पार्टी र गठबन्धन दलबाट साथ पाएकाले सहजै चुनाव जित्छु: नरेन्द्र साह (अन्तर्वार्ता)

आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ३ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र साहले उम्मेदवार हुन्। 

समाजसेवाबाट राजनीतिमा होमिएका साहले जिल्लामा असल र परोपकारी व्यक्तित्वको छवि बनाएका छन्। 

साह ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन तराई–मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसदसमेत हुन्। 

०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका साहले १२ हजार ८६ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरे। 

स्वतन्त्रबाटै उम्मेदवारी दिँदा लोकप्रिय मत हासिल गरेका साहसँग घरदैलोकै क्रममा गरेको कुराकानीको सम्पादित अंश:


घरदैलोमा मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

निकै उत्साहजनक माहोल छ। चुनावी अभियानका क्रममा हरेक ठाउँ पुग्दा राम्रो प्रतिक्रिया पाइरहेको छु। जनतामा एक प्रकारको आशा र उत्साह छाएको छ। जनताले काम गर्ने, विकासप्रेमी, चुनाव जितेपछि आफ्नो क्षेत्रका लागि काम गर्ने, जनताको सुख–दुःखमा साथ सहयोग गर्ने जनप्रतिनिधि खोजिरहेका छन्। मसँग जनताका अपेक्षा, आशा र भरोसा भएको पाएको छु। 

हरेक वडा, गाउँ र बस्तीमा पुग्दा एकदमै सकारात्मक प्रतिक्रिया पाएको छु। विगतका चुनावभन्दा यसपालि माहोल अलि फरक छ। यसपटक लोकतान्त्रिक–वाम गठबन्धन देशभर एकढिक्का भएर चुनावमा होमिएको छ। 

यो जितले स्थायी सरकार बनाउन भूमिका खेल्नेछ। जनताका समस्या, आवश्यकता पूरा गर्न अब बन्ने स्थायी सरकारको उच्च प्राथमिकता हुनेछ।

तपाईंसँग सर्लाही ३ का लागि विकासका योजना र एजेन्डा के–के छन् ?

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास मेरो मुख्य प्राथमिकतामा पर्छ। सुविधा सम्पन्न अस्पताल, पक्की बाटो, गुणस्तरीय शिक्षा र सुविधायुक्त विद्यालयको व्यवस्था यहाँ हुनेछ। 

यस क्षेत्रका दलित, भूमिहीन, सुकुम्बासीको उत्थानका लागि हामीले योगदान दिनेछौं। यस क्षेत्रमा लालपुर्जा नभएका सुकुम्बासीको संख्या बढी छ। उनीहरूलाई लालपुर्जा दिलाउने छौं। 

२०२२ सालभन्दा पहिले रौतहट र महोत्तरीको केही भागलाई मिलाएर यो जिल्ला बनेको हो। त्यसपछि यसलाई सर्लाही जिल्ला नामाकरण गरियो। 

मेरो घर बरहथवा नगरपालिकाभित्र पर्छ। मेरो घर पनि ऐलानी जग्गामा छ। हिजो जंगलमा बसोबास गर्ने सुकुम्बासीहरू अझै पनि हुनुहुन्छ। कतिपय लालपुर्जा पाउने प्रक्रियामा हुनुहुन्छ। त्यसका लागि आयोग बनेको छ। मैले चुनाव जितेमा सर्लाही ३ लाई नमुना बनाउनेछु।

यो क्षेत्र पर्यटन विकासका लागि एकदमै सम्भावना भएको ठाउँ हो। मेरो प्रयत्न यो क्षेत्रलाई पर्यटनको प्रमुख गन्तव्य बनाउनमा केन्द्रित हुन्छ। नरेन्द्र साह बोलेर भन्दा गरेर देखाउने व्यक्ति हो। 

यसपालिको चुनावमा तपाईंको जितका आधार के हुन् ? जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ ?

पहिलो त लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट म साझा उम्मेदवारका रूपमा चुनाव लड्दैछु। यो गठबन्धनको अत्यधिक मत भएको क्षेत्र भएकाले पनि भारी मतले जित्नेमा ढुक्क छु। त्यसबाहेक मैले विगतमा गरेका काम, जनतालाई प्रदान गरेको सेवा र योगदानलाई यहाँका मतदाताले बिर्सनु भएको छैन।

विगतको चुनावमा स्वतन्त्र उम्मेदवार भएर हारे पनि म कहिल्यै जनतासँग टाढा भइनँ। जनतासँग निरन्तर जोडिएको छु। जनस्तरमा मेरो सम्पर्क टुटेको छैन। त्यसले गर्दा पनि मलाई सजिलो भयो।

विगतमा तपाईंले यो क्षेत्रमा के के गर्नुभयो ?

सर्लाही ३ का विभिन्न क्षेत्र, समुदायमा मैले आफ्नोतर्फबाट योगदान दिएको छु। बाटोघाटो निर्माण, खानेपानीको समस्या समाधान, जाडोमा विपन्नलाई कम्बल वितरण, न्यानो कपडा वितरण, अभाव र समस्याग्रस्त मानिसलाई खाद्यान्न वितरण गरेको छु। 

कोरोना महामारीले सिर्जना गरेको कहालीलाग्दो अवस्थामा बरहथवा र हरिवनमा स्यानिटाइजर बुथको निर्माण गरेको छु। यहाँका वृद्धाश्रम र अनाथाश्रमलाई आवश्यक पर्दा सहयोग गरेको छु। 

स्थानीय क्लबहरूलाई आवश्यक खेलकुदका सामग्री प्रदान गरेको छु। यस क्षेत्रका स्थानीयलाई सोध्नुभयो भने मैले गरेका कामबारे थाहा पाउनु हुनेछ।

एमाले–जसपा गठबन्धनले कत्तिको चुनौती थपिएको महसुस गर्नु भएको छ ?

