रोल्पामा माओवादी नेताहरू स्वतन्त्रको प्रचारमा, भन्छन्- कांग्रेसलाई भोट नदिनू

रोल्पा ‘ख’बाट सत्ता गठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री अमरसिंह पुनलाई स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ चुनौती बनेका छन्।

नेकपा (माओवादी केन्द्र)को आडमा चुनावी मैदानमा उत्रिएका कांग्रेस उम्मेदवार अमरमाथि टिकट नपाएपछि माओवादी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका उनै सिजल भारी देखिएका हुन्।

स्रोतका अनुसार रोल्पाका अधिकांश माओवादी नेता-कार्यकर्ताहरू आन्तरिक रुपमा स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारमा जुटेका छन्।

माओवादीका लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर केसी नै गठबन्धनका उम्मेदवार अमरसिंह पुनलाई हराउनुपर्ने अभियानमा लागेका छन्। उनी भन्छन्, ‘कांग्रेस खराब पार्टी हो। कांग्रेसलाई भोट नदिनू।’ उनीसहित सबै गाउँपालिका अध्यक्ष, वडाध्यक्ष तथा अन्य पदाधिकारीहरू चुनावी गठबन्धनको विरोधमा उत्रिएका छन्।

माओवादी उपमहासचिव तथा रोल्पाबाट प्रतिनिधिसभा पदका उम्मेदवार वर्षमान पुननिकट केसी खुलेरै स्वतन्त्र उम्मेदवार सिजलको प्रचारमा लागेका छन्।

अखिल क्रान्तिकारीका रोल्पा अध्यक्ष अशोक वली पनि सिजलको प्रचारमा खटिएका छन्। ‘वर्षमान पुनले डबल रोल खेलिरहेका छन्। देशभर सत्ता गठबन्धनको जालो थापेर आफू सुरक्षित बने। अनि रोल्पामा स्वतन्त्र उठाएर कांग्रेस उम्मेदवारलाई हराउने खेल खेल्दैछन्,’ कांग्रेस रोल्पाका एक पदाधिकारीले भने।

प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुन, प्रदेशसभाका उम्मेदवार अमरसिंह पुन र जोखबहादुर महरा सँगैसँगै चुनावी अभियानमा देखिए पनि माओवादी नेता-कार्यकर्ताहरू स्वतन्त्र उम्मेदवारलाई मत माग्दै हिँड्छन्।

गाउँगाउँमा आफ्नो चुनावी प्रचारलाई तीव्रता दिइरहेका सिजललाई उनै माओवादी कार्यकर्ताहरूको ठुलो समर्थन छ। ‘वर्षमान कमरेडले धारोमा भोट नहाल भन्नुभएको छैन। हामीहरू आ-आफ्नो विवेक प्रयोग गर्छौँ,’ माओवादी रोल्पाका एक नेताले भने।

गत स्थानीय तहको निर्वाचनमा रोल्पामा सत्ता गठबन्धन तोडेको आरोप थुपार्दै प्रदेशसभा सदस्य पदका उम्मेदवार अमरसिंह पुनलाई सहयोग गर्न नसकिने माओवादी नेताहरूको आरोप छ।

प्रकाशित मिति: : 2022-11-11 12:50:00

प्रतिकृया दिनुहोस्