नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रदीप पौडेललाई बधाई दिएका छन्।
काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेद्वार पौडेललाई उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
उनले लेखेका छन्, 'श्री प्रदीप पौडेलजी विजयी बन्नु भएको अनौपचारिक घोषणा समेत गरिएको छ। यस अवसरमा उहाँलाई बधाई भन्न चाहन्छु।'
आफूलाई मत दिएका मतदाताहरुलाई धन्यवाद दिँदै उनले लेखेका छन्, 'यस निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेको मलाई आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस अभियानमा सरिक हुनुहुने पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु।'
उनले आफ्नो स्टाटसमार्फत् निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासँगको सम्बन्धलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैँ उच्च प्राथमिकतामा राख्ने,पारदर्शी जीवनशैली अपनाउने, निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
आफूले उम्मेदवारी दिएको क्षेत्र काठमाडौं-५ मा प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको बताउँदै उनले अगाडि लेदेका छन्, 'यसरी शिक्षा र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सधैँ उच्च आदरभाव रहिरहनेछ। म आफ्नो बाँकि जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी नेकपा (एमाले)प्रति समर्पित रहिरहनेछु।'