एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन : ओनसरी घर्ती

File Photo
File Photo

माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन्। 

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्भाभाविक रूपमा लिएको उल्लेख गरेकी छन्। उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन्।

‘निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, यसलाई मैले स्वाभाविक रुपमा लिएकी छु। आवधिक निर्वाचनमा एकपटको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हॅुदैन र हुन पनि सक्दैन। आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिकाको इतिहासमा सदैव लिपिबद्ध भई नै रहने छ। आगामी दिनमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन,’ घर्तीले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले काठमाडौं २ आफ्नो कर्मथलो भइसकेको बताउँदै पाँच वर्ष त्यहीँको विकास र जनताको जीवनस्तर उकास्न लागिपर्ने उल्लेख गरेकी छन्।

‘निर्वाचनका दौरान आफ्नो अमूल्य मत प्रदान गर्नुहुने तमाम आदरणीय मतदाताप्रति धन्यवाद ज्ञापन गर्दछु। मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएं कि काठमाण्डौं क्षेत्र नम्बर २ मेरो कर्मथलो भइसक्यो। आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्याउन चाहन्छु। यस क्षेत्रका मतदाताका हरेक सुखरदुःखमा म सधैं सॅगै हुनेछु,’ उनले लेखेकी छन्।

प्रकाशित मिति: : 2022-11-23 12:14:00

प्रतिकृया दिनुहोस्