प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुले धमाधम राजीनामा दिन थालेका छन्।
एमालेका एक केन्द्रीय सदस्यले राजीनामा दिएको एक साता नबित्दै अर्का एक केन्द्रीय सदस्यले पुन: राजीनामा दिएका छन्। एक साताअघि केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्चार्ज रिता साहले राजीनामा दिएकी थिइन्। आज फेरि केन्द्रीय सदस्य एवं सिरहा जिल्लाका सह-इन्चार्ज रामप्रित रामले राजीनामा दिएका छन्।
पार्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राष्ट्रवादीहरुसँग गठबन्धन गरेको भन्दै सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा रामले गरेका छन्।
केही नेताहरुको व्यक्तित स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाकाबन्दी गर्ने र दक्षिणपन्थी दलसँगको गठबन्धन जनता र देशविरोधी रहेको रामको आरोप छ।
‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादी छवि बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसंग गठबन्धन गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ। अर्कोतर्फ देशमा राजसंस्था पुनःस्थापना गर्न, संघीयता खारेज र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने जस्ता जनविरोधी र पश्चगमनकारी एजेण्डालाई प्रमुखताका साथ अगाडि बढाएको पार्टी राप्रपासंग एमालेले जनविरोधी र परिवर्तन गठबन्धन गरेको छ’, रामले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उनले अगाडि भनेका छन्, ‘समग्र पार्टीलाई पार्टी नेतृत्व प्रमुख र त्यसका आसेपासेहरुले पार्टी संगठनलाई सामूहिकतामा नभई पार्टी संगठनलाई निजिकरणको रुपमा सञ्चालन गरेको तथ्य ४-५ दशकदेखि पार्टी संगठनमा योगदान तथा त्याग गरेका कमरेडहरुलाई टिकटबाट बञ्चित गर्नु तर कुख्यात पञ्चायतकाली तस्कर र राजसंस्था पुनः स्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव लडाउनुले पुष्टि गर्छ।’
नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवसमेत रहेका रामले एमालेले यथास्थितिवादी र प्रतिगामी तत्वहरुसंग गहिरो रुपमा सांठगाठ गरेको आरोपसमेत लगाएका छन्।
केन्द्रीय सदस्यबाट साह र रामले राजीनामा दिनुभन्दा अघि बारा, पर्सासहितका जिल्लाबाट मधेस प्रदेश कमिटी, जिल्ला कमिटीसहित विभिन्न केन्द्रीय निकायमा रहेका हजारौं नेता कार्यकर्ताले एमाले परित्याग गरिसकेका छन्।