क्षेत्र नम्बर ३ मा मेरो कसैसँग प्रतिस्पर्धा छैन। हामीलाई कतैबाट चुनौती पनि छैन। म भारी मतका साथ जित्नेमा ढुक्क छु। 

सर्लाही ३ मा सत्ता गठबन्धनभित्र एकता छैन भन्ने पनि चर्चा छ नि ?

त्यस्तो होइन। सानातिना मतभेद त आफ्नै दलभित्र पनि हुन्छन् । पाँच दलको गठबन्धन बनेको छ। त्यसमा केही साथीहरूको बुझाइ, मान्यता फरक पर्नु स्वाभाविक हो। 

सुरुमा सामान्य मतान्तरजस्तो देखिए पनि हामी अहिले एकताबद्ध छौं। सत्ता गठबन्धनलाई जिताउन गठबन्धनका सबै साथी, नेताहरू प्रतिबद्ध हुनुहुन्छ। 

अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्नु भयो। यसपटक लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ। कस्तो अनुभव भइरहेको छ ?

पार्टीबाट चुनाव लड्न अलि सजिलो लाग्यो। पार्टीबाट लड्दा प्रचार–प्रसार गर्न पनि सजिलो हुने रहेछ। पार्टीको सञ्जालका कारण स्वतः सहज हुने नै भयो। 

मलाई विगतमा मत दिने जनताले पनि पार्टीबाट चुनाव लड्न आउनुस् भनेर सल्लाह दिनुभयो। यो क्षेत्र गठबन्धनबाट माओवादी केन्द्रको भागमा पर्याे।

 मलाई पार्टीले पत्याएर टिकट दिएको हो। पार्टीका साथीहरू, सहयात्री गठबन्धन दलका साथीहरू सबैबाट राम्रो सहयोग पाइरहेको छु। 

प्रायः उम्मेदवारहरू जितेर गएपछि आफ्नो क्षेत्रमा फर्किदैनन् भन्ने गुनासो जताततै सुनिन्छ। फोनसमेत उठाउँदैनन् भन्ने पनि गुनासो आउने गरेको छ। यदि तपाईले चुनाव जितेमा के गर्नुहुन्छ ?

यो प्रश्न यसअघि जो निर्वाचित भएर गए उहाँहरूलाई सोध्दा उचित हुन्छ। यहाँबाट जितेर गएकाहरू मन्त्री पनि बन्नु भयो। तर, जिल्लाका लागि उहाँहरूले के गर्नुभयो त ? गएको चुनावमा हारेपनि मैले यस क्षेत्रमा गरेका काम जगजाहेर नै छन्।

जुनसुकै अवस्थामा पनि आफूलाई मत दिएर जिताउने मतदाता र क्षेत्रबाट टाढा हुनु हुँदैन भन्ने मेरो मान्यता हो। जनतासँग म कहिल्यै पनि टाढा हुन सक्दिनँ। मेरो स्वभाव जनतासँग घुलमिल भएर बस्ने खालको हो।

म व्यस्त हुँदा पनि सकैसम्म सबै फोन आफैँ उठाउने गर्छु। यदि फोन उठाउन नसक्ने अवस्था भएमा कल ब्याक गर्ने मेरो बानी नै छ। चुनाव जितेपछि जनता बिर्सने बानी राम्रो होइन।

म कुनै हालतमा त्यस्तो गुनासो आउन दिने छैन। यो क्षेत्रका सबै जनतासँग मेरो प्रतिबद्धता हो। चुनावका बेला विपक्षीहरूले अनेक आरोप लगाउँछन्। चुनावमा बलियो उम्मेदवारको विरोध हुने परम्परा पनि छ। तर मेरो हकमा मिथ्या आरोपको कुनै अर्थ छैन।

यहाँका मतदाताले मलाई राम्रोसँग चिन्नु भएको छ। मेरो बारेमा चुरे पहाडदेखि दक्षिणसम्मका मतदातासँग तपाईं सोध्न सक्नुहुन्छ। सबैले मलाई उत्तिकै माया गर्नुहुन्छ। जनतालाई ढाँटेर, अल्मल्याएर गरिने राजनीतिक दिगो हुँदैन। म जनतालाई झुक्याएर हैन, जनताको मन जितेर राजनीति गर्छु। यसमा ढुक्क हुनुहोस्। 

मतदातासमक्ष के भन्न चाहनु हुन्छ ?

मेरो एउटै अपिल छ, मंसिर ४ को चुनावले पाँच वर्षका लागि भाग्य कोर्ने हो। त्यसैले अहिले जनताले जिम्मेवार भएर आफ्नो जनप्रतिनिधि चयन गर्नुपर्छ। त्यसैले गठबन्धनलाई जिताउन म अपिल गर्न चाहन्छु। विगतमा जितेका उम्मेदवारबाट यो क्षेत्रको विकास हुन नसकेको हामीसामु टड्कारो छ। 

मलाई जिताउँदा विकास गरेर क्षेत्रकै मुहार फेर्नेछु। म पदमा नरहँदा पनि यो क्षेत्रको विकास र जनताको दुःख, पीडामा साथ दिएको व्यक्ति हुँ। संसदमा पुगेपछि काम गर्ने दायरा फराकिलो हुने र धेरै काम गर्न सकिने हुन्छ। 

म  यति भन्न चाहन्छु कि मलाई मत दिएर जिताउनुहोस्, म यो क्षेत्र र आमजनताको समस्या समाधान गर्न सधैँ साथमा हुनेछु। 

प्रकाशित मिति: : 2022-11-16 12:20:00

प्रतिकृया दिनुहोस्