पश्चिम नवलपरासीमा महिलामैत्री मतदानस्थल

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एउटा मतदानस्थल नै महिलामैत्री बनाइएकोे छ। पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने रामग्राम नगरपालिका–१ को सयपत्री बोर्डिङ स्कुलको मतदानस्थल महिलामैत्री बनाइएको हो। 

जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीका अनुसार सयपत्री स्कुलको मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन्। ‘हामीले सयपत्री स्कुलको मतदानस्थल महिलामैत्री निर्माण गरेका हौँ’, उनले भने, ‘दुईवटा केन्द्र रहेको यसस्थलमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मी सबै महिलालाई मात्रै खटाएका छौँ।’

उक्त बोर्डिङ स्कुलको ‘क’ मतदान केन्द्रमा सात सय ५६ मतदाता रहेको र  यहाँ मतदान अधिकृतको रुपमा कुमारी केसीलाई खटाइएको निर्वाचन अधिकारी खत्रीले बताए। 

सोही मतदानस्थलको ‘ख’ मतदान केन्द्रमा सात सय ८७ मतदाता छन्। यस मतदान केन्द्रमा पनि मतदान अधिकृतको रुपमा मनिषा पौडेललाई जिम्मेवारी तोकिएको छ। दुवै मतदान केन्द्रमा आठ\ आठ गरी १६ महिला कर्मचारी खटाइएको उनको भनाइ छ। 

उक्त बोर्डिङ स्कुलको मतदानस्थलको सुरक्षाको जिम्मा पनि महिला प्रहरीलाई नै प्रदान गरिएको छ। नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार त्यस मतदानस्थलमा प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा सबै सुरक्षाकर्मी महिला नै परिचालन गरिएको हो।  

‘उक्त स्कुलको मतदानस्थललाई महिलामैत्री बनाउने विषयमा छलफल भएपछि हामीले पनि सुरक्षाको जिम्मा महिलालाई नै दिने गरी काम गर्याैँ’, उनले भने,‘त्यहाँ प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा नेपाल प्रहरी र म्यादी प्रहरीका सबै सुरक्षाकर्मी महिला नै परिचालन गरेका छौँ।’ उक्त मतदानस्थलको सुरक्षाका लागि १३ सुरक्षाकर्मी परिचालन गरिएकामा सबै महिला रहेका प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए। नवलपरासी क्षेत्र नम्बर २ मा एक लाख २६ हजार छ सय ८० मतदाता छन्। 

प्रकाशित मिति: : 2022-11-18 12:39:00

प्रतिकृया दिनुहोस्