखि नै उपल्लो डोल्पामा हिउँ पर्न सुरु भइसक्यो। अब कर्मचारी र निर्वाचन सामाग्री पठाउन हेलिकप्टको प्रयोग गर्नुको कुनै विकल्प छैन। यस विषयमा निर्वाचन आयोगलाई लेखी पठाएका छौँ, आशा छ माग पूरा हुन्छ।'

भौगोलिक विकटताका कारण आइपर्ने समस्यालाई मध्येनजर राख्दै विगतका निर्वाचनमा पनि हेलिकप्टर प्रयोग भएकाले यो पटक अझ अत्यावश्यक रहेको सुवेदीले बताए।

उपल्लो डोल्पामा पर्ने पन्ध्रवटा स्थानमा हेलिकप्टर प्रयोग हुनेगरी आयोगलाई अधुरोध गरिएको उनको भनाइ छ। उपल्लो डोल्पा भन्ने बित्तिकै कर्मचारीहरु पनि जान आनाकानी गर्ने गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपल्लो डोल्पा खटाइएका कतिपय कर्मचारी निवेदन दिएर जान नसक्ने भन्दै नजिकका मतदान केन्द्रमा खटाउन माग गर्ने गरेको समेत कार्यालयले बताएको छ।

भौगोलिक रुपमा विकट, चिसो र चार हजार मिटरभन्दा अग्ला लेकहरु पार गरेरमात्र मतदान केन्द्रहरुमा पुग्नुपर्ने भएकाले ज्यान जोखिममा पर्ने उपल्लो डोल्पा खटिएका कर्मचारी कबिप्रसाद उपाध्यायले बताए।

उपल्लो डोल्पामा आउन जान हेलिकप्टरकाे व्यवस्था नभए खटाएकाे ठाउँमा ज्यानको बाजी लगाएर जान नसकिने उनको भनाइ छ। डोल्पामा स्थायी र अस्थायी गरेर कुल ६८ वटा मतदान केन्द्रहरु रहेका छन् भने २२ हजार ७ सय ७४ जना मतदाता रहेका छन्।

लेक लागेर म्यादी प्रहरीको मृत्यु

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको थियो।

शान्ति सुरक्षाकोलागि जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने शे लेकमा ठुलिभेरी नगरपालिका ७ बस्ने २४ बर्षका सुनिल विकको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-11-07 15:06:00

प्रतिकृया दिनुहोस